उपमहानगरपालिकाको नमूना भवनै अवैधानिकः कार्यकारी अधिकृतको कार्यकक्ष पोखरीमाथि !

0 46

सुनसरी ,भदौ २१ । इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा पोखरीमाथि निर्माण गरिएको छ कार्यकारी अधिकृतको कार्यकक्ष भवन । त्यस्तै, पूर्वपट्टि सांस्कृतिक भवन छ । तर, यी दुवै भवन अवैधानिक रहेको खुलासा भएको छ । कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवन मेचीकाली पोखरीमाथि ६ वर्षअघि तत्कालीन कार्यकारी अधिकृत गणेशराज कार्कीले निर्माण गरेका हुन् नयाँ पत्रिका दैनिकमा समाचार छ ।
तर, यो भवन नक्सापास बिना नै निर्माण गरिएको हो । ०५४ मा नगरपालिका बनेको इटहरी ०७१ मा उपमहानगरमा स्तरोन्नति भयो । इटहरी उपमहानगर भएपछि पशुपति खतिवडा कार्यकारी अधिकृत भएर आए र अहिले महेशराज तिम्सिना कार्यकारी अधिकृत छन् ।

पोखरीमाथि भएकाले गर्मी मौसममा पनि कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवनमा शीतल हावा चल्छ । त्यही शीतल वातावरणमा केही तातो निर्णय भइरहेको हुन्छ उपमहानगरमा । अघिल्ला र अहिलेका दुवै कार्यकारी अधिकृतले केही तातो निर्णय गरिसकेका छन् यस भवनबाट । तर, अलिहेसम्म भवन नक्सापास नगरी बनाइएको भन्ने विषयमा भने दुवैजनाको ध्यान गएको देखिएन ।
उपमहानगरका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले आफ्नो कार्यकक्ष रहेको भवन नक्सापासविना नै बनेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।

उनले भने, ‘तपाईँले यस विषयमा जानकारी दिनुभयो, अब म कार्यालयपरिसरका अवैधानिक भवनहरूलाई वैधानिक बनाउन विशेष पहल गर्नेछु । उपमहानगर कार्यालय परिसरमा ०५८ मा निर्माण भएको तीनतले सांस्कृतिक भवन पनि नक्सापास नगरी बनाइएको पाइएको छ । लक्जेम्बर्ग सरकारको आर्थिक सहयोगमा निर्माण भएको भवन जग्गा विवादका कारण नक्सापास नगरी बनाइएको उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहालले बताए । बहुसांस्कृतिक संग्रहालय बनाउने उद्देश्यले निर्माण गरिए पनि भवनको दुईवटा कोठा सभाहलका रूपमा प्रयोग हुँदै आएको छ भने भुइँतलाको उत्तरतर्फको कोठा इलाका प्रहरी कार्यालय इटहरीले प्रयोग गर्दै आएको छ ।

उपमहानगरको नाममा जग्गा
इटहरी उपमहानगरपालिकाको नाममा इटहरीमै जग्गा नभएको भने होइन । सो जग्गामा कार्यालय सञ्चालनका लागि भवन निर्माण गर्न पहल मात्र नगरिएको पाइएको छ । सातामा दुई दिन आइतबार र बुधबार बजार लाग्ने वडा नम्बर २ मा उपमहानगरको नाममा दुई बिघा जग्गा छ । सो जग्गाको लालपुर्जा भने उपमहानगरकै नाममा रहेको वरिष्ठ इन्जिनियर दाहालले बताए । त्यस्तै टेंग्रा खोलाको पुलदक्षिणमा पनि उपमहानगरको नाममा दुई कट्ठा जग्गा छ । लालपुर्जा भएकै जग्गामा कार्यालय भवन निर्माणका लागि वेला–वेलामा पहल गरिए पनि सार्थक नभएको वरिष्ठ इन्जिनियर दाहालले बताए ।

नक्सापास नगरी कार्यालय भवन

इटहरी उपमहानगरपालिका कार्यालय परिसरले चर्चेको दुई बिघा जमिन अझै पनि उपमहानगरको नाममा छैन । पञ्चायतकालमै दुई बिघा १० धुर जग्गा प्राप्त भएको थियो । पञ्चायतकालमै १० धुर जग्गा इटहरी पञ्चायतको नाममा आएको थियो । तर, बाँकी दुई बिघा जग्गा गणतन्त्र आएपछि नगरपालिका उपमहानगरमा स्तरोन्नति हुँदासम्म पनि कार्यालयको नाममा आएको छैन ।

भोगाधिकारबाहेक इटहरी उपमहानगरसँग यस जग्गाको लालपुर्जा छैन । पञ्चायतकालमा तत्कालीन प्रधानपञ्च रामकुमार सुब्बाले स्थानीय चौधरी समुदायबाट जग्गा प्राप्त गराएका हुन् । जग्गा प्राप्त भएको केही समयपछि एकतले भवन बनाइएको थियो । गाविस हुँदासम्म नक्सापास गर्नुपर्ने चलन थिएन । भवन नक्सापास नगरी पिल्लर र रडविना नै बनाइएको थियो । इटहरी ०५४ मा नगरपालिका बन्यो र नक्सापास गर्नुपर्ने व्यवस्था लागू भयो । तर, ०५६ मा माथिल्लो तला थप गरिए पनि नक्सापासको प्रक्रिया भने अगाडि बढाइएन ।

नक्सापास हुन आफ्नै नाममा जग्गा हुनुपर्ने भएकाले अहिलेसम्म नक्सापास नभएको उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहालले जानकारी दिए । जग्गा नगरपालिका हुँदादेखि नै आफ्नो नाममा ल्याउन पहल भए पनि अहिलेसम्म ल्याउन नसकिएको उनले बताए । उनले जग्गा सरकारको नाममा भएकाले नक्सापास नभएको भन्दै बाध्यतालाई सबैले बुझिदिनुपर्ने बताए ।