दुबईबाट मनमायाको पिरलो– घाइते श्रीमानलाई कसरी घर फर्काउने ?

0 13

रमेश धमला

dilbahadur-manamaya२५ कात्तिक, काठमाडौं । दुबईमा रहेका काभ्रेको मण्डनस्थित गैंडाथोकका दिलबहादुर तामाङले गत अगष्ट ५ मा खुसीको खबर सुने । काठमाडौंको एक स्कूलमा पढिरहेका दुई छोरी नै परीक्षामा प्रथम भएको सुनेपछि उनी खुसी मनाउन डेरा बाहिर निस्किए ।

तर, त्यही खुसीको दिनमै उनको दुखद पाटो पनि गाँसिएको रैछ । उनलाई डेरा अगाडि गाडीले ठक्कर दिएर सख्त घाइते बनायो ।

दिलबहादुरको युएईको इमिरेट्स रोडस्थित खालिफा अस्पतालमा उपचार भयो । उनको दायाँ खुट्टा भाँचिएको थियो भने छातीमा पनि चोट लागेको थियो । दुर्घटनाकै कारण दाहिने हात नचल्ने भएको छ । मानसिक अवस्था पनि केही असन्तुलित देखिएको छ ।

दिलबहादुर करिब पाँच वर्षदेखि दुबईमा काम गर्दै आएका थिए । उपचारपछि अहिले स्वास्थ्यमा केही सुधार आएपछि उनी काम गर्ने कम्पनीले क्वाटरमै लगेर राखेको छ । उपचार खर्च पनि कम्पनीले नै बेहोरेको छ । तर, दुबईमै रहेकी उनकी श्रीमती मनमाया भने उनलाई नेपालमै ल्याउन चाहन्छिन् ।

श्रीमानको पासपोर्ट प्रहरीले लगेकोले फर्कन नसकिएको मनमायाले अनलाइनखबरलाई बताइन् ।

प्रक्रिया थाहा नहुँदा घर फर्किन सकस

पासपोर्ट नहुँदा दिलबहादुरलाई नेपाल फर्काउन समस्या देखिएको छ । केही समय अगाडि प्रहरीले उनको पासपोर्ट लगे पनि अझै फिर्ता पाएका छैनन् । सडकपेटीमा बसेका उनले मादक पदार्थ सेवन गरेको भेटिएपछि प्रहरीले पासपोर्ट लगेको थियो ।

dilbahadur-tamangमनमायाका अनुसार, श्रीमान् पाँच वर्षदेखि कार्यरत कम्पनी ‘इभरसेन्डी इञ्जिनियरिङ’ले प्रहरीलाई तिर्नुपर्ने जरिवाना तिरिसकेको छ । जरिवाना तिरेपछि श्रीमानलाई लैजान सकिने प्रहरीले बताएको थियो । तर, प्रक्रिया पूरा नभएको भन्दै अहिलेसम्म प्रहरीले पासपोर्ट दिएको छैन ।

उनले भनिन् ‘कानुनी प्रक्रिया के हो थाहा छैन, श्रीमान्लाई नेपाल लगेर उपचार गराउँछु भन्दा पनि पाइरहेको छैन । यो कस्तो आपत आइलाग्यो !’

उनले आफूलाई सहयोग गर्न चाहनेहरुले +९७१५२९९७९८५४ वा +९७१५२७६२३२१७ मा फोन सम्पर्क गर्न पनि आग्रह गरेकी छिन् ।

दूतावासले फोनै उठाउँदैन

घाइते श्रीमानलाई नेपाल लैजाने प्रक्रियाबारे बुझ्न युएईस्थित नेपाली दूतावासमा सम्पर्क गर्दा फोनै नउठेको मनमायाको गुनासो छ ।

‘त्यहाँको फोन कहिले पनि उठ्दैन, दूतावासमै गएर भन्दा विस्तारै हुन्छ भने पनि अझैसम्म भएन’, उनले रुँदै दुःख पोखिन्, ‘म पनि काममा जानुपर्छ, रुँदारुँदा थाकिसकेँ ।

कम्पनीले नेपाल जाने खर्च समेत बेहोर्ने भने पनि दूतावासले आवश्यक प्रक्रियामा सहयोग नगर्दा सास्ती पाएको उनको गुनासो छ । साभा : अनलाइनखबर