अमेरिकी राष्ट्रपतिकी उम्मेदवार क्लिन्टन इमेल जाँचमापनि क्लिन

0 2


एजेन्सी, कार्तिक २२ । अमेरिकी संघीय जाँच आयोग एफबिआईले राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनको पछिल्लो इमेलमा कुनै किसिमको आपराधिक प्रमाण फेला नपरेको जनाएको छ । पछिल्लो जाँचका आधारमा पूर्व निर्णयलाई परिवर्तन गर्ने किसिमको केही पनि आपराधिक प्रमाण नभेटिएको एफबिआईले जनाएको छ ।

एफबिआईको यो निर्णयसंगै अव हिलारी क्लिन्टन यस अघिको आरोपबाट मुक्त भएकी छिन् । एफबिआईका निर्देशक जेम्स कोमीले क्लिन्टनको इमेल सम्बन्धमा गरिएको नयाँ परीक्षणबाट गत जुलाईमा गरिएको अघिल्लो परीक्षणको निष्कर्षमा कुनै परिवर्तन नभएको स्पष्ट पारेका छन् । गत जुलाईमा एफबिआईले क्लिन्टनलाई विदेशमन्त्री हुँदा इमेलको प्रयोग बिना सजगता प्रयोग गरेको तर आपराधिक भने नरहेको भन्दै मुक्ति दिएको थियो ।

तर दुई साताअघि एफबिआई निर्देशक कोमीले क्लिन्टनको सम्बन्धमा नयाँ इमेल फेला परेको र पुनः जाँच सुरु गरिएको कांग्रेसलाई जानकारी गराएका थिए । यसले क्लिन्टनको चुनावी अभियानमा असर परेको थियो भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको अभियानले गति लिएको थियो । तर निर्वाचन आउन दुई दिन मात्रै बाँकी हुँदा एफबिआईले क्लिन्टनलाई आरोपबाट मुक्त गरेको हो ।

चुनावको पुर्व सन्ध्यामा डेमोक्र्याटिक उम्मेदवार क्लिन्टनलाई एफबिआईको निर्णयले केही राहत मिलेको छ । क्लिन्टनको चुनावी अभियानकी कम्युनिकेशन निर्देशकले इमेल सम्बन्धी विषय समाप्त भएकोमा आफूहरु खुसी रहेको बताएकी छिन् । तर, रिपब्लिकन उम्मेदवार ट्रम्प पक्षले भने एफबिआईको निर्णय गलत भएको आरोप लगाएका छन् । सा.भा जनबोली

You might also like More from author