बुढीगण्डकी जलविद्युत आयोजनाको व्यवस्थापनका लागि ६१ अर्ब रुपैयाँ लाग्ने

0 49

download-1

काठमाडौं ,२६ भदौ, । १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरणीय व्यवस्थापनका लागि ६१ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । फ्रान्सेली कम्पनी ट्रेक्टावेल इञ्जिनियरिङले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए रिपोर्ट)मा यस्तो देखिएको हो ।

ट्रेक्टावेलले महिना दिनअघि जनसंख्या तथा वातावरण मन्त्रालयलाई इआइए रिपोर्ट बुझाएको थियो । प्रतिवेदनमा बुढीगण्डकी आयोजना बनाउँदा वातावरणीय व्यवस्थापनका लागि अनुमानित ६१ अर्ब २० करोड ६४ लाख ५० हजार रुपैयाँ लाग्ने उल्लेख छ ।

आयोजना बनाउन खर्च हुने कुल लागतको यो २४.०१ प्रतिशत हो । बुढीगण्डकी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार आयोजना बनाउन २ खर्ब ५५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार आयोजना बनेपछि १५ वर्षसम्म वार्षिक ६२ करोड २७ लाख १० हजार रुपैयाँ राजस्व आम्दानी हुने र १६ औं वर्षदेखि वार्षिक ३ अर्ब ७१ करोड ३५ लाख ७० हजार रुपैयाँ राजस्व आम्दानी हुनेछ ।

फ्रान्सेली कम्पनी ट्रेक्टावेल इञ्जिनियरिङको नेतृत्वमा नेपालका जेड कन्सल्ट र नेपाल इन्मारोन्मेण्टल एण्ड साइन्टिफिक सर्भिसज प्रा.लि. को संयुक्त समूहले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको हो ।

वातावरणीय व्यवस्थापनका लागि १ अर्ब ८९ करोड ६५ लाख ४० हजार रुपैयाँ भौतिक वातावरणमा, ३ अर्ब ३४ करोड २४ लाख १० हजार रुपैयाँ जैविक वातावरणमा र ५२ अर्ब १५ करोड ८५ लाख २० हजार रुपैयाँ सामाजिक वातावरणमा खर्च हुने उल्लेख छ ।

त्यस्तै, वातावरणीय सुपरिवेक्षण तथा संपरिक्षणमा अनुमानित ३ करोड २९ लाख ४० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । वातावरणीय तथा सामाजिक व्यवस्थापन कार्यान्वयन तथा भैपरि आउने रकम समेत ३ अर्ब ७७ करोड ६० लाख ५० हजार रुपैयाँ रहेको छ ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमाथि वातावरण तथा जनसंख्या मन्त्रालयले केही कमेन्ट गरिसकेको र ट्रेक्टावेलले केहीदिनभित्रै मन्त्रालयको कमेन्टलाई पनि समावेस गरेर प्रतिवेदन बुझाउँदैछ ।

‘बुढीगण्डकीको इआइए रिपोर्टअनुसार आयोजना संभाव्य देखिएको छ,’ जनसंख्या मन्त्रालयका एक अधिकारीले भने, ‘प्रतिवेदनलाई चाँडै स्वीकृति दिने गृहकार्य भइरहेको छ ।’

कुनैपनि ठूला आयोजना बनाउनुभन्दा पहिला त्यसको वातावरणीय प्रभावबारे मूल्यांकन गरी त्यो वातावरणीय प्रभावका हिसाबले उपयुक्त छ भने मात्रै निर्माणका लागि अन्तिम स्वीकृति दिइन्छ ।

 

 

साभार : अनलाईन खवर