छ दशकपछि लालपुर्जा पाउँदा हर्षित

November 18 2016 07:31

download

तिलोत्तमा (रुपन्देही), ३ मङ्सिर । लामो समयदेखि बुटवलको मुख्य राजमार्गमा भोगचलन गर्दै आएका जग्गाधनीले लालपुर्जाको प्रमाणपत्र पाएपछि हर्षित भएका छन् । लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको माग गर्दै आएकाहरुलाई मालपोत कार्यालय, बुटवलबाट पुर्जा वितरण गरिएको हो ।

चौँसट्ठी वर्षपछि बुटवलका १३५ जनाले भूमि भोगचलन गरेको जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका हुन् । बुटवल बाहिरबाट यहाँ आई बसे पनि उनीहरुले जग्गाधनी प्रमाणपत्र पाएका थिएनन् । लामो समयपछि जग्गाको प्रमाणपत्र पाएपछि उनीहरु निकै हर्षित भएका हुन् ।

विसं २०५० देखि जग्गाधनी लालपुर्जाको प्रमाणपत्र माग गर्दै आएका जग्गाधनीले ६४ वर्षपछि हालै भूमिसुधार मन्त्री विक्रम पाण्डे र नेकपा (एमाले) रुपन्देही क्षेत्र नं ४ का सभासद् विष्णु पौडेलले संयुक्त रुपमा लालपुर्जा वितरण गर्नुभएको थियो ।

बहाल विटौली, कोदाले, आकडा जग्गा दर्ता समिति बुटवलका अध्यक्ष खेमप्रसाद लुइँटेलले जग्गाधनी लालपुर्जा प्राप्त गरेपछि भूमिसुधार मन्त्री विक्रम पाण्डे, पूर्व भूमिसुधार मन्त्री दलबहादुर राना र एमाले उपमहासचिव विष्णु पौडेलले गरेको सहयोगप्रति बधाई ज्ञापन गर्नुभयो ।

सरकारले १८४ जनालाई जग्गाधनी लालपुर्जा वितरण गर्ने निर्णय गरेको छ । बुटवल उपमहानगरपालिकाका वडा नं ६, ७ र ८ का बहलवाला विटौली, कोदालेले मात्र जग्गाधनी लालपुर्जा पाएका छन् भने बाँकी अन्यले पछि लालपुर्जा पाउने छन् । रासस

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top