‘जुत्ता फुस्किएको हो, बाबुरामलाई हान्न होइन’

0 2

काठमाडौं, २४ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले भाषण सुरु गरको दुई मिनेट पनि भएको थिएन । भाषण सुनिरहेको भीडबाट एक युवा उठे र कालो झण्डा देखाए । भट्टराईले उनलाई देखे । अनि भने, ‘विरोध गर्न पाइन्छ ।’ भट्टराईले भाषणलाई निरन्तरता दिए। तर कालो भण्डा देखाउने युवालाई चारजनाले घेरिहाले । उनले तिनीहरुलाई सोधे, ‘मैले विरोध गर्न नपाउने ?’

खलबली मच्चियो । अरु सहभागीले उनलार्इ समात्न खोजेपछि आफ्नो ठाउँबाट भागे । त्यत्तिकैमा उनको जुत्ता फुत्कियो । अनि भीडबाटै कसैले भन्यो, ‘जुत्ता हान्न लागेको रहेछ ।’

कार्यक्रममै सहभागी कांग्रेस, एमाले र माओवादी केन्द्र समर्थित विद्यार्थीले पत्रकारहरुलाई सूचना दिए, ‘बाबुराम भट्टराईलाई जुत्ता प्रहार भयो ।’ पृथ्वी नारायण क्याम्पसमा बिहीबार बाबुरामलाई त्यसरी कालो झण्डा देखाउने सञ्जीव भट्टराईलाई प्रहरीले भीडबाट निकालेर चौकी पु¥याउन नपाउँदै जुत्ता प्रहार भन्ने हल्ला समाचार भइसकेको थियो ।

मञ्चदेखि एक सय मिटर पर सञ्जीवले ज्याकेटभित्र लुकाएर ल्याएको झण्डा देखाएका थिए । सँगै उनले बाबुरामविरुद्ध लेखिएको हस्तलिखित पम्प्लेट पनि देखाएका थिए । पम्प्लेटमा उनले ‘बाबुराम भट्टराईको नैतिक पतनमा विद्यावारिधि’ लेखेका थिए ।

कैलाली घर भएका उनले नेताहरुप्रति वितृष्णास्वरुप विरोधमा कालो झण्डा देखाएको बताएका छन् ।

मञ्चकै अगाडिपट्टी उठेर बाबुरामविरुद्ध पम्प्लेट र कालो झण्डा देखाएपछि सञ्जीवलाई नयाँ शक्तिका विद्यार्थीले समात्न खोजेका थिए । ‘तर उनी भागिहाले र जुत्ता फुत्कियो,’ कार्यक्रमका सहभागी सौगात पोखरेलले भने, ‘कालो झन्डा देखाएका हुन्, जुत्ता हानेका होइनन् ।’

नेता भट्टराईले पनि आफूलाई कसैले जुत्ता नहानेको बताएका छन् । काठमाडौं फर्कनुअघि पोखरा विमानस्थलमा पत्रकारहरुसँग भेटमा उनले कालो झण्डा देखाइएको पुष्टि गरे । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

You might also like More from author