मधेसमा चार दिन माछा-मासु चल्दैन !

November 06 2016 12:20

जनकपुरमा छठका व्रतालु । तस्वीर: रासस

२१ कात्तिक, काठमाडौं । दशैं-तिहारजस्ता हिन्दुहरुका चाडपर्वमा माछा मासुको व्यापार राम्रैसित हुन्छ । तीजलगायतका चाडबाडमा पनि मासुको बढी खपत हुन्छ । तर, मिथिलाञ्चलमा भव्यताका साथ मनाइने छठ पर्वमा भने चार दिनसम्म माछा मासु लगभग बर्जितजस्तै छ । छठी माईको पूजा अवधिभर मधेस पूर्णरुपमा सात्विक बन्छ ।

छठ चार दिनसम्म मनाइन्छ । कात्तिक २१ गते छठको तेस्रो दिन हो । कात्तिक १९ गते शुक्रबारबाट छठ सुरु भएको हो । कात्तिक २२ गते चौथो दिनबाट छठ पर्व सकिन्छ ।

छठ पर्वमा छठी माईको विशेष पूजा गरिन्छ । छठीमाईको पूजा चार दिनसम्म गरिन्छ । यो पूजा एकदमै सात्विक, शाकाहारी भएर गर्नुपर्छ । यतिसम्म प्रचलन छ कि छठीमा गाउने गीतसमेत अन्य पर्वमा गाइँदैन ।

१. चार दिनसम्म के-के गरिन्छ ?

पहिलो दिनः छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । शुक्रबार छठको पहिलो दिन हो । पहिलो दिन घर लिपपोत एवं सफाइ गरिन्छ । घरबाहिर गएका आफन्तजनहरु घरमा भेला हुन्छन् ।

chhat-at-kamalpokhari-14

पहिलो दिन छठीमाईको पूजाका लागि चाहिने सरजामहरुको जोहो गरिन्छ । फलफूल जतिखालका उपलब्ध छन्, ती सबै जम्मा पारिन्छ । निम्बु, केराको घरी र पातहरु, नरिवलदेखि लिएर ठकुवा, भुसुवा, लगायतका खानेकुरा तयार पारिन्छ ।

पूजाका लागि माटोको हाती बनाउने प्रचलन छ । कति हाती दान गर्ने हो, ती हात्तीमाथि दीयो पनि जलाउने व्यवस्था गरिएको हुन्छ ।

छठको पहिलो दिन घरको सरसफाइ एवं नुहाइ धुवाइ गरेपछि सात्विक खाना खानुपर्छ । भएसम्म माटोको चुल्होमा पकाउनुपर्छ । अरु बेला प्रयोगमा आउने भाँडोमा हैन कि छुट्टै भाँडोमा खाना पकाएर खानुपर्छ । मासुमंशबाट टाढै बस्नुपर्छ ।

दोस्रो दिनः छठको दोस्रो दिन नहाइ-धुवाइ गरेर नुन नहालेको खाना खाइन्छ । दोस्रो दिन चाँहि प्रायः खिर खाने चलन छ । अर्थात नून नभएको खाना खाने प्रचलन छ ।

तेस्रो दिनः छठको तेस्रो दिन परिवारका एकजना फास्टिङ अर्थात ब्रत बस्नुपर्छ । तर, एकजनाले ब्रत बसे पनि सात्विक नियमको पालना भने परिवारका सबै सदस्यहरुले गर्छन् ।

तेस्रोे दिन बिहानैदेखि परिवारको एकजना सदस्य अर्थात घरमूलीले निराहार ब्रत बस्नुपर्छ । परिवारका सदस्यहरुले उनीहरुलाई साथ दिन्छन् ।

दिनभरि निरहार ब्रत बसेपछि बेलुका नदी वा पोखरीको डिलमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । अर्घ दिन स्थान अघिल्लो दिनदेखि नै झकीझकाऊ बनाउने प्रचलन छ ।

अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि रातभरि त्यही जलाशयको छेउमा बसेर ब्रतालुहरुले भजन-कीर्तनादि गर्छन् । उनीहरु राति घरमा जाँदा पनि हुन्छ, तर अरुसँग छोइछिटो हुन्छ कि भनेर प्रायः नदीको किनारामै जाग्राम बस्ने चलन छ ।

कतिपयले त पानीमा राभरि आधा शरीर डुबाएर बस्ने चलन छ । तर, यो कुनै बाध्यात्मक चाँहि छैन । कोही खोलाको किनारमै बस्छन् त कोही राति घर फर्किन्छन् । तर, नियम के छ भने घरमा गए पनि ब्रतालुले छुट्टै सुत्नुपर्छ र सात्विक अवस्थामा रहनुपर्छ ।

