नुवाकोटका दुई विद्यालयलाई ल्यापटप

0 10

download

त्रिशूली(नुवाकोट), २७ कात्तिक । विद्यालयमा सूचना प्रविधिको पहँुच सहितको अध्ययनलाई विस्तार गर्न सहयोग पुगोस् भन्दै चौघडामा रहेका दुई विद्यालयलाई रत्न फाउन्डेसन काठमाडौंको अगुवाइमा जर्मनेलीहरुले ३९ थान ल्यापटप र तीन थान प्रोजेक्टर प्रदान गरेका छन् ।

चौघडा –८ स्थित क्षेत्रपाल माविलाई ३० थान ल्यापटप र दुई थान प्रोजेक्टर र सोही गाविसको वडा नं ९ बानियाटारस्थित इन्द्रायणी निमाविलाई नौ थान ल्यापटप र एक थान प्रोजेक्टर हस्तान्तरण गरिएको क्षेत्रपाल माविमा लेखापाल अर्जुन पौडेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस क्षेत्र नंं २ का सभापति ध्रुव श्रेष्ठले आयोजकका तर्फबाट विद्यालयका प्रअ कृष्णबहादुर राईलाई ती सामग्री हस्तान्तरण गर्नुभएको थियो । उक्त कम्प्युटर र प्रोजेक्टरको मूल्य रु १६ लाख भन्दा बढी रहेको विद्यालयले जनाएको छ ।

भूकम्पका कारण विद्यालय भत्किएकाले यसअघि विद्यालयमा रहेका कम्प्युटरमा क्षति पुगेकाले कम्प्युटर विषयको पढाइ नै प्रभावित भएकामा अब भने सहज हुने प्रअ राईले बताउनुभयो ।

यस्तै चौघडा गाविस वडा नं. ९ बानियाँटारस्थित इन्द्रायणी निमाविका प्रअ रामप्रसाद लामिछानेलाई नौ थान ल्यापटप र एक थान प्रोजेक्टर हस्तान्तरण गरिएको थियो । रासस