एक किशोरीको अनुभवः रंगीन डान्सबारभित्रको रंगहीन जीवन

मेलम्चीदेखि काठमाडौंको डान्सबारसम्म

0 11

depressed-woman
१९ असार, काठमाडौं । सुनमाया लामा (नाम परिवर्तन) ठमेलको एक डान्सबारमा काम गर्छिन् । अहिले उनी १८ वर्षकी भइन् । सिन्धुपाल्चोक घर भएकी उनको घर पुग्न मेलम्चीबाट थुप्रै घण्टा हिँड्नुपर्छ । उनका बुवा गाउँमा झाँक्री काम गर्छन् ।

सुनमायाकी आमा बढीजसो खेतबारीको काम सम्हाल्छिन् । सुनमाया घरकी जेठी छोरी हुन् । उनीपछिका ४ बहिनी छन् । अन्तिमको भाइ छ । गाउँमा बारीको अन्नले ६ महिना आन पुग्छ । बुबाले झाँक्री काम नगरे र उनले यताबाट कमाएर नपठाए घरमा खान पुग्दैन ।

सानुमाया आफूले दुःख भोगेर हुर्केको बताउँछिन् ।  बुवाको रक्सी धेरै पिउने आदत र  आमासँग दिन-दिनै झगडा परिराख्ने विषयले उनलाई अझै सताउँछ । यही दिक्दारलाग्दो परिवेशबाट मुक्ति पाउन उनी तीन वर्षअघि काठमाडौं आएकी हुन् ।

कहिले ठूलो हुँला र मैले पनि पैसा कमाएर यस्तो दुःख हट्ला भन्ने सोच्दा सोच्दै उनले पाँच कक्षाभन्दा माथि पढ्न सकिनन् । पढाइ खासै राम्रो नभएपछि भाइबहिनी हेर्ने र गोठालो जाने दैनिकीसँग वाक्क लागेर छोडेर उनी काठमाडौंमा भासिइन् ।

तर, उनले काठमाडौंमा भने गाउँको भन्दा ठूलो दुःख खेप्नुपर्‍यो । उनका अनुसार बालअवस्थामै डान्सबारमा काम गर्दा भोगेका पीडा मुखले बयान गरेर सकिने छैनन् ।  तर पनि उनले आफ्नो अनुभव र पीडालाई एकपटक सम्भिmने कोशिस गरिन् । उनको भोगाइ उनकै शब्दमा ।

काठमाडौं र सपना

मैले काठमाडौंबारे धेरै सुनेकी थिएँ । मलाई यहाँ आउन पहिले रहर नै त थिएन । तर, गाउँका थुप्रै केटाहरु काठमाडौं आउने-जाने गर्थे । उनीहरुले लगाएको देख्दा मलाई पनि रहर लाग्ने । मेरो फुपूको छोरो पनि काठमाडौंमा बस्थ्यो । ऊ होटेलमा काम गर्छु भन्थ्यो । पहिले फपूहरुलाई निकै दुःख थियो । दाइ कमाउने भएपछि उनीहरु अलिअलि पैसा भएजस्तो गर्थे । मेरा बुवालाई घर चलाउन झारफूक गर्नैपर्ने बाध्यता थियो ।

गाउँमा रोग बिसेक भएर बुवालाई मान्नेहरु पनि थिए । कतिले भने बुवालाई ‘बोक्सो’ भन्थे । यही कारण बुवाको धेरैसँग झगडा पनि पर्छ । घरको दुःख, बुवाको अपमान, आमाको रोग, भाइबहिनीको बिचल्ली देख्दा मलाई गाउँमा केही पनि ठीक लाग्थेन ।

