अपाङ्गता परिचयपत्र पाएपछि खुटृाले लेख्ने ‘याम’ खुसी

December 07 2016 03:34

रामपुर (पाल्पा), २२ मङ्सिर । रामपुर नगरपालिका–२ बार्दाकोटका याम खाम्चाको १८ वर्षको उमेरमा अपाङ्गता परिचयपत्र बनेपछि उनी खुसी भएका छन् । बोल्न नसक्ने, दुवै हात चलाउन नमिल्ने तर सुन्न र देख्न राम्रोसँग सक्ने यामले अपाङ्गता परिचयपत्रको कार्ड हातमा लिँदै सबैलाई देखाउँदै खुसी व्यक्त गरे ।

अपाङ्गता परिचयपत्रकै कारण सरकारी सुविधा पाउनबाट वञ्चित भएका याम अपाङ्गता भत्ता पाउने आशामा खुसी भएका हुन् । यामले रामपुर नगरपालिका कार्यालयबाट अपाङ्गता परिचयपत्र बुझेपछि आफूलाई निकै खुसी लागेको जवाफ खुट्टाले लेखेर दिए । यामले कसैले केही सोध्यो भने खुट्टाले लेखेर उत्तर दिन्छन् ।

यामको खुट्टाले लेख्ने कलाको प्रशंसा गर्दै रामपुर नगरपालिका–८ मटेरीका स्थानीयवासी राजेन्द्र भुसालले यस्ता प्रतिभाशाली व्यक्तिलाई राज्यले संरक्षण र अवसर जुटाइदिनुपर्ने बताउनुभयो ।

disable-id-card

गरिब परिवारमा जन्मेका याम गाउँकै बालहित मावि आनन्दी भन्ज्याङमा कक्षा ७ मा अध्ययनरत छन् । साहित्यकार झमक घिमिरेले झँै खुट्टाले लेखेर ठूलो मान्छे बन्ने सोच राखेका याम कक्षामा तृतीय स्थानमा छन् । उनी खुट्टाले नै लेखपढ गर्ने र खाना खाने गर्छन् ।

छोराको पठनपाठनमा सहयोग गरिदिन उनका बाबु मानबहादुर खाम्चाले अनुरोध गर्नुभएको छ । शान्त स्वभावका याम कहिल्यै पनि परिवारमा सताउने, दुःख दिने गर्दैनन् । धेरैजसो घरमै बसेर लेखपढ गर्ने र चित्र कोर्ने गर्छन् ।

सानैमा जन्डिस रोगले ग्रसित बनेका यामको आर्थिक अभावमा उपचार हुन नसक्दा उनी जीवनभर आफन्तको सहारामा बाँच्नु परेको छ । पढाइमा निकै चलाख र मिहेनती यामको पठनपाठनमा सहयोग पुगेको खण्डमा उनलाई पढाइमा थप हौसला बढ्ने भएकाले यस्ता प्रतिभाशाली व्यक्तिलाई राज्यले संरक्षण गर्नु जरुरी देखिन्छ । रासस

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top