मितले बनाइदिए गन्धर्वलाई घर

0 13


प्रशन्न पोखरेल

घ्याम्पेशाल (गोरखा), ७ मङ्सिर । गाउँघरतिर अनुहार मिल्ने अर्को व्यक्तिसँग मित बोल्ने गरिन्छ । मित लगाएपछि एकले अर्कोको घरमा आउजाउ गर्ने प्रचलन रहन्छ । मितले चाहे भने मितलाई दुःख परेका बेला कतिसम्म सहयोग गर्न सक्छन् भन्ने उदाहरण गोरखाको मसेलस्थित घ्याम्पेशालमा भेटिन्छ ।

भूकम्पले मितको घर क्षति भएको थाहा पाएका अमेरिकाका ब्यान्डेनले आफ्ना मित ठाकुर गन्धर्वको घर बनाइदिएका छन् । मसेल–९ लामाचौरमा करिब रु १० लाख लगानी गरी ब्यान्डेनले एकतले भूकम्पप्रतिरोधी घर बनाइदिएका हुन् । माटोले भरेको बोराको गाह्रो, बाँस, ढुङ्गा, माटो, सिमेन्ट, बालुवा, थोत्रा सिसाका बोतललगायत सामग्रीको प्रयोग गरी एककोठे एकतले घर निर्माण गरिएको गन्धर्वले जानकारी दिनुभयो ।

सिद्धकाली माध्यमिक विद्यालय, तान्द्राङका शिक्षकसमेत रहेका गन्धर्वले केही वर्ष पहिले गाउँ अवलोकनमा आएका ब्यान्डेनसँग मित लगाएका थिए । भूकम्पले घर भत्केपछि अस्थायी टहरोमा बसिरहेका मितलाई अमेरिकी नागरिक बान्डेनसहितको टोलीले श्रमदान गरी नयाँ घर बनाइदिएका हुन् । भूकम्पप्रतिरोधी घर बनेपछि गन्धर्वको परिवार उक्त घरमा जीवन निर्वाह गर्दै आएका छन् ।

स्थानीय सामग्रीको प्रयोग गरी बनाएको घर कम्तीमा २० वर्ष टिक्ने बताइएको छ । मितले घर बनाइदिएपछि गन्धर्व परिवार खुसी छ । ठाकुरका दाइ ध्रुव गन्धर्वले भन्नुभयो, “टहरोमा बसेको परिवार घरमा सरेको छ ।” मितले हालै नयाँ घर निर्माण गरिदिएपछि सोही घरमा बस्न सुरु गरिएको गन्धर्वले जानकारी दिनुभयो ।

गाउँमा पुनःनिर्माणको कामले गति लिन नसकिरहेका बेला विभिन्न सङ्घसंस्था तथा विभिन्न नाता, सम्बन्धले बनेका घरमा भूकम्पपीडित आश्रय लिँदै आएका छन् । घर बनाउन भन्दै सरकारले रु ५० हजारका दरले अनुदान रकम वितरण गरेपनि पुनःनिर्माणले गति लिएको छैन । गाउँमा भूकम्पप्रतिरोधी घर बनाउन सहयोग गर्न इन्जिनियर खटिएको भएपनि भूकम्प प्रभावितले घर बनाउन सुरु गरेका छैनन् ।

गत वर्षको हिउँद टहरोमा काटेको गन्धर्व परिवारले यस वर्षको हिउँदको चिसो झेल्नु नपर्ने भएको छ । जस्तापाताले छाएको टहरोमा बस्ने, खाने ठाउँ भए पनि अन्नपात भण्डारणका लागि भने गन्धर्व परिवारलाई समस्या छ । अनुदान रकम लिएपछि अर्को भूकम्प प्रतिरोधी घर बनाउने सोचमा उनीहरु छन् । रासस