चौथो दिनः छठको चौथो दिन बिहानै फेरि जलासय नजिक गएर उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजालाई समापन गरिन्छ ।

छठ पूजकहरुले आइतबार छठको तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यको पूजा गरेका छन् । अब सोमबार बिहान उदाउँदो सूर्यलाई प्रार्थना गरेपछि छठ सकिन्छ ।

nabalparasi-chhath-photo-rss

२. प्रकृतिसँगै शक्तिको आराधना

छठ भनेको प्रकृतिको पूजा, सूर्यपूजा हो । प्रकृतिले हामीलाई बचाएको छ । सूर्यले प्रकृतिलाई बचाएको छ । पूरै संसारको अस्थित्व सूर्यमा अन्तरनिहीत छ । सूर्य उदाउन छाड्यो भने संसार रहँदै भनेर सूर्यको पूजा गरिएको हो ।

छठमा विभिन्न मनोकामनाहरु पूरा होस् भन्दै भाकलहरु गरिन्छ । जस्तै-छोरा नहुनेहरुले छोरो पाइयोस् भनेर छठी मातासँग भाकल गर्छन् । मधेसतिर केही दुःख पर्दा ‘मेरो यो कामना छठीमाताले पूरा गरिदेऊ, म तिमीलाई यस्तो कुरा चढाउँछु’ भन्ने चलन छ ।

कसै कसैले केराको सिंगै घरी चढाउँछु भन्छन् । मेरो यो कामना पूरा गर्‍यौ भने म पाँच घरी केरा चढाउँछु भन्ने प्रकारका परम्पराहरु छन् ।

छठ पर्वमा ब्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा-झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई ब्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यो पर्वमा जो व्रत बस्न सक्दैन, उसले अर्को ब्रत गर्नेमार्फत् ब्रत गराउने गर्छन् । गरीब समुदायका मानिसहरु ऋण काढेर भए पनि छठी माताको आराधना गर्छन् ।

छठ पूजामा एकातिर छठीमाता देवी छिन्, अर्कातर्फ सूर्य र जल अर्थात् प्रकृतिको पूजा छ । प्रकृति र देवी भनिसकेपछि शक्ति र ईश्वरको पूजा हुन्छ । माता अर्थात् सिर्जनाका सबै मूलहरुलाई एकैचोटि पूजा गरिन्छ छठपर्वमा ।

janakpur-chhath-photo-rss

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

३. पौराणिक मान्यता

ऐतिहासिक-पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव गुप्तवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । गुप्तबास ‘एक्स्पोज’ भएमा पुनः १२ वर्ष वनवास जानुपर्ने कौरबहरुसँग पूर्वसम्झौता भएका कारण गुप्ताबास सफल बनाउन जरुरी थियो ।

उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । र, लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको अर्को मान्यता छ ।

साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने अर्को किंवदन्ती छ ।

४. मधेसबाट विस्तारित, काठमाडौंदेखि दिल्लीसम्म

विसं ०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । विसं ०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिन थालेको छ ।

chhath-at-kamal-pokhari-3

छठ पर्वका लागि राजधानीको गुहृयेश्वरी, गहनापोखरी, कमलपोखरी लगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनार सजावट गरिएको छ । छठमा काठमाडौंको रौनक मधेसको भन्दा कम छैन । राजधानीमा टठका अवसरमा राष्ट्रपतिले समेत सहभागिता जनाउने प्रचलन शुरु भएको छ ।

छठ पर्वले सांस्कृतिकरुपमा नेपाली र भारतीयहरु नागरिकहरुलाई समेत एकापसमा जोडेको छ । छठ नेपालमा मात्रै होइन, भारतको विहार र उत्तरप्रदेशमा पनि भव्यरुपमा मनाइन्छ ।

मिथिलाञ्चलबाट भारतका विभिन्न शहरमा छरिएर रहेका नागरिकले छठ मनाउँछन् । भारतमा पनि नेपालमा जस्तै छठी पूजामा सरकारी अधिकारीहरुले सहभागिता जनाउने गरेका छन् ।

दशैंमा काठमाडौंबासीले गाउँ फर्कने बसको टिकट नपाएजस्तै छठको विदामा दिल्लीबाट युपी विहारतिर घर फर्कनेहरुले रेलको सीट नपाएर हैरान हुने गरेका छन् ।

साभार : अनलाइनखबर

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top