स्थानीय तहको निर्वाचन गराउनुनै संविधान कार्यान्वयनः मन्त्री लेखक

0 17

ramesh-lekhak-photo-703890

भीमदत्तनगर, २५ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन हुनु आवश्यक भएको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन गरी यसप्रति देखिएका असन्तुष्टि हटाउनु र स्थानीय तहको निर्वाचन गराउनु वर्तमान सरकारको राष्ट्रिय एजेन्डा भएको बताउनुभएको हो ।

“स्थानीय तहको निर्वाचन गराउनुनै संविधान कार्यान्वयन हुनु हो ।” मन्त्री लेखकले भन्नुभयो– “त्यसका लागि सरकार तयारीका साथ अघि बढिरहेको छ ।”

संविधानप्रति असन्तुष्टि जनाउँदै आएका विषयमा मधेसवादी दलसित लोकतान्त्रिक ढङ्गले समस्याको सम्बोधन गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो ।

त्यसैगरी महाकाली नदीमा चार लेनको ८०० मिटर लम्बाइको पक्की पुल निर्माण सम्बन्धी विस्तृत प्रतिवेदन भारत सरकारलाई अन्तिम सहमतिका लागि पठाइएको छ भन्दै उहाँले आगामी चार महिनाभित्र पुल निर्माणका लागि बोलपत्र आह्वान हुने विश्वास व्यक्त गर्नुभयो ।
साथै डडेल्धुराको शीर्ष, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गास्थित महाकाली नदीमा पक्की पुल बनाउने विषयमा पनि सकरात्मक ढङ्गले अघि बढिरहेको पनि मन्त्री लेखकले जानकारी दिनुभयो ।

मन्त्री लेखकलाई सम्मान

रामलिला समिति कञ्चनपुरले आज भीमदत्तनगरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई सम्मान गरेको छ ।

कञ्चनपुर क्षेत्र नं ४ का निर्वाचित सांसद समेत रहनुभएका मन्त्री लेखकले रामलिला महोत्सवमा पु¥याएको योगदान स्वरुप सो समितिले सम्मान गरेको हो ।

भीमदत्तनगरमा हालै सम्पन्न रामलिला महोत्सवमा ग सल्लाह, सुझाव एवम् सहयोग गरेको भन्दै समितिले सम्मान गरेको रामलिला उपसमिति संयोजक लोकबहादुर ठकुराठीले जानकारी दिनुभयो । रासस