रूरूमा केन्द्र राखिनु पर्ने माग गर्दै आन्दोलन

November 09 2016 04:41

पाल्पा, २४ कात्तिक । गुल्मी जिल्लाको रूरू गाविसभित्र नै प्रस्तावित गाउँपालिकाको केन्द्रको माग राखेर स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

रूरू गाविसमा आन्दोलन चर्केका गुल्मी जिल्लाका ग्रामीण भेगबाट पाल्पातर्फ आउने कुनै पनि सवारीसाधन पाल्पा छिर्न पाएका छैनन् । पाल्पाबाट गुल्मी जाने सवारीसाधन पनि पाल्पाको अर्गली गाविसमा रोकिएका छन् । जिल्लाको प्रस्तावित रूरू गाउँपालिकाको केन्द्र रूरू गाविसभित्र राख्नुपर्ने माग राखेर स्थानीय बासिन्दाले बन्दको आह्वान गर्दा यातायात ठप्प भएको हो ।

बन्दका कारण बुटवलबाट पाल्पा हँुदै गुल्मी जाने सवारी र जिल्लाका ग्रामीण क्षेत्रबाट पाल्पा, स्याङ्जा, बुटबल, काठमाडौँ र पोखरा चल्ने सवारी सञ्चालन नहुँदा यात्रुबीच बाटोमा अलपत्र परेका छन् । रूरू गाउँपालिका सङ्घर्ष समितिले आज बिहान ५ बजेदेखि यातायातका साधन आवतजावत हुन सकेको छैन । हिजो पनि दिनभर यातायात ठप्प रह्यो । बन्दले गर्दा शैक्षिक सङ्घसंस्था, पसल तथा घरेलु उद्योग खुल्न सकेनन् । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति गुल्मीले बलेटक्सारको घिउबेसीलाई केन्द्र तोकेकाले यहाँका स्थानीयवासी बन्दको आह्वान गर्न बाध्य भएको सङ्घर्ष समितिका संयोजक रामचन्द्र भट्टराई जानकारी दिनुभयो ।

समितिका सहसंयोजक चेतबहादुर क्षेत्रीले रूरू गाविसभित्र सबैलाई पायक पर्ने स्थानमा गाउँपालिकाको केन्द्र राख्न स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति गुल्मी ध्यानाकर्षण गरे पनि बेवास्ता गरेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । धार्मिक महत्व बोकेको रूरू क्षेत्र नेपालकै चारधाममध्येका एक हुन् ।
सङ्घर्ष समितिले आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने जनाएको छ । यता, आन्दोलनकारीले मानवअधिकार, स्वास्थ्य, पे्रस तथा दूध बोक्ने साधनहरु भने चल्न दिएका छन् । रासस

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top