राष्ट्रिय प्रजातान्त्रिक पार्टीबीचको एकता कार्य बिफल

0 8

Kamal-Thapa-and-Pashupatiराष्ट्रिय प्रजातान्त्रिक पार्टीबीचको एकता तुहिएको छ। उनीहरूले दुई अध्यक्ष व्यवस्था गरेर बाँकी सैद्धान्तिक विषयलाई चैतभित्र महाधिवेशनबाट टुंगो लगाउने सहमति गरेका थिए। त्यसैअनुसार दुवै पार्टीको केन्द्रीय समितिले एकीकरण गर्ने निर्णयसमेत गरिसकेका थिए। तर, एकाएक एकता प्रक्रिया भाँडिएको छ। नेताहरू एक अर्कोविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका छन्। राष्ट्रिय अध्यक्ष र पार्टी अध्यक्ष रहने अचम्मको व्यवस्था नै एकीकरण रोक्नुको औपचारिक कारण बनेको छ।

“दुई अध्यक्ष व्यवस्था गरे पनि त्यसअनुसार एकीकरण हुन सकेन” राजनीतिज्ञ लोकराज बरालले भने, “दुवै दलमा सैद्धान्तिक मतभेदभन्दा व्यक्तित्वको टकराव देखियो।” उनका अनुसार अन्य दलमा भन्दा पूर्वपञ्चको दलमा व्यक्तिगत स्वार्थले कोसँग मिल्ने वा नमिल्ने विषयलाई अलि बढी नै निर्धारण गर्छ।

एकीकृत पार्टीको राष्ट्रिय अध्यक्ष हुने सहमति भएका राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले अन्तरिक विधानमा कार्यविभाजनको स्पष्ट व्यवस्था भए मात्रै एकीकरण हुने बताएका छन्। राप्रपा नेपालले भने बाह्य शक्तिकेन्द्रको चलखेलको कारण एकीकरण हुन नसकेको बताएका छन्।

दुवै दलको शीर्ष तहमा रहेका पञ्चायती पृष्ठभूमिका अधिकांश नेताले सत्ताको विषयमा सधैं कलह सिर्जना गर्नुका साथै पार्टी विभाजनसमेत गर्दै आएको इतिहास छ।

२०४७ जेठ १५ गते पूर्वपञ्चले एकै दिन सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द नेतृत्वमा एकै नाम ९राष्ट्रिय प्रजातन्त्र पार्टी० का दल गठन गरेका थिए।

त्यसको एक वर्षपछि भएको निर्वाचनमा चन्दको दलले तीन स्थानमा जित हासिल गरेको थियो भने थापा नेतृत्वको दलले एक स्थानमा चित्त बुझाएको थियो। त्यसको एक वर्षपछि दुवै दल एकीकृत भए।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनपछि २० स्थान जितेको राप्रपाका हातमा सत्ताको साँचो आइपुग्यो। तर, त्यही साँचो नै राप्रपाको फुटको कारण बन्यो।

नेकपा एमालेको सहयोगमा सत्तामा पुगेका नेता लोकेन्द्रबहादुर चन्दको सरकारविरुद्ध अविश्वास प्रस्तावमा पारित गराउन नेताहरू लागेपछि २०५४ सालमा दल विभाजित भएको थियो। चन्दले विद्रोह गरेर फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी ९चन्द० गठन गरे। तर, २०५६ सालको निर्वाचनअघि नै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकीकरण गरे। राजेश्वर देवकोटाले भने एकीकरणप्रति विमति जनाउँदै केही समय राप्रपा चन्दको नेतृत्व गरे। केही समयपछि त्यसको नाम परिवर्तन गरेर राप्रपा ९राष्ट्रवादी० बनाए। लोकतन्त्र स्थापनापछि २०६३ सालमा उक्त दल राप्रपा नेपालमा विलय भएको थियो।

पञ्चायतकालदेखि फरक–फरक कित्तामा विभाजित रहँदै आएका पूर्वपञ्चको दल सत्तालाई प्रमुख आधार बनाउँदै विभाजित हुँदै आएको छ।

शेरबहादुर देउवाले २०५९ सालमा संसद् विघटन गर्दै जनताको अधिकार दरबारमा बुझाएपछि राजा ज्ञानेन्द्रको पहिलो रोजाइमा चन्द परे। तर, उनको सरकार लामो समय चल्न सकेन। त्यसपछि प्रधानमन्त्री बन्ने अवसर थापाले प्राप्त गरे। तर, सत्ता नै दलभित्र झगडाको बीउ बन्यो। राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणाले उनलाई फिर्ता बोलाउने निर्णय गरे।

राणासँग असन्तुष्ट रहेका थापाले २०६० साल जेठमा बृहत राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति गठन गरे। थापाकै मन्त्रिपरिषद्मा रहेका कमल थापा पनि समिति थिए। तर, तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते चालेको कदमबारेमा फरक धारणा आयो। त्यसैबीच राजाको प्रत्यक्ष शासनको समयमा कमल थापा गृहमन्त्री बने। राजाको प्रत्यक्ष शासनसम्बन्धमा फरक मत देखिएपछि राप्रपा विभाजित भएर राप्रपा नेपाल बन्यो। २०६२ पुस २६ गते गठन भएको राप्रपा नेपाल राजाले घोषणा गरेको स्थानीय निर्वाचनमा सहभागी भयो। जबकि सबै प्रमुख राजनीतिक दलले त्यसलाई बहिष्कार गरिदिए।

सूर्यबहादुर थापाले प्रकाशचन्द्र लोहनीसहित नेतालाई लिएर फागुन ३० गते राष्ट्रिय जनशक्ति पार्टी बनाए। पहिलो संविधानसभा निर्वाचनमा फरक तीनवटा पार्टीले निर्वाचनमा भाग लिए। पहिलो संविधानसभा निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ८, राप्रपा नेपालले ४ र राजपाले ३ स्थान हासिल गरे। गणतन्त्र र सघीयता स्वीकार्य गर्ने निर्णय गरेका राप्रपा र राजपाबीच एकीकरण भयो। राप्रपाका शीर्ष चार नेताहरू थापा, चन्द, राणा र लोहनीबीच चक्रिय प्रणालीअनुसार नेतृत्व गर्ने सहमति भए पनि नेतृत्वको विवाद चलिनै रह्यो।

दोस्रो संविधानसभा निर्वाचनमा अन्य दलभन्दा फरक नारा लिएर चुनाव लडेको राप्रपा नेपालले प्रत्यक्षतर्फ कुनै स्थान जित्न सकेन तर पनि सामानुपातिकतर्फ २४ सिट जित्दै चौथो दल बन्यो। सरकारबाट मनोनीतमा एक स्थान प्राप्त गरेको छ। राप्रपाले प्रत्यक्षतर्फ तीनसहित १३ स्थान प्राप्त गर्‍यो। सूर्यबहादुर थापाको निधनपछि अहिले उसको १२ सिट छ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका दुवै दलबीच नयाँ सरकारको विषयमा फरक मत छ। पछिल्लो समय हिन्दु राष्ट्रवादीु शक्ति निर्माणका लागि उनीहरूबीचको हुने भनिएको एकता पनि टुटेको छ।

सा.भा नागरीक