फुपूका छोरा काठमाडौंबाट फर्केका बेलामा दशैंमा मलाई पनि काठमाडौंमा जागिर खोज्दिन भनेँ । पहिले त उसले मानेन । मैले फोनबाट उसलाई भनेको भन्यै गर्थेँ । बुवालाई पनि काठमाडौं जान्छु भनेकी थिएँ । बुवाले सुरुमा पर्दैैन भन्नुभएको थियो ।
म त्यतिबेला १६ वर्ष लाग्दै थिएँ । बल्ल बल्ल कुरा मिल्यो । मैले धेरै कर गरेपछि दाइकै साथ लगाएर मलाई काठमाडौं पठाउनुभयो । मलाई काठमाडौंमा के-के न हुन्छ होला भन्ने थियो । काठमाडौं आएपछि त दुःख नै सकियोजस्तो भएको थियो । अब गोठालो पनि जानुपर्दैन भनेर धेरै खुसी लागेको थियो । (हाँस्दै)

दाइले मलाई होटलमा फोन उठाउने काम गर्ने हो भन्नुभएको थियो । सुरुको महिनामै ४ हजार तलव दिन्छ भन्नुभएको थियो । होटलमै बस्ने खाने भनेपछि मलाई पनि राम्रै जस्तो लाग्यो ।

डान्सबारको बाटो

म यहाँ झरेकै दिन ठूलो शहरमा आएँ भन्ने पर्‍यो । मलाई दाइले बालाजुको एउटा होटलमा लग्यो । उसको साथीको होटल रहेछ । उसले भनेजस्तै काम रिसेप्सनमा बस्ने नै थियो । सुरुमै मलाई  रिसेप्सनमा राखिएन । मलाई एक हप्तासम्म काम सिकाइयो । अर्को एकजना दिदी पनि हुनुहुन्थ्यो ।

होटलमा थुप्रै मान्छे जोडी लिएर आउँथे । विदेश जानेहरु पनि टन्नै आउने रहेछन् । मलाई सुरुमै आएर कोठाको रेट सोध्थे । म रेट बताइदिन्थेँ । कोही बस्थे, कोही जान्थे । मलाई त्यहाँ रामै्र थियो । कहिलेकाँही दाइ आइरहने भएकाले मलाई सजिलै थियो ।
तर, एक महिनापछि मैले होटलमा आउने एउटा मान्छेको कुरा सुनेर त्यो होटल छाडेँ । एकजना गेष्टले मलाई कति कमाउँछ्यौ भनेर सोध्यो । मैले ५ हजार भनिदिँए । त्यसपछि उसले आफ्नो साथीको ठमेलमा डान्सबार भएको बतायो ।

महिनाको २० हजारसम्म कमाइन्छ भनेर नम्बर दिएर गयो । मैले उसलाई फोन गरेँ र एक दिन दिउँसो भेट्न गएँ । त्यहाँ काम गर्ने अरुले लगाएको लुगा देख्दा नै निकै लोभ लाग्यो । तर, मलाई समस्या थियो, होटल छाडेपछि कहाँ बस्ने ? डान्सबारकै साहुले एउटा घरमा कोठा मिलाइदिने भन्यो ।

त्यसमा २५ हजारजतिको सबै सामान किनदिने र पछि त्यो तलबबाटै कटाइदिन्छु भन्यो । मैले सरासर मानेँ ।

मैले उता होटलमा एकमहिनाको तलव बुझेपछि काम छोड्छु भनेँ । दाइलाई होटलमा काम गर्न गाह्रो भयो, मैले अर्कै अफिसमा जागिर पाएँ भनेर छाँडिदिएँ । दाइले गाली गरेको थियो । मैले फोनको सीम नै चेञ्ज गरिदिँए । त्यसपछि मैले डान्सबारमा काम सुरु गरेँ । मलाई कसैले सोध्दा उमेर १९ वर्ष भएँ भन्नु भनिएको थियो ।

पीडा

डान्सबारमा काम सुरु गर्नुअघि मलाई साहुको भाइले नयाँ कपडा ल्याइदियो । पाइन्टदेखि वानपीससम्म थियो । म पहिले धेरैजसो कुर्ता नै लगाउँथे । अब कुर्ता नलगाउनु भनिएको थियो । जति ग्राहकको खर्च गरायो, उति टिप्स पाइने भनिएको थियो । सुरु-सुरुमा त म ग्राहकको छेउमै जान सक्दैनथेँ । यस्तो काम पनि के गर्नु जस्तो लाग्थ्यो । म फसेँ भन्ने अनुभव पनि गरेँ । तर, मसँग अर्को कुनै उपाय पनि थिएन । अरु साथीको व्यवहार हेर्थेँ । उनीहरु मलाई कराउँथे ।

