सद्भावना र सहयोग बढाउने भ्रमणको मूलल सफल’

September 17 2016 05:40

 

download-2

नयाँ दिल्ली,असोज १ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताउनुभएको छ । भारत भ्रमणबारे जानकारी दिन उहाँले आज एक होटलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भन्नुभयो, “सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य थियो, त्यसमा हामी सफल भयौँ ।” भारत सरकार, राजनीतिक दल र जनताको तहमा पनि प्रधानमन्त्रीको भ्रमणबाट उच्च उत्साह देखिएको आफूले महसुस गरेको उल्लेख गर्दै मन्त्री डा महतले यस भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ थपेको जिकिर गर्नुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित भएको द्विपक्षीय वार्ताबारे जानकारी दिँदै उहाँले दुई देशबीचका सबै विषयमा खुलेर छलफल भएको र त्यसले आगामी दिनमा सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो ।

विगतमा भएका सम्झौता एवम् प्रतिबद्धतालाई निश्चित समय सीमाभित्र कार्यान्वयनमा ल्याइने र त्यसका लागि दुई देशबीचमा भएका मन्त्री, सचिव एवम् प्राविधिकस्तरीय संयन्त्रलाई क्रियाशील गराउने प्रतिबद्धता व्यक्त गरिएकाले पनि आगामी दिनमा विकासको विषयले प्राथमिकता पाउने बताउनुभयो ।

उहाँले द्विपक्षीय छलफलमा एक एक गरेर आपसी हितका विषयमा छलफल भएकाले कार्यान्वयनको पाटोले थप उत्साह थपिएको बताउनुभयो । परराष्ट्रमन्त्री डा महतले भन्नुभयो, “भारत सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएको एक विलियन डलरमध्ये ७५० मिलियन डलर सहुलियत ऋण र बाँकी अनुदान छ, सहुलियत ऋणको सेवा र सामग्री ७५ प्रतिशत भारतको हुनुपर्ने व्यवस्था थियो, त्यसलाई हटाएर सहज बनाउने सहमति भएको छ ।”

उहाँका अनुसार ढल्केबरमा सबस्टेसन बनाउने कुरामा सहयोग गर्ने, तराई हुलाकी राजमार्गमा दोस्रो चरणको महत्वपूर्ण आयोजनामा सहुलियत ऋण दिने र ४०० केभी टान्समिसन लाइन गोरखपुर– बुटवललाई पनि अगाडि बढाउने सहमति भएको छ ।

पञ्चेश्वर आयोजना अगाडि बढाइने र विद्युत् व्यापारमा सहज पहुँचलाई पनि द्विपक्षीय मन्त्रिस्तरीय संयन्त्रले त्यसलाई टुङ्ग्याउने सहमति भएको छ । सीमा सुरक्षाका सन्दर्भमा थप सहजीकरण गर्ने, थप नाका खोल्ने, सिँचाइ आयोजना, लिङ्क रोडलाई विकसित गर्ने, रेल्वे लिंकलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्ने विषयमा कुरा अगाडि बढाइएको छ ।

संविधानका विषयमा भारत सरकारले पहिले नै स्वागत गरेको उल्लेख गर्दै मन्त्री डा महतले लोकतन्त्रको सुदृढीकरणमा जाने प्रक्रियालाई सराहना गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–“नेपाली जनताले संविधानसभा मार्फत संविधान निर्माण गर्ने ऐतिहासिक काम भयो, त्यसलाई अझै विकसित गर्ने र कतिपय मागलाई सम्बोधन गर्ने सरकारको पहललाई पनि सरकारात्मक रुपमा भारतले लिएको छ, त्यसकारण संविधानको विषयमा कुनै समस्या छैन ।”

द्विपक्षीय छलफलका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानका विषयमा भन्नुभएको विषय उल्लेख गर्दै डा महतले भन्नुभयो– “संविधान नेपालको आन्तरिक विषय हो, त्यस विषयमा जे भएको छ, मेरो केही भन्नु छैन ।”

उहाँले विगतका कुराभन्दा पनि भविष्यप्रति केन्द्रित भएर दुई देशबीचको सम्बन्धलाई विकासको जगमा मजबुत पार्ने र दुई देशका विषयलाई दुवै देशका जनताका हितमा अधिकतम प्रयोग गर्ने गरी कार्यान्वनलाई अगाडि बढाउने स्पष्ट बाटो लिइएको बताउनुभयो ।

भारतीय उद्योगी प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीका वातावरण उपयुक्त बन्दै गएको बताउनुभएको छ ।

नेपालमा लगानी गरेका भारतीय उद्योगी एवम् व्यापारी समुदायले आज बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना तयार भएका छन् भन्नुभयो ।

प्रधानमन्त्री दाहालले सरकारले लगानी एवम् राजनीतिक स्थायित्वका लागि स्पष्ट नीति लिएको उल्लेख गर्दै सम्भावनाका नयाँ अध्याय सुरु भएकाले विश्वस्त हुन उद्योगी व्यापारीलाई आग्रह गर्नुभयो ।

उहाँले कृषिमा आधारित क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल सरकारले सक्दो सहयोग गर्ने धारणा राख्नुभयो । “विगतमा भएका अप्ठ्यारा सङ्लदै गएको छ, अब शङ्का गर्नुपर्ने कारण छैन” प्रधानमन्त्री दाहालले भन्नुभयो, “भारत र चीन जस्ता विश्वका उदीयमान शक्ति र ठूलो अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपाल गरिब हुनै सक्दैन, अब समृद्धिको ढोका खुलेको छ । ”

भारतका व्यापारीले नेपालमा पछिल्लो समय लगानीका लागि उपयुक्त समय आएको महसुस गरेको बताउँदै त्यसलाई अझै विश्वासमा परिणत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।रासस

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top