स्थानीय तह छलफलः अधिकृत तहको कर्मचारीबाट गाउँपालिकाको नेतृत्व , नगरपालिकामा उपसचिव

November 17 2016 11:02

काठमाडौं । स्थानीय विकास मन्त्रालयले स्थानीय तहको संख्या र सीमाना निर्धारण बारे कार्यविधि निर्माणको काम थालेको छ । मन्त्रालयले स्थानीय तहमा कर्मचारीको व्यवस्थापन सम्बन्धी स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्न लागेको हो ।

स्थानीय तहमा कर्मचारी व्यवस्थापन कार्यविधिलाई अन्तिम रुप दिनलाई आयोगले प्रतिवेदन तयार गर्ने भएको छ ।

स्थानीय निकायको पूनः छलफलमा गृहकार्य जारी रहेका बेला संघीयताअनुसार स्थानीय निकायमा कुन तहको कर्मचारी प्रमुख भएर कार्यसम्पादन गर्लान् भन्ने चासो व्याप्त छ ।

मन्त्रालयले थालेको प्रारम्भिक छलफलमा स्थानीय तहअन्तर्गत गाउँपालिकाको नेतृत्व अधिकृत तहको कर्मचारीबाट गराउने प्रस्ताव छ । यस्तै नगरपालिकामा उपसचिव, उपमहानगरपालिका र महानगरपालिकामा सहसचिव तहका कर्मचारीको नेतृत्व खटाउने प्रस्ताव आएको छ ।

स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भने, ‘यो निकै प्रारम्भिक तहको छलफल हो । संविधानले स्थानीय तहलाई प्रशस्त अधिकार दिने प्रस्ताव गरेको छ त्यसरी हेर्दा गाउँपालिकामा अधिकृतको नेतृत्वले पुग्दैन की भन्ने बहस पनि छ ।’

local-dev

मंसिर १५ सम्म प्रतिवेदन

स्थानीय विकास मन्त्रालयले मंसिर दोस्रो सातासम्म स्थानीय तहमा कर्मचारी व्यवस्थापनको खाका तयार गरिसक्ने लक्ष्य लिएको छ । ‘हामी अब दुईसाताभित्र कर्मचारी व्यवस्थापनको प्रारम्भिक खाका सहितको प्रतिवेदन पेश गर्छौं,’ कार्यदल प्रमुख चक्रबहादुर बुढाले भने, ‘त्यसमा थप छलफल गरेर निष्कर्षमा पुग्छौँ ।’

‘कर्मचारीको पदले अर्थ राख्दैन’

यसअघि स्थानीय तहको संख्या ५६५ प्रस्ताव गरिँदा विकेन्दि्रकरण शासन पद्दतीका जानकारहरुले स्थानीय तहको नेतृत्व सहसचिव तहबाट हुनुपर्ने प्रस्ताव गरेका थिए । तर एकथरी जानकारहरुले कुन तहको कर्मचारी पठाउने भन्दा पनि के कस्ता अधिकार दिने भन्ने विषयको निर्क्यौल पहिले गर्नुपर्छ र त्यसपछिमात्रै जिम्मेवारी बहन गर्नसक्ने प्रतिभावान कर्मचारी छानेर पठाउनुपर्ने बताउँछन् ।

सार्वजनिक प्रशासनमा बहाल रहँदा अधिकांश समय स्थानीय विकास मन्त्रालयमा विताएका पूर्वसचिव खेमराज नेपाल भन्छन्, ‘नयाँ संरचनामा कुन तहको कर्मचारी राख्ने भन्नेकुराले अर्थ राख्दैन, कर्मचारीलाई कस्तो तालिम र अधिकार दिएर पठाइन्छ त्यसमा निर्भर गर्छ ।’

उनले अघि भने, ‘गठन हुने गाउँपालिकामा उपसचिव नै राखे पनि केही हुँदैन, त्यो कर्मचारी जनमुखी र जनउत्तरदायी भएन भने त्यसको अर्थ रहँदैन ।

‘हिजो पञ्चायत शासनमा गाउँ पञ्चायतको नेतृत्व बहुमुखी विकास कार्यकर्ताले गर्थे । कर्मचारी आदेश पालना गर्ने र व्यूरोक्र्याटीक संस्कारमा नबसुन् भन्न उनीहरुलाई त्यस्तो नाम दिइन्थ्यो,’ उनले अघि भने, ‘जुन तहको कर्मचारी राखेपनि जनउत्तरदायी र बहुप्रतिभावान कर्मचारीलाई त्यस्तो जिम्मेवारीमा पठाउनु पर्छ ।’सा भा : जनबोली

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top