नेपाली राजनीतिमा नाङ्गो हस्तक्षेप बाहिरबाट भइराखेको छ – डा. रोकाय

नेपालको बारेमा निर्णय गर्ने अधिकार हाम्रा नेपालका राजनीतिक दलहरुले गुमाइसकेका छन् ।

0 49

Our NN Dr. Rokay

नेपालको राजनीतिमा नाङ्गो हस्तक्षेप बाहिरबाट भइराखेको छ

– डा. रोकाय

बुद्धिजीवी ब्यक्तित्वको रुपमा चिनिनु हुने डा. के. बी. रोकाय, पछिल्लो समयमा हिन्दु धर्म, राजतन्त्र र सेनाको विषयमा कुरा उठाइराख्नु राख्नु भएको छ । वर्तमान समाज र देशको अवस्थाबारेमा डा. रोकायसंग गरेको छोटो कुराकानी ः

० नेपालको वर्तमान अवस्था बारे केहि बताइदिनुस् न ?
राजनीति आफ्नो ठाउँमा भइराखेको छ । नेपालको आजसम्मको राजनीति जनता र राष्ट्रको लागि कहिले पनि भएन । यो नेता र दलहरुको कुनै एउटा आइडोलोजीको लागि अथवा विदेशीहरुको एजेण्डा कार्यान्वयन गर्नको लागि मात्रै भयो । आजभन्दा पाँच÷छ वर्ष अगाडि क्रमभंगता र रुपान्तरित भन्ने एउटा बुकलेट निकालेको थिए । त्यो किताबमा अहिले नेपालमा भएका राजनीतिक दलहरु र तिनका नेताहरुबाट अब नेपाली जनताले केही आश गर्नु हुँदैन भनेको थिए । यि दल र नेताहरुले देश र जनताको लागि कुनै पनि निर्णय गर्न सकिरहेका छैनन्, असक्षम भइसके । त्यसैले जनताहरुले यिनीहरुबाट केहि पनि आश गर्नु हुँदैन र नयाँ विकल्पको खोजी गर्नु पर्छ । नेपालको राजनीतिमा क्रमभंगता भएको छ र नेपाली जनताको सोचाई, प्रवृत्ति र संस्कारमा पनि केहि रुपान्तरण आउनु प¥यो । वि.सं.२००७ र २०४६ देखि २०५२ सालसम्म आउदा नेपालमा बहुदल आयो तर केहि पनि भएन खाली उनीहरुले व्यक्तिगत, पारिवारिक र दलीय स्वार्थ र केहि विदेशीहरुको स्वार्थ मात्रै पूरा गरे । जसले गर्दा माओवादीको १० वर्षे जनयुद्ध शुरु भयो । त्यत्रो युद्धको क्षति पछि पनि अहिले हामी बहुदलीय व्यवस्था मै छौं, केहि पनि फरक छैन् । अहिलेको बहुदल व्यवस्थामा हिजोको भन्दा दुई सय पार्टीहरु पुगेका छन्, फरक त्यति मात्रै हो । अहिलेको राजनीतिक दलहरु दलीय स्वार्थमा लागेका छन्, तर हिजोको राजनीतिमा दलीय स्वार्थ त थिएन । अहिले दलभित्र विभिन्न गुट उपगुटहरु छन् र त्यसैमा दलहरु लागिराखेका छन् । त्यही गुट उपगुटमा झगडा, लडाई पैसा र सत्ताको लागि भइराखेको छ । हरेक दलभित्रको समस्या भनेको गुट र उपगुट भित्र भएको समस्याको सन्तुलन मिलाउने काममै समय खेर गइराखेको छ । हिजोको राजनीतिभन्दा आजको राजनीतिमा विदेशी शक्तिहरु बढी हाबी भइराखेका छ । नेपालको बारेमा निर्णय गर्ने अधिकार हाम्रा नेपालका राजनीतिक दलहरुले गुमाइसकेका छन् । नेपालको राजनीतिमा नाङ्गो हस्तक्षेप बाहिरबाट भइराखेको छ भन्ने कुरा हालैकै परिस्थितिबाट पनि थाहा पायौं । अब हामीले अहिले भएका राजनीतिक नेता र दलहरुबाट आश गर्नु हुँदैन । जति छिटो यिनीहरुले हाम्रो लागि केहि पनि गर्न सक्दैनन भन्ने निश्कर्षमा नेपाली जनता पुग्दैनन, त्यति छिटो विकल्पको खोजी गर्ने तिर हामी जान्छौ । हैन केहि गर्लान कि भनेर पर्खिराख्यो भने यिनीहरुले केहि गर्दैनन् । देशलाई यिनीहरुले भिरबाट खसालीदिन्छन् । त्यो भएर सबै नेपालीहरु सचेत हुनु आवश्यक छ । किनभने देश यिनीहरुको मात्रै होइन हामी सबैको हो ।

० अहिले विवादित रुपमा देखिनुभएको छ, तपाईं एक्कासी युटन हुनुको कारण के ?

