कृषिमन्त्रीले क्षमा मागे

0 8

download

भीमदत्तनगर,असार १६ । कृषिमन्त्री हरिबोल गजुरेलले गमलामा धान रोपेकोमा टीकाटिप्पणी भएपछि क्षमा मागेका छन् । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले बिहीबार बिहान कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले गमलामा धान रोपेर कार्यक्रममा उदघाटन गर्नुलाई अन्यथा नलिन आग्रह गर्दै यसले किसान दाजुभाइमा कुनै समस्या परे क्षमा चाहन्छु, भनेका हुन् ।

गमलामा धान रोप्ने विषयमा पत्रकारले समाचार बनाउनुलाई पत्रकारिताको अधिकार भएको बताए ।गजुरेलले भने, ‘गमलामा पानी हालेर उदघाटन गर्नु कृषि मन्त्रालयसँग सम्बन्धित पनि हो ।’ त्यस्तै उनले पत्रकार सम्मेलनमा तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको समेत बताएका छन् ।

मन्त्री गजुरेलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न, निर्वाचन गराउन, संविधान कार्यान्वयनका साथै संवैधानिक सङ्कट आउन नदिन तत्काल दलबीच सहमति भएर राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए । ‘ढिलो भइसकेको छ,’ मन्त्री गजुरेलले भने, ‘जसको नेतृत्वमा राष्ट्रिय सरकार बने पनि तत्काल बनाउनु आवश्यक छ ।’

नेपाली काँग्रेस ठूलो दलको हैसियतले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार, वर्तमान सरकारका प्रधानमन्त्रीले पनि आफ्नै नेतृत्व र नेकपा माओवादी केन्द्रले पनि शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहज हुने भन्दै आफ्नै अध्यक्षको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार खोजी रहेको मन्त्री गजुरेलको भनाइ थियो ।