लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय अन्ततः संसद प्रवेश के हुन्छ अब ?

0 9

काठमाडौं,साउन ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्त भएदेखि पद र शक्तिको दुरुपयोगका कारण विवादित बन्दै आएका लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय अन्ततः संसद प्रवेश गरेको छ। सांसद गगन थापा सहित तीन जना सांसदहरुले संसदको सुशासन तथा अनुगमन समितिमा बिहीबार दिएको निवेदनले संवैधानिक अंगको गरिमा ध्वस्त पार्दै विवादस्पद कार्यमा संलग्न कार्कीलाई महाअभियोग लगाउने विषयमा छलफल गर्न मार्ग प्रशसस्त गरेको आजको नागरिक दैनिकमा खबर हो ।

बिहीबार समितिमा दर्ता गरिएको निवेदनमा भनिएको छ, ‘अनसनरत डा. गोविन्द केसीले अख्तियार प्रमुख लगायतलाई महाअभियोग लगाउनुपर्ने मागलाई प्रमुखका साथ उठाउनु भएको छ । अख्तियार प्रमुखलाई किन महाअभियोग लगाउने भन्ने विषयमा उहाँले उठाएका विषय गम्भीर र सम्वेदनशील छन्।’

संवैधानिक निकायले आफ्नो सीमा र कार्यक्षेत्रको दुरुपयोग गरेका प्रशस्त समाचार सार्वजनिक भएको निवेदनमा उल्लेख छ।

डा. गोविन्द केसी अनसनको एउटा मुख्य माग नै अख्तियारको आवरणमा कार्कीले मेडिकल माफियालाई संरक्षण दिएकाले उनलाई संसदले महाअभियोग लगाउनुपर्ने रहँदै आएको छ । अख्तियारको आवरणमा त्रास र धम्कीको शासन चलाउन खोज्ने, संवैधानिक पदको चरम दुरुपयोग गरी व्यक्तिगत प्रतिशोध साँध्ने जस्ता कार्यले संवैधानिक निकाय बद्नाम बन्दै गएको अवस्थामा बिहीबार कार्कीविरुद्ध महाअभियोग विषयले संसद प्रवेश पाएको हो ।