सुरु-सुरुमा त थाहा नभएर हार्ड डि्रंक्स नै लिन्थेँ । विस्तारै डान्सबारको चलन थाहा हुँदै गयो । डान्सबारमा काम गर्दा सुरु-सुरुमा निकै अप्ठेरो लाग्ने । अरुहरुको हेर्थेँ, सबैको यस्तै त रहेछ जस्तो लाथ्यो । ग्राहकको नजिक गएर बस्ने, उसलाई नाचेको ठाउँमा पैसा फाल्न जोस्याउने लगायतका काम गर्न मलाई सिकाइन्थ्यो ।

म चुरोट कहिल्यै नखाने मान्छे चुरोटको लतमा पनि फसेँ । राति अबेरसम्म बसेपछि ग्राककहरुले सँगै जाउँ भन्थेँ । तर, मैले दुई महिनासम्म मानिनँ । तर, कसै-कसैले ठूलो पैसाको लोभ देखाउथेँ ।

मलाई जसरी पनि धेरै कमाउनु थियो । मेरो खर्च पनि बढ्दै थियो । मलाई त्यतिबेला कोठाभाडा तिर्न नै समस्या पथ्र्यो । म सँधै जाँदैनथेँ ।  तर, प्रायः इन्डियन गेष्टहरु आए भने तयार हुन्थें । कहिले-कहिले फोनमा कन्ट्याक्ट गराइदिने पनि थिए । धेरै पैसा हुने भयो, होस् जस्तो लाग्थ्यो ।

तर, केहीपछि काम गर्दागर्दै बाउन्सरसँग मेरो लभ पर्‍यो । त्यसपछि म गेष्टहरुसँग जान छाँडे । उसले जान पनि दिदैँनथ्यो । अहिले पनि म ऊसँगै लिभिङ टुगेदरमा छु । हाम्रा साथीहरु पनि धेरै लिभिङ टुगेदरमा छन् । मलाई यो ठीक हो जस्तो पनि लाग्यो । आफूलाई सुरक्षित फिल हुने रहेछ ।

मैले डान्सबारमा सुरु-सरुमा भोगेका सबै कुरा भन्न सकिनेखालका छैनन् । डान्सबार भन्नासाथ हाम्रो समाजमा यसै पनि राम्रो मानिँदैन । तर, त्यहाँ रात छिप्पिँदै जाँदा हुने हरकतहरु ज्यादै हद नाघेर हुन्छन् । स्टेजमा एउटा डान्सर नांगिँदै जाँदा हामी गेष्ट रिझाउनेहरु माथि हुने व्यवहारको परिकल्पना जसले पनि गर्न सक्छ । हामीले ती गेष्टलाई पैसा फाल्न उक्साउनुपर्ने, तर अनेक वितण्डा गर्ने गेष्ट पनि आउँछन् ।

म सुरु-सुरुमा यो त जस्तो परे पनि हामीले गर्नैपर्छ भन्ने सोच्थेँ । म यस्तो दुब्र्यवहारमा परेँ भन्ने म बुझ्दैनथेँ । मलाई त्यतिबेला त्यो मेरो काम हो भन्ने सोच थियो । फेरि मलाई ग्राहकलाई खुसी पार्न सकेसम्म हरकत गर्नु, बढी टिप्स पाउँछ्यौ भनिएको थियो । त्यहाँ जस्तो व्यवहार भए पनि म सहन्थेँ । कतिपय ग्राहक त यति हदसम्मका आउँछन् कि यहाँ भन्नै सकिँदैन ।

तर, यो पेशामा रहने धेरैले आफ्नो सबै कुरा दबाउनैपर्ने रहेछ । यो काम गर्न नसक्ने मान्छेको डान्सबार ‘ज्वाइन’ गरेको पहिलो दिन नै निर्णय लिन सक्छ कि म यहाँ रहने कि नरहने भनेर ।

