सन्दर्भ विश्व शौचालय दिवसः महोत्तरीमा सार्वजनिक शौचालयको अभाव

0 2

toilet

धनवीर महतो
महोत्तरी, ४ मङ्सिर । आज विश्व शौचालय दिवस ‘शौचालय र काम’ भन्ने नारासहित विश्वभरी मनाइरहेको समयमा महोत्तरीको विभिन्न स्थानमा सार्वजनिक शौचालयको उचित व्यवस्था नभएपछि सेवाग्राही मर्कामा परेका छन् ।

जिल्लाको सदरमुकामलगायतका विभिन्न सार्वजनिक स्थानमा सर्वसुलभ रुपमा शौचालयको व्यवस्था नभएपछि सेवाग्राही खुलेआम दिसापिसाब गर्दै आएका छन् ।

जिल्लाको विभिन्न स्थानमा रहेको बस बिसौनी, हाटबजार, चोक, धार्मिक एवम् पर्यटकीय क्षेत्र, वनभोजस्थललगायतका स्थानमा सार्वजनिक शौचालयको उचित व्यवस्था नभएपछि त्यहाँ जाने सेवाग्राहीलाई दिसापिसाव गर्नका लागि मुस्किल हुँदै आएको छ ।

जिल्लाको सदरमुकाम जलेश्वरलगायतका प्रमुख व्यापारी केन्द्र गौशाला, औरही, बर्दिवास, कान्तिबजार, रामगोपालपुर लगायतका क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा टाढाटाढाबाट काम विशेषले सो स्थानमा गएका सेवाग्राही मर्कामा पर्दै आएका छन् । पुरुष तथा बालबालिकाले जहाँतही पिसाब गर्दै आएता पनि महिलाको हक भने कठिनाई हुँदै आएको छ ।

जिल्लाको प्रमुख व्यापारी केन्द्रको रुपमा परिचित रहेको गौशाला बजारमा सरसमान खरिदबिक्री गर्नका लागि आउने सर्वसाधारणका लागि बजारमा सार्वजनिक शौचालयको उचित व्यवस्था नहुँदा उनीहरुले खुलेआम पिसाब गर्दै आएका छन् । गौशाला नगरपालिका कार्यालयको छेउमै रहेको घैला बजारस्थित एउटा जीर्ण घरमा खुलेआम पिसाब गर्दै आएतापनि त्यसको रोकथामको लागि सम्बन्धी सरोकारवाला निकायले कुनै ठोस कदम उठाउन नसक्नु बजारको लागि दुर्भाग्य रहेको स्थानीयवासी शिक्षाप्रेमी एवम् राजनीतिकर्मी शिवनाथ महतो बताउनुहुन्छ ।

गाविसबाट नगरपालिकामा परिणत भएपश्चात बर्सेनि लाखौ रकम बजेट फ्रिज हुँदै आएको नगरपालिका कार्यालयले नगरपालिका भित्र कुनै पनि सार्वजनिक शौचालयको निर्माण नगर्नु दुर्भाग्य रहेको महतोको धारणा रहेको छ ।

रहर नभई बाध्यतावश उनीहरु त्यसरी खुलेआम रुपमा पिसाब गर्दै आएको महतोको धारणा रहेको छ । कतिपय गाविस वा नगरपालिका खुल्ला दिसामुक्त भए तापनि त्यस क्षेत्रमा रहेको सार्वजनिक स्थानमा भने सर्वसुलभ शौचालयको व्यवस्था नभएको बेलगाछीकी अनिता थापाले बताउनु भयो ।

विश्व २१ औँ शताब्दीमा प्रवेश गरिरहेको सन्दर्भमा जसरी खानाको व्यवस्था आफूले गर्छन् त्यसरी नै शौचालयको प्रबन्ध पनि स्वयम् आफँैलाई गर्नुपर्ने आवश्यकता रहेको महोत्तरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झाले बताउनुभयो ।

अहिले जिल्लाको बर्दिवास नगरपालिकालगायत आधा दर्जनभन्दा बढी गाविस खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको र आगामी केही दिनमै जिल्लालाई खुला दिसामुक्ता क्षेत्र घोषणा गर्ने तयारीस्वरुप तीव्रगतिमा अभियान सञ्चालन हुँदै आएको प्रमुख झाले जानकारी दिनुभयो ।

सन् २०१७ सम्ममा देशलाई नै खुला दिसामुक्त गर्ने अभियान तीव्ररुपमा अगाडि बढाए तापनि जिल्लाको सदरमुकाम जस्तो स्थान खुला दिसामुक्त क्षेत्र घोषणा हुन नसक्नु महोत्तरीको लागि लज्जास्पद रहेको छ ।

त्यस्तै प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको सोनामाइ, पञ्चधुरा माइस्थान, टुटेश्वरनाथ महादेव मन्दिरको परिसरमा सार्वजनिक शौचालयको निर्माण हुनसकेको छैन ।

जिल्लाको ५० प्रतिशत घरमा अहिलेपनि शौचालयको निर्माण हुन नसकेको एक तथ्याङ्कले जनाएको छ । रासस

You might also like More from author