स्थानीय तहबारे अझै सहमति जुटेन रुपन्देहीमा

0 4

बुटवल, २४ कात्तिक । रुपन्देही जिल्लामा दलीय सहमति जुट्न नसक्दा स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति निर्णयमा पुग्न सकेको छैन ।

स्थानीय तह पुनःसंरचना आयोगले सबै जिल्लालाई २० गतेभित्र स्थानीय तह पुनःसंरचनाको टुङ्गो लगाई प्रतिवेदन बुझाउन दिएको समयावधि सकिए पनि जिल्लामा दलीय सहमति जुट्न नसक्दा समयमा समितिले प्रतिवेदन बुझाउन नसकेको हो । हाल जिल्लामा एक उपमहानगरपालिका, पाँच नगरपालिका र ४८ वटा गाविस छन् । केन्द्रले १३ देखि १६ स्थानीय तहको ‘सिलिङ’ दिएको छ । तर स्थानीय विकास अधिकारी नेतृत्वको प्राविधिक समितिले त्यसमा सहमति जुटाउन सकेको छैन ।प्राविधिक समितिका संयोजक एवम् रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले दलबीच सहमति नभएका कारण स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन बुझाउन नसकेको बताउनुभयो । मधेस केन्द्रित दल सीमाङ्कन लगायतका मुद्दा लिएर आन्दोलनमा रहेकाले जिल्लामा प्राविधिक सहयोग समितिको कुनै पनि छलफल उनीहरु उपस्थित नहुँदा सहमति जुटाउन समस्या परेको हो ।

साथै, मधेस केन्द्रित दलहरु बाहेकका राजनीतिक दलबीच पनि स्थानीय तह पुनःसंरचनामा सहमति जुट्न नसक्दा निर्णय लिन समस्या भइरहेको उहाँको भनाइ छ । उहाँले दलीय सहमति जुटाउने प्रयास भइरहेको र छिट्टै केन्द्रमा प्रतिवेदन बुझाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।

नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले रुपन्देही तराई र पहाडको भू–भाग भएको जिल्ला भएकाले भूगोल र जनसङ्ख्या दुवैलाई आधार बनाएर स्थानीय तहको पुनःसंरचना गरिनुपर्ने आफूहरुको धारणा रहेको बताउनुभयो । रुपन्देहीमा कम्तीमा २० वटा स्थानीय तह बनाउने प्रस्ताव आफूहरुको भएपनि केन्द्रले तोकेको १६ वटामा सहमति हुनसक्ने उहाँको भनाइ छ ।

नेकपा (एमाले) रुपन्देहीका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले रुपन्देही जिल्लामा १४ वटा स्थानीय तह बनाउने आफूहरुको प्रस्ताव रहेको भएपनि केन्द्रको निर्देशन मुताबिक १६ तहसम्म जान सकिने बताउनुभयो । रासस

You might also like More from author