काम नै यस्तो भएपछि सही परिचय पनि हामी कसैलाई दिन सक्दैनौं । मान्छेले सोधेपिच्छे फरक नाम भन्दिछौं । घर पनि कहिले कता,कहिले कता भन्दिन्छौं । डान्सबारमा त्यस्तै हुँदोरहेछ । सही नाम भन्दा बदनाम भइन्छ भन्ने हो । कतिले त साहुहरुलाई पनि आफ्नो सही नाम भन्दैन रहेछन् । एउटा डान्सबार छोडेर अर्कोमा जाँदा अर्कैै नाम राख्छन् ।

बाध्यतामा परेकाहरुलाई अरु बाटो नमिलेसम्म यही गर्छु भन्ने हुन्छ । गर्दै जाँदा त्यस्तै वातावरण, त्यस्तै परिवेशले मान्छेलाई अभ्यस्त गराउन सक्ने रहेछ ।

परिवारको डर

मलाई काम सकेर राति कोठामा पुगेर सोच्दा परिवारको खुब डर लाग्थ्यो । थाहा पाए भने मेरो परिवारले मलाई स्वीकार्दैनन् भन्ने डर अझै पनि मलाई छ । आजसम्म यो कुरा लुकाएर राखेकी छु ।

मेरी एउटी बहिनीलाई भने सबै थाहा छ । उसले पनि कसैलाई भन्दिँन भनेकी छ । मैले बहिनीहरुको पढाइ र घर खर्चका लागि अलि-अलि पैसा दिने गरेकी छु । घरमा अब बिहे गर्नुपर्छ भन्छन् । तर, मेरो लिभिङ टुगेदरबारे मैले भन्न सकेको छैन ।

अब यो कुरा कति दिन लुक्ला ? मलाई थाहा छैन । घरमा सबैले मलाई राम्रो अफिसमा काम गर्छे भन्ने सोच्छन् । बुवाहरु कहिलेकाँही आउनुहुन्छ । त्योबेलामा अनेक बाहना बनाएर काममा जानुपर्छ । नगएको दिनको पैसा आउँदैन । कहिले-कहिले बाहिर जाने बाहना बनाएर त साथीको बस्नुपरेको छ ।

मैले भागेको पीडा परिवारलाई सुनाउन मिल्नेखालको छैन । त्यसमाथि यो मैले नै रोजेको बाटो हो । परिवारलाई मैले दोष दिन सक्ने अवस्था पनि छैन ।

अब एउटी बहिनीलाई यतै ल्याएर पढाउने कुरा भएको छ । त्यतिबेलासम्म मैले यो काम छोडिसक्नुपर्छ । अब के गर्ने भनेर मैले निर्णय गर्न सकिरहेको छैन ।

‘रंगीन तर अध्याँरो’

मसँग काम गर्ने धेरै साथी दोलखा, रामेछाप, सिन्धुपाल्चोक, लमजुङ, गोरखातिरका छन् । अहिले त यहाँ कलेज पढ्न बसेका धादिङ, मकवानपुर, सुनसरीतिरका पनि छन् । डान्सबारमा काम गर्ने थुप्रै आउने जाने क्रम चल्छ । यहाँ टिकेर काम गर्न गाह्रो छ ।

यहाँ १८ वर्ष ननाघेका र कलिला किशोरी नै खोजिने रहेछ । किनभने ग्राहकहरु पनि जतिसक्दो साना केटीहरु खोज्ने खालका हुन्छन् । तर, सानै उमेर भोग्नुपर्ने दुव्र्यबहार, रक्सी र चुरोट खानैपर्ने बाध्यता, प्रतिष्ठा गुम्ने डर, परिवारको चिन्तालगायतका कारण हामी जस्तालाई यो क्षेत्रमा बसिरहन गाह्रो हुने रहेछ । म पनि यो क्षेत्रमा लामा समय रहन सक्दिँन ।

प्रायः कलिलै उमेरमा डान्सबार छिरेर अनेक पीडा भोग्नेहरु छन् । हेर्दा रंगीन भए पनि डान्सबारभित्रको संसार भोग्नेहरुलाई त्यो अँध्यारो छ

