उदयपुर जिविसमा पाँच गाविसका जनताको धर्ना

0 9

गाईघाट (उदयपुर), ८ मङ्सिर । स्थानीय पुनःसंचरना प्राविधिक समितिले रौता माई गाउँपालिकाको केन्द्र भुटार निर्धारण गरेपछि उदयपुर जिल्लाका पाँचवटा पहाडी गाविसका जनताले सो कार्यको विरोध गर्दै मङ्गलबारदेखि जिल्ला विकास समिति उदयपुरमा धर्ना सुरु गरेका छन् ।

जिल्लाका राजनीतिक दल र स्थानीय पुनःसंरचना प्राविधिक समितिले जिल्लाका पहाडी गाविस रौता, पोखरी, आँपटार, लाफागाउँ, भुटारसहितका गाविसलाई एकीकरण गरेर रौतामाई गाउँपालिका निर्धारण गरेर यसको केन्द्र भुटार निर्धारण गरेको थियो ।

यस्तै, सोही क्षेत्रका चिलाउने खाँबु गाविसलाई त्रियुगा नगरपालिकामा गाभ्ने निर्णय गरेको थियो । तर सो क्षेत्रका स्थानीय जनताले भने चिलाउने खाँबु गाविसलाई पनि रौतामाई गाउँपालिकामा नै गाभेर यसको केन्द्र रौता–९ चिसापानीमा राख्नुपर्ने माग गर्दै दवाबस्वरुप मङ्गलबारदेखि जिविस घेराउ सुरु गरिएको आन्दोलनका नेतृत्वकर्ता महेन्द्र कार्कीले बताएका छन् ।

आफूहरुको माग पूरा नभएसम्म र सम्बन्धित निकायले गरेको निर्णय पुनःविचार नगरेसम्म आफूहरुले दैनिक जिविस घेरेर कार्यालयका कामकाज नै ठप्प बनाउने कुरा रौता–९ का कुमार काफ्ले बताउँछन् । काफ्लेका अनुसार मङ्गलबार नै आफूहरुको मागका बारेमा जिविस र जिल्ला प्रशासन कार्यालय उदयपुरमा समेत ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गरिएको हो ।

मङ्गलबारदेखि सम्बन्धित क्षेत्रका झन्डै साढे तीनसय असन्तुष्ट जनताले जिविस कार्यालय उदयपुर घेराउ गरेर कार्यालयको दैनिक काममा समेत अवरोध सृजना गरेको जिविस उदयपुरले समेत बताएको छ ।

आन्दोलनकारीमध्ये भुपाल कार्की भन्छन्, “केही नेताको स्वार्थका लागि रौतामाई गाउँपालिकाको केन्द्र भुटार राखिएको छ । यो तत्काल खारेज गरेर रौता–९ मा स्थापना हुनुपर्दछ र चिलाउने र साउने गाविसलाई पनि यसैमा समाहित गर्नुपर्छ ।”

अहिले दैनिक जिविस घेराउ गर्ने यतिले पनि आफूहरुको माग सुनुवाइ नभए पाँच गाविसका झन्डै चारहजार जनताले गाईघाटको सडकदेखि जिविसको कार्यालय सम्म ठप्प बनाएर कडा आन्दोलन गर्ने समेत कार्कीले बताए । यस विषयमा स्थानीय पुनःसंरचना प्राविधिक समितिका पदाधिकारीले भने कुनै प्रतिक्रिया दिन मानेका छ्रैनन् । रासस