यसरी हुँदैछ नयाँ सरकार गठन

0 4

sadan-samsad-bicc-750

काठमाडौं,साउन ९ । नयाँ सरकार निर्माणमा राष्ट्रपतिबाट ‘टाइम वाइङ’ हुन सक्ने अनुमान गर्दै कांग्रेस र माओवादी केन्द्र सभामुखबाटै सरकार निर्माणको आह्वान गरेर अघि बढ्ने तयारीमा देखिएका छन् । दुवै दल संविधानको संक्रमणकालीन व्यवस्थामा सरकार निर्माण गर्न राष्ट्रपतिले आह्वान गनुपर्ने कतै पनि उल्लेख नभएको भन्दै राष्ट्रपतिकहाँ जानुपर्ने बाध्यता नभएको मान्यतामा छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – कांग्रेस नेता रमेश लेखकले संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार धारा २९८ बमोजिम गठन हुने सरकारका लागि राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था नभएको बताए । ‘संविधानमा संक्रमणकालीन व्यवस्थाको धारा २९८ अनुसार बन्ने प्रधानमन्त्रीका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्ने व्यवस्था छैनु, लेखकले भने, ‘अब नयाँ सरकार गठनका लागि सभामुखले आह्वान गर्नुपर्छ ।’ संविधानको धारा ७६ मा संघीय संसद्बाट बन्ने प्रधानमन्त्रीका लागि राष्ट्रपतिले आह्वान गर्ने स्पष्ट व्यवस्था छ । तर संक्रमणकालीन व्यवस्थाअनुसार अब बन्ने प्रधानमन्त्रीका लागि राष्ट्रपतिले आह्वान गर्ने प्रावधान छैन ।संविधानमा स्पष्ट व्यवस्था नभएपछि एमालेबाट हुन सक्ने सम्भावित अवरोध रोक्न सभामुखमार्फत नयाँ सरकार गठनको आह्वान हुनपर्ने विषयमा कांग्रेस र माओवादीबीच छलफल सुरु भएको छ । ‘परम्परा मान्ने हो भने राष्ट्रपतिमार्पmत नयाँ सरकार गठन आह्वान गरेर जान सकिने भयो,’ लेखकले भने, ‘संवैधानिक रूपमा अघि बढ्ने हो भने राष्ट्रपतिकहाँ जानुपर्ने व्यवस्था छैन र जानु पर्दैन ।’ प्रधानमन्त्री केपी ओलीविरुद्ध संसद्मा परेको अविश्वासको प्रस्ताव सम्भवतः आइतबार पारित हुनेछ । ओली र उनको दल एमाले नयाँ सरकार गठन गर्ने संवैधानिक व्यवस्था नभएको भन्दै वर्तमान सरकारलाई कामचलाउका रूपमा लम्ब्याउने रणनीतिमा छन् राष्ट्रपतिमार्फत । त्यही अनुमानका आधारमा कांग्रेस र माओवादी सभामुखमार्फत सरकार गठनको पहलमा लागेका हुन् । संविधान व्याख्या गर्ने आ–आफ्नै तर्कका कारण नयाँ सरकार निर्माणमा दलहरूबीच चर्को मतभेद हुने देखिएको छ । संविधानको धारा २९८ को (२० मा) ‘यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका संसद्को अधिवेशन चलिरहेको रहेछ भने यो संविधान प्रारम्भ भएको मितिले अधिवेशन चलिरहेको रहेनछ भने धारा २९८ को उपधारा ९६० बमोजिम आह्वान गरिएको व्यवस्थापिका संसद्को अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ’ भन्ने प्रावधान छ । तर कुनै पनि धारामा सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्ने उल्लेख छैन ।