मेरा धेरै साथीले यो पेशा छाडेका छन् । कोही वर्षौंदेखि यसैमा छन् । कति त आउने जाने मात्रै छैन् । प्रायः डान्सबारमा काम गर्नेहरु राति आफ्नै कोठमा फर्किनेहरु छन् । केही मात्रै हो, गेष्टसँग जाने । म साथीहरुसँग यो पेशा छोड्नेबारे सोध्छु । सबै फसियो भन्छन् । तर, कोही-कोही अब कसरी छोड्नु भन्छन् ।

डान्सबारमा काम गर्नेहरु पनि सबै एकैखालमा छैनन् । सबै डान्सबार पनि एकैखालका छैनन् । यहाँभित्र भोग्ने कथा भने धेरैको एउटैखालको छ । प्रायः कलिलै उमेरमा डान्सबार छिरेर अनेक पीडा भोग्नेहरु छन् । हेर्दा रंगीन भए पनि डान्सबारभित्रको संसार भोग्नेहरुलाई त्यो अँध्यारो छ ।

त्यहाँ रंगीन बत्तिहरु बल्छन् तर, हाम्रो जीवन भने त्यही बत्तीले रंग नै नभएजस्तो बनाइदिएको छ । यो डिस्को लाइट मलाई त कलंक हो कि जस्तो लाग्छ । पढ्ने र परिवारसँग बसेर खुसी हुने बेलामा आफ्नो शरीर अर्काका लागि खुला छोड्दिनुपर्ने विडम्बना छ यहाँ ।

पैसाको सपना सानै उमेरमा देख्न नहुने रहेछ । धेरै साथीहरु पैसाका कै लागि काम गर्न आएको भन्छन् । मैले पनि पैसा धेरै कमाउने सोच बनाएँ । आज त्यही होटलमा बसेको भए सायद म अर्कै काम र बाटोमा हुन्थेँ होला ।

समाजको नजर

हामी डान्सबारमा काम गर्नेहरुलाई कसैले राम्रो नजरले हेर्दैनन् । यही समाजका मान्छे पैसा तिरेर हामीसँग मजा लिन्छु भनेर आउँछन् । फेरि डान्सबारबाट निस्केपछि हामी उनीहरुकै नजरमा समाजका कलंक हुन्छौं भने उनीहरु सम्पन्न र इज्जतदार । यस्तो किन हुन्छ ? मलाई थाहा छैन ।

मलाई सुरु-सुरुमा कोठामा बस्दा निकै अप्ठेरो हुँन्थ्यो । राति अबेर कोठामा जान्थेँ । वल्लो-पल्लो कोठामा बस्नेहरुले मैले गर्ने कामबारे थाहा पाएछन् । त्यसपछि त मलाई मान्छेजस्तै नगर्ने । बरु केटा मान्छेले केही भन्थेनन्, महिलाहरुलाई नै हाम्रो चासो बढी हुने ।

घरबेटीले पनि कोही नभएको बेला पारेर अनेक कुरा भन्थ्यो । मबाट फाइदा लिने सच्थ्यो । म  बुझ्थेँ । तर, म डान्सबार बाहेक अरु सोच्दिनथेँ ।

मैले भोगेका कुरा सबै भन्न मिल्ने र सकिने खालका छैनन् । तर, म लिभिङ टुगेदरमा रहन थालेपछि भने मलाई धेरै सजिलो भएको छ । मलाई उहाँले राम्रो केयरिङ गर्नुहुन्छ । हामी लोग्ने-स्वास्नी हौं भनेपछि अरुले धेरै सोच्न पाउँदा रहनेछन् । एक्लै बस्दा भोग्नुपर्ने सबै कुरा हटेर गएको छ ।

मलाई पुलिस र पत्रकार भनेपछि सबैभन्दा बढी डर लाग्छ । किनभने पुलिसले हामीलाई कहिल्यै राम्रो नजरले हेर्दैन । हुन त हाम्रो डान्सबारमा धेरै पुलिसहरु नै गेष्ट बनेर आउँछन् ।

