भावी नेतृत्व हत्याउने खेलमा अहिल्यैदेखि ओली र नेपाल समूहबीच मारामार

0 40

काठमाडौं,भदौ २४ । एमालेको महाधिवेशन आउन दुई वर्षभन्दा बढी समय बाँकी रहँदै गर्दा भावी नेतृत्व हत्याउने खेलमा केपी ओली र माधव नेपाल समूह न्वारनदेखिको बल निकालेर लागिपरेको बताइन्छ ।

मुख्यतः वर्तमान अध्यक्ष केपी ओली हटाउन माधव नेपाल गुट हात धोएर लागेको बताइन्छ । नेतृत्व चयनको अभ्यास ओली वा ओलीनिकट र नेपाल वा नेपालनिकटमै घुमिरहेको छ । औपचारिक कार्यक्रममा नदेखिए पनि आन्तरिक रुपमा उनीहरुको अभ्यास जारी रहेको छ ।

ओली आफूपछिको अध्यक्षमा वर्तमान महासचिव ईश्वर पोखरेललाई अगाडि बढाउन चाहन्छन् । राजनीतिक गुण नभएका असाध्यै छुच्चो व्यक्तिका रुपमा पोखरेल चिनिन्छन् । उनलाई अध्यक्ष बनाए पार्टी सकिने एमालेभित्र जवरजस्त मत रहँदै आएको छ ।

तर पछिल्ला दिनमा भ्रातृ संगठनका अधिकांश कार्यकर्ता अबको पार्टी अध्यक्ष कसलाई बनाउने भन्ने विषयलाई लिएर आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् ।

त्यसैअनुरुप कार्यकर्ता सामूहिक रुपमा नेतालाई भेट्न जाने सिलसिला तीव्र पारेका छन् । अनेरास्ववियु, युवा संघलगायत भ्रातृ संगठनका कार्यकर्ताको अभ्यास निर्णयक नै नभए पनि उनीहरुका बहस र गतिविधि अर्थपूर्ण मानिन्छ । उनीहरुले आयोजना गर्ने कार्यक्रममा अतिथिका रुपमा कसलाई बोलाउने भन्ने निर्णयबाटै यस्तो अभ्यास भएको देखिन्छ ।

माधव नेपालनिकट कार्यकर्ताले पछिल्लो समय स्वयम् नेपाल, योगेश भट्टराई वा गोकर्ण विष्टलाई वक्ताका रुपमा बोलाउने गरेका छन् भने ओलीनिकट भनेर चिनिएका कार्यकर्ताले भने ओली, ईश्वर पोखरेल, प्रदीप ज्ञवालीलगायत नेतालाई बोलाउने गरेका छन् । यसले महाधिवेशनमा नेतृत्व हत्याउने र कसरी नेतृत्व लिने भन्ने विषय नै बढ्ता केन्द्रीत रहेको देखिन्छ ।

सम्पर्क मञ्च, विद्यार्थी संगठन वा युवा संगठनले आयोजना गर्ने चाडबाडविशेष कार्यक्रम वा पिकनिकजस्ता कार्यक्रममा आफूनिकट नेतालाई बोलाउने गरेका छन् । त्यसो त, अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल, वरिष्ठ नेता माधव नेपाल, भीम रावल, वामदेव गौतम, सुवास नेम्वाङ, विष्णु पौडेललगायत नेता अबको अध्यक्षको दौडमा लागेका छन् ।

सकेसम्म आफैं बन्ने र आफू हुन नसकेको खण्डमा विश्वासिलो दोस्रो नेतालाई अध्यक्षमा स्वीकार्ने उनीहरुको मनसाय अहिलेदेखि नै देखिन थालेको छ । माथिल्लो तहका केही प्रभावशाली नेता बनाउने र लडाउनेमै केन्द्रित रहेको स्रोतको भनाइ छ । अध्यक्ष ओलीले पछिल्लो समय ईश्वर पोखरेललाई अध्यक्षका रुपमा अघि सार्दै आएको बुझिएको छ । ओलीनिकट एक नेताका अनुसार, पार्टीका हरेक महत्वपूर्ण गतिविधिमा अध्यक्षले पोखरेललाई बढी नै विश्वास गरेका छन् ।

तर, ओलीनिकट अन्य नेताले भने अध्यक्षको यस्तो गतिविधि मन पराएका छैनन् । पोखरेलका केही स्वभावगत समस्याकै कारण ओलीनिकट नेताहरु नै उनलाई स्वीकार्न तयार देखिएका छैनन् । अध्यक्षका रुपमा फेरि ओलीलाई स्वीकार्ने तर पोखरेललाई कुनै पनि हालतमा अध्यक्ष बनाउन नहुने भन्ने नेताहरु धेरै छन् ।

राष्ट्रपति बनेकी नेता विद्या भण्डारी, सुवास नेम्वाङनिकट नेताहरु भने ओली नभएको खण्डमा भण्डारी वा सुभास नेम्वाङलाई अध्यक्षका रुपमा स्वीकार्न सक्ने मनस्थितिमा छन् । यही विषयलाई लिएर राष्ट्रपति केही प्रभावशाली नेताहरु भण्डारीसँग लबी गर्दै आएका छन् । ओलीनिकट एक नेता भन्छन, ‘विद्या राष्ट्रपति नबन्दासम्म ओलीले पनि उनैलाई अबको अध्यक्षका रुपमा भरोसा गरेका थिए । तर, पछिल्लो समय पोखरेललाई अघि सार्न थालेका छन् ।’

त्यस्तै माधव नेपाल समुह भने पछिल्लो समय योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, ठाकुर गैरे, यज्ञराज सुनुवारलाई आफ्नो प्रभावमा राख्ने प्रयासमा छन् । नेपालको फेरि अध्यक्ष बन्ने यस्तो अभ्यास उनीनिकट केही नेतालाई चित्त बुझेको त छैन तर उनीहरुसँग अर्को विकल्प पनि छैन । नयाँ पुस्ताका युवा नेतासँग आफू रहेको देखाउन नेपाल प्रयासरत छन् ।

विष्णु पौडेल, भीम रावल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुसाललगायत नेता आगामी महाधिवेशनमै अध्यक्ष उठेर हार्नुभन्दा टिकेर प्रभावशाली बनिरहने प्रयासमा देखिएका छन् । यसले ओली र नेपाल गुटको लडाईलाई सतहमै ल्याइदिएको छ । त्यसो त उखान टुक्काले पार्टी नचल्ने भन्दै नेपाल समूहले ओली विरुद्ध ऐलान नै छेडेको छ ।

नेपाल समूहले ओलीले पार्टी सिध्याएको बताउने बताउने गरेका छन् । माओवादीसँग पार्टी एकता गरेर एउटै कम्युनिस्ट केन्द्र बनाउने योजनामा आफूहरु लागेपनि ओलीको व्यवहारका कारण सम्भव नभएको नेपाल पक्षको बुझाइ छ । मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी अध्ययन केन्द्रको नाममा ओली र नेपाल पक्षले समानान्तर गुट चलाइरहेका छन् । त्यसले उनीहरुको गुटबन्दीलाई संस्थागत गरेको र भावी नेतृत्व हत्याउने खेल समेत सुरु भएको देखिन्छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।