अविश्वास प्रस्तावको टुङ्गोसँगै ओली आज पदमुक्त हुँदै,कुन दल कतातिर

0 6

download (5)

काठमाडौं,साउन ९ । पधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको टुङ्गो आज लाग्दैछ । आजको वैठकमा ३ घन्टा विभिन्न दलका सांसदहरुले बोलेपछि ढिलोमा साढे २ बजे प्रधानमन्त्री वा उनले तोेकेका मन्त्रीले सदनमा जवाफ दिने छन् । सरकारमा सहभागी वरिष्ठ उपप्रधानमन्त्री विजयकुमार गच्छदारको १४ सिटको फोरम लोकतान्त्रिक र ११ सिटको राप्रपाले समेत अघिल्लो दिन सरकारबाट मन्त्री फिर्ता बोलाएर अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने भइसकेको छ।

मतदान हुने दिनसम्म प्रधानमन्त्री ओलीलाई साथ दिनेमा कमल थापा नेतृत्वको राप्रपा नेपालबाहेक साना दलहरुमात्रै रहेका छन्। शुक्रबारदेखि सुरु भएको अविश्वास प्रस्तावमाथिको छलफल आइतबार सकिँदैछ। छलफल सकिएपछि बैठक आजै बस्ने गरी केही समय स्थगित हुनेछ। दोस्रो बैठकको सुरु मै सभामुखले छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री ओलीलाई समय दिनेछन्। यो उनको प्रधानमन्त्रीका रुपमा अन्तिम वक्तव्य हुनेछ। कतिपयले सोही वक्तव्यमार्फत् प्रधानमन्त्रीले राजीनामा दिनसक्ने अनुमान पनि गरेका छन्। प्रधानमन्त्रीको वक्तव्यपछि सभामुखले अविश्वासका प्रस्ताव राख्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव फिर्ता लिन समय दिनेछिन्। प्रस्ताव फिर्ता लिन नचाहे सभामुखले यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछिन्। व्यवस्थापिका संसदको नियमावली अनुसार यस्तो प्रस्तावको निर्णय मतदानबाट हुनेछ। अहिले अविश्वासको पक्षमा ३ सय ६२ सासंद देखिएका छन् । विपक्षमा २ सय २५ सांसद रहेका र अरुसांसद कतैतिर पनि नखुलेको बुझिएको छ । जसले गर्दा आज संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पद मुक्त हुनेछन् ।

मतदानमा संसदको तत्काल कायम संख्या ५९५ को बहुमत कम्तिमा २९८ मत परेसँगै प्रधानमन्त्री ओली संविधानको धारा २९८ को ८ ख अनुसार पदमुक्त हुनेछन्। प्रधानमन्त्रीसँगै ५ जना उपप्रधानमन्त्रीसहित ३३ जना मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री पनि धारा २९८ को ९ अनुसार पदमुक्त हुनेछन्।