तर, पनि एउटा पुलिसलाई साहुले पैसा खुवाएको रहेनछ भने कुन दिन त्यतिकै आएर गाडीमा कोचेर लान्छ भन्ने थाहा हुँदैन । पत्रकार पनि पुलिसले कहिले छापा हान्ला र फोटो खिचेर हालुँला भनेर बसेका हुने रहेछन् । हाम्रो पनि इज्जत छ भन्ने उनीहरु मान्दैनन् ।

अबको बाटो

मैले अघि पनि भनिसकेँ कि म यो काम सँधै गर्न सक्दिँन । तर, अरु काम गर्न मसँग पढाइ पनि छैन । रुप र यौवन नै बेच्ने हो भने गर्ने काम यही नै हो । तर, म पनि नर्मल मान्छेजस्तो हुन चाहान्छु ।

अहिले मेरा हजबेण्ड (लिभिङ टुगेदरका साथी) दुबई जान लाग्नुभएको छ सेक्युरेटीमा । अब म पनि विदेश नै जान्छु भन्ने सोच छ । यहाँ यो काम गरेर बस्न निकै गाह्रो छ । एक्लै भएपछि त झन यहाँ टिक्नै सकिँदैन । मसँग काम गर्ने धेरै साथीहरु पनि विदेश गएका छन् । कति फसेर फर्किएका छन्, कतिको राम्रो भएको छ ।

डान्सबारमा काम गर्नेहरु धेरै विदेश नै जान्छन् । नाच्नेहरुलाई त झन कहाँ-कहाँको अफर आउँछ अरे । सँधै यही काम गर्दा भोलि परिवारले थाहा पाउँछ ।

अहिलेसम्म परिवारका अगाडि ठीक छौं, त्यसैले अब एकपटक विदेश गएर आइयो भने सबै कुरा ठीक हुन्छ । अलि-अलि पैसा भयो भने पछि आएर काम गर्न सक्छौं ।

डान्सबारमा काम गर्नेलाई त कुनै योग्यता चाँहिदैन, रुप भए हुन्छ । तर, यो रुप सँधै कहाँ हुन्छ र ?

अन्तिममा,

मैले सेयर गरेको अनुभव सबै होइन । धेरै कुरा त व्यक्त गर्न नसकिने खालका छन् । म त्यतिबेला १७ लाग्दै थिएँ । मैले त्यतिबेला भोगेका कुरा सम्झिँदा आज पनि मेरो आँखा भरिन्छन् । म त्यतिबेला आत्महत्या गर्नेबारे पनि धेरै सोच्थेँ । रातभर नसुतेर रुन्थेँ । त्यतिबेला भएका सबै कुरा म त्यसमा आफैंलाई बढी दोषी मान्छु । मैले गरेका गल्तीहरु सच्याउनै नमिल्ने खालका थिए ।

तर, पनि मान्छेले गल्तीबाटै सिक्ने रहेछ । आज  पनि म १८ वर्षको कटेकी छैन । तर, म बुझाइको हिसावले २५को भन्दा बढी भएकी छु । अब हिजोका गल्तीहरु सच्याउनुछ । डान्सबारमा काम गरिञ्जेल रक्सी र चुरोटको आदत हटाउन सकिँदैन । तर, म सँधै पिउँदिन भन्ने सोच्छु । अहिले म दिउँसो एउटा संस्थामा पनि काम गर्न थालेकी छु । अब विस्तारै ठीक हुँदै जाला ।

सानै उमेरमा गाउँबाट झरेकी मलाई काठमाडौंमा टिक्न धरै गाह्रो भयो । जानी-नजानी यस्तो काममा आइयो । अहिले बुझ्दैछु कि त्यतिबेला मेरो रुपका लागि नै सजिलै मलाई डान्सबारले लिएको रहेछ ।

( केन्द्रीय बालकल्याण समितिका लागि वृत्त अध्ययनका क्रममा गरिएको कुराकानीमा आधारित)

अन लाईनखवर बाट साभार गरीयको