वनका उपाध्यक्षसहित आठजना तस्कर पक्राउ

0 2

taskar

कञ्चनपुर, २३ कात्तिक । कञ्चनपुरको शङ्करपुरमा रहेको बागवानी सामुदायिक वनका उपाध्यक्षसहित आठजना काठ तस्करीको आरोपमा पक्राउ परेका छन् ।

सालको काँचो रुख कटानी गरी आइतबार राति गोरुगाडामा राख्दै गरेका बेला वनका उपाध्यक्ष दुखत रानासहित सुन्दरलाल चौधरी, जीवन राना, चाइना चौधरी, जीतराम राना, छंगा राना, बेचराम राना र रामु राना पक्राउ परेको इलाका प्रहरी कार्यालय शङ्करपुरका प्रहरी नायब निरीक्षक कटकबहादुर कुवँरले बताउनुभयो ।

पक्राउ परेका आठजनासहित चार गोरुगाडा र तीन थान विभिन्न नापका सालका गोलीया बरामद गरिएको उहाँले बताउनुभयो ।

“बरामद काठ, गोरुगाडा र पक्राउ परेका आठै जनालाई जिल्ला वन कार्यालय कञ्चनपुरको जिम्मा लगाएका छौँ” उहाँले भन्नुभयो । जिल्ला वन कार्यालय, कञ्चनपुरका प्रमुख शिवप्रसाद शर्माले पक्राउ परेकामाथि आजदेखि अनुसन्धानको कार्य सुरु गरिएको बताउनुभयो ।

“काठ तस्करीमा संलग्न वनका कर्मचारी र वन उपभोक्ता समितिका जुनसुकै पदाधिकारी पनि अनुसन्धानका क्रममा दोषी देखिए कारबाही हुन्छ”, उहाँले भन्नुभयो । रासस

You might also like More from author