काठमाडौँमा ‘अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ सम्पन्न

November 11 2016 04:05

download-4

काठमाडौँ, २६ कात्तिक । अन्तर्राष्ट्रिय स्तरमा पानी रङको माध्यमबाट कलाकृति सिर्जना गर्ने विभिन्न ३९ मुलुकका कलाकारको सहभागितामा ‘अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ बिहीबार सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपाल च्याप्टरको आयोजनामा बबहरमहलस्थित नेपाल कला परिषद्मा यही कात्तिक १८ गतेदेखि सुरु भएको सो महोत्सवमा सहभागी स्वदेशी तथा विदेशी कलाकारले कला सिर्जनाका फरक फरक शैलीको आदानप्रदान गरेका थिए ।

नेपाल, भारत, चीन, थाइल्यान्ड, मलेसिया, स्पेन, अस्ट्रेलिया, म्यान्मार, बङ्गलादेश, पाकिस्तान, टर्की, इन्डोनेसिया, फिनल्यान्ड, ग्रिस, चेक रिपब्लिक, बुल्गेरिया, बेलारुस, सिङ्गापुरलगायत ३९ देशका एक सय ५६ कलाकारका चित्र समावेश गरिएका थिए ।

महोत्सवअन्तर्गत कास्कीको घान्द्रुकमा स्थलगत कला कार्यशालासमेत सम्पन्न गरिएको थियो । नेपाली कला तथा संस्कृतिको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले काठमाडौँ उपत्यकाका हनुमानढोका, स्वयम्भू, भक्तपुरको चाङ्गुनारायणमा समेत विदेशी कलाकारलाई अवलोकन गराइएको थियो ।

भूकम्पले भत्किएका ऐतिहासिक एवम् धार्मिक सम्पदाको पुनःनिर्माणमा सहयोग गर्ने उद्देश्यले विभिन्न मुलुकका विदेशी कलाकारले सम्पदा स्थलको चित्र कोरेका छन् ।

अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपाल च्याप्टरका अध्यक्ष एनबी गुरुङले महोत्सवमा सहभागी राष्ट्रका कलाकारका अनुभव आदानप्रदान गरिएको जानकारी दिनुभयो । महोत्सवमा सहभागी वरिष्ठ कलाकार राजेश मानन्धरले सो महोत्सवले चित्रकलामा जलरङको प्रचार र प्रयोगलाई बढाउने विश्वास व्यक्त गर्नुभयो । सो सङ्गठनको विश्वका ८० देशमा सञ्जाल विस्तार गरिएको बताइएको छ । रासस

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top