म मान्छे उही नै हो, मान्छेलाई युटन भए जस्तो लागेको मात्रै हो । मैले जहिले पनि राष्ट्रलाई पहिलो स्थानमा राख्ने गरेको छु । मेरो पहिलो प्राथमिकता राष्ट्र र जनता हो । त्यो परिवर्तन भएको छैन्, हिजो पनि त्यहि थियो आज पनि त्यहि छ । हिजोको व्यवस्थाले नेपाल राष्ट्र र जनताको लागि खासै केहि काम गर्न सकेनन् । जसले गर्दा माओवादी जनयुद्ध शुरु भएको हो । यिनीहरुले नै केहि गर्छन भनेर नेपाली जनतालाई पनि आश लाग्यो । कसैले गर्न नसकेको कुरा अब यिनीहरुले गर्छन् भन्ने भयो । देशको विकास गर्छन्, देशको स्वाभिमानलाई बढाउछन्, स्वतन्त्रता, सार्वभौमसत्ता, देशको अखण्डता, देशको एकता, राष्ट्रिय पहिचानलाई यिनीहरुले गरिमामय बनाउलान र नेपाली जनताहरु सबैको जीवनस्तर उक्सेला र सबै नेपालीहरुको न्युनतम आवश्यकताहरु पूरा होलान भन्ने हिसाबले त्यो बेला नेकपा एमाओवादीको एजेण्डालाई १० वर्ष सम्म मैले पनि समर्थन गरेको हुँ । मुलुकको लागि मैले राष्ट्र, अन्तर्राष्ट्रिस्तरमा माओवादीको पक्षमा वकालत गरे । वास्तवमा एउटा पार्टीगत, राजनीतिक हिसाबले म माओवादी थिइन । तर माओवादीको एजेण्डाबाट देश र जनताको हित हुन्छ भनेर त्यसको समर्थन गरेको हुँ । विशेष गरेर अन्तर्राष्ट्रियस्तरमा माओवादीहरुलाई चिनाउने विशेष गरी युरोप, नर्थ अमेरिकामा र पश्चिमको समर्थन माओवादीलाई जुटाउने भूमिका मैले खेलेको हो । तर आजको दिनसम्म आउदा नेपाली जनताले जुन आशा गरेका थिए, त्यो हुन सकेन । अहिले उहाँहरु पनि छिन्नभिन्न हुनुभएको छ । मेरो निश्कर्ष भनेको नेपालको राजनीति नेपालको लागि भइराखेको छैन् । त्यसकारण युटन होइन म सधैं देश र जनताको लागि सोच्ने, चिन्ता गर्ने र काम गर्ने हो ।

० तपाईं क्रिश्चिन भनेर चिनिनु हुन्छ, पछिल्लो समयमा हिन्दु धर्म, राजतन्त्र र सेनाको विषयमा कुरा उठाइराख्नु कारण के ?
धार्मिक हिसाबले म क्रिश्चियन हुँ । म क्रिश्चियन भएको ४३ वर्ष भयो । आजभन्दा झण्डै ३०÷३५ वर्ष अगाडि मैले नेपालका क्रिश्चियनहरु धर्मसम्बन्धी प्रचारप्रसार गर्नतिर मात्रै लागेका थिए, समाज र राष्ट्रको चिन्तन उनीहरुमा देखिदैन थियो । त्यो बेला मैले समाज र राष्ट्रको विकासमा हामी लाग्नु पर्छ भनेर आवाज उठाउएको थिए । र, मैले राष्ट्र पहिचानको कुरा उठाएको थिए । त्यो बेला क्रिश्चियन भएपछि मान्छेहरु परम्परागतका आफ्ना सबै कुराहरु छोड्ने, पुरानो सामाजिक घेराबाट निस्केर पूरै अलग्गै हुने गर्थे । त्यस्तो परिपाटी भएको बेला त्यही बेलै क्रिश्चियन भएपनि हामीले नेपाली पहिचान छोड्नु हुँदैन भनेर मैले कुरा उठाए । अर्को क्रिश्चियनहरु अरु धर्मावलम्बीहरुसँग घुलमिल नहुने वातावरण थियो, यो गलत हो भनेर मैले अरु धर्ममा आस्था राख्ने मान्छेहरुसँग आदर गर्नुपर्छ, उनीहरुको विश्वासलाई कदर, सम्मान गर्नुपर्छ र हामी उनीहरुसँग मिसिएर साझा सवालका विषयमा सहकार्य गर्नुपर्छ भनेर प्रमुख मुद्दा उठाएको थिए । अर्को त्यो बेला नेपालको चर्च र नेपालमा भएको क्रिश्चियनका संघ संस्थाहरु नेपाल बाहिरबाट आउनु भएका दाजुभाईहरुको हातमा थियो । नेपालका क्रिश्चियनहरुले समाज र राष्ट्रको विकासमा लाग्नुपर्ने, संलग्न हुनुपर्ने, सक्रिय योगदान दिनुपर्ने र सहभागीता हुनुपर्ने र त्यसपछि नेपाली पहिचानको बारेमा सचेत हुनुपर्ने त्यसपछि मात्रै धार्मिक सहकार्यमा लाग्नु पर्ने त्यसबेला मैले भने । यस्ता कुराहरु गर्नको लागि नेपालमा भएका चर्चहरु र क्रिश्चियन संघ संस्थाहरुको यहिकै क्रिश्चियनहरुको हातमा हुनुप¥यो भन्ने कुरा मैले उठाएको हुनाले त्यो बेलाको चर्चको नेतृत्वले यि कुरालाई बुझ्न, स्विकार गर्न सकेन । त्यहि भएर मैले चर्च छोडेर बाहिर अर्कै चर्च शुरु गरे । यस्ता कुरा मैले पहिले देखि नै बारम्बार उठाउदै आएको हो । मुख्य कुरा राष्ट्रियता, नेपाली पहिचान, नेपालको विकास, नेपाली जनताको हितसँग सम्बन्धित कुराहरु हुन् यि । मैले ३०÷३५ वर्ष अगाडि भनेका कुराहरु आजका क्रिश्चियनहरुले अहिले गर्दै हुनुहुन्छ । आजका क्रिश्चियनहरु विभिन्न विकासका गतिविधि, राजनीतिदेखि लिएर व्यापार व्यवसायमा लागेका छन् । मैले पहिल्यै भनेका सबै कुरा अहिले भएका छन् । माओवादीले धर्मनिरपेक्षताको कुरा उठाए त्यसलाई मैले शुरुमा धार्मिक स्वतन्त्रताको रुपमा बुझे । सायद धेरैले पनि त्यसरी नै बुझे होलान । त्यसकारणले मैले धर्मनिरपेक्षताको लागि सशक्त आवाज पनि उठाइन र विरोध पनि गरिन । मैले सधैं धार्मिक स्वतन्त्रता हुनुपर्छ भनेको थिए । तर संविधान घोषणा हुनुभन्दा केहि अगाडिदेखि चाहिँ म धर्मनिरपेक्षताको विरुद्धमा उभिए । किनभने मैले अध्ययन गरे धर्मनिरपेक्षताको इतिहास बारे जसले गर्दा यो चिज चाहिँ गलत रहेछ भन्ने बुझे र खुलेरै धर्मनिरपेक्षताको विरुद्धमा लागे । विभिन्न धार्मिक समुदायको अगुवाहरुलाई बोलाएर पनि धर्म निरपेक्षता भनेको यो हो, धर्मनिरपेक्षता नेपालको लागि हितमा छैन् र यसले समाजमा धेरै खालका विकृतिहरु आउछन भन्ने कुरा उहाँहरुलाई भने र सबै धर्म समुदायका व्यक्तिहरु मिलेर जाऔं संविधानमा कुनै हातलमा धर्मनिरपेक्ष शब्द हुनुहुँदैन भनेका, जोड गरेका हौं तर सफल हुन सकिएन । किनभने अरु धर्महरु जस्तो बुद्धिष्ट, मुस्लिम, क्रिश्चियनलगायतले धर्मनिरपेक्षा कत्तिको खराब छ भन्ने कुरा त्यो बेला बुझ्न सक्नु भएन तर अहिले बरु बुझ्दै हुनुहुन्छ । तर हाम्रो आवाज धर्मनिरपेक्ष विरुद्ध अहिले पनि छ । राज्य धर्मसापेक्ष नै हुनुपर्छ । समाजमा धर्मको भूमिका रहनु पर्छ । समाजलाई नैतिक मार्गदर्शन गर्नको लागि, मानवीय मूल्य र मान्यताको लागि धर्मको भूमिका रहन्छ । धर्म भित्र केहि विकृति होलान तर तिनीहरुलाई सच्याउनु पर्छ । त्यहि भएर मेरो अडान भनेको धर्मनिरपेक्षको विरुद्धमा धर्मसापेक्ष हुनुपर्छ भन्ने हो ।
० नेपालमा राजतन्त्र र हिन्दु राष्ट्रको कुरा पनि उठिराखेको छ, यस बारे के भन्न चाहनु हुन्छ ?
पहिले पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्न नेपाली सेनाको निर्माण गरे । उनी एक्लैले त नेपालको एकिकरण सम्भव थिएन र नेपाली सेना खडा गरे । त्यो बेलाका राजा र सेना दुबैको हिन्दु धर्मसँग सम्बन्ध थियो र सेनाको पहिचान नै हिन्दु धर्मसँग जोडिएको छ । यसरी नेपालको शाह वंशीय राजतन्त्र, नेपाली सेना र हिन्दु धर्मले नेपालको पहिचान दिने भएको हुनाले नेपालको पहिचान राख्नको लागि यि तीनवटा चिजहरु हामीले छोड्नु हुँदैन । कुनै न कुनै रुपमा यि तीन कुरालाई हामीले जोगाइराख्नु पर्ने रहेछ । यि कुराहरुलाई हटाइदिने बित्तिकै नेपाल देश, नेपाल रहदैन, नेपालको पहिचान रहदैन र नेपाल चिन्न नसक्ने बन्छ । अहिले यि तीन मध्ये दुईटा हटाइसकिएको छ तर त्यो पुरै मरिसकेको भने छैन । किनभने अहिले पनि तिनलाई मान्ने जनता त्यति नै संख्यामा छन् । अहिले हिन्दु धर्म र राजतन्त्र निश्क्रिय छ भने नेपाली सेना सक्रिय रहेको अवस्था छ । अब नेपाललाई पूर्ण पहिचान दिनको लागि यि दुईवटालाई पनि सक्रिय अवस्थामा ल्याउनु पर्छ । मैले राजा, हिन्दु धर्म, सेनाको पक्षमा बोलेको होइन तर यि तीनवटालाई फाल्नु भनेको नेपाल फाले सरह हो । जनयुद्धको बेलामा मैले माओवादीलाई समर्थन गरेकाले सेनाले हिजो मलाई मार्न पनि खोजेको थियो, जुन त्यो बेला स्वभाविकै थियो । हुनत म हरेक प्रकारबाट यि तीनवटाको विरोधी हुनुपर्ने हो नि । त्यसबेला माओवादीलाई आतंककारी घोषणा गरिएको थियो । उनीहरुलाई समर्थन गर्ने म पनि त्यो बेला आतंकारी नै हुन्थे । तर म आजको दिनसम्म कुनै राजनीतिक पार्टीको सदस्य भएको छैन । म देशभक्त भएको हुनाले मेरो चासो राष्ट्रको लागि अर्थात नेपाल र नेपाली जनताको लागि शिरोपर रहने हुनाले नेपाल रहनको लागि, नेपालको विशिष्ट पहिचान रहनको लागि र नेपाल नेपालकै अवस्थामा रहनको लागि यि तिनवटा कुरा हामीलाई चाहिन्छ भन्ने कुरा सबै नेपालीले बुझ्नु पर्छ । नेपालको पहिचानको लागि के कुरा चाहिन्छ भन्ने कुरा हामीले सोच्नु प¥यो ।
० के राजतन्त्र र हिन्दु राष्ट्र हुन सम्भव होला र ?
सम्भव भनेको हाम्रो हातको कुरा भयो । हामीलाई यो राष्ट्र चाहिन्छ कि चाहिदैन ? जतासुकै जाओस, जेसुकै होस, विदेशीले लिए पनि लिइयोस अथवा कुनै विदेश आएर यहाँ शासन गरोस् भन्ने हो कि हामीलाई राष्ट्र चाहिन्छ कि चाहिदैन भन्ने प्रश्न हो । नेपाल चाहन्छौ कि चाहदैनौ, नेपाली भएर बाच्नु छ कि छैन, हाम्रो छोराछोरी भोली नेपाली भएर बाचुन भन्ने हामी चाहन्छौं कि चाहदैनौं, प्रश्न त त्यो हो । नेपालको विशिष्ट पहिचान नेपालमा कायम हुनुपर्छ र भोलीका हाम्रा सन्ततीहरु पनि नेपाली भएर बाचुन भन्ने हो भने धर्मसापेक्ष हुनुपर्छ । किनभने राष्ट्रिय पहिचानले सबैलाई एक बनाउने हो । त्यसैले त्यो पहिचान हटाउने वित्तिकै यहाँ राष्ट्र पहिचान केहि पनि हुँदैन । एकताको सूत्रमा के ले बाधेर राख्ने मैले भनेका ति तीनवटा कुराहरु नहुने बित्तिकै यहाँ केहि पनि रहदैन । कुनैपनि राजनीतिक दल, नेताले हामीलाई एकताको सुत्रमा बाध्न सक्दैन ।
० देशमा मधेश आन्दोलन जस्ता अनेक किसिमका आन्दोलनहरु भइराखेका छन्, देश विखण्डनतिर जान लागेको हो ?
राष्ट्रिय पहिचान नहुने वित्तिकै हामी राष्ट्रको बारेमा सोच्न छोड्छौ । राजसंस्था अहिले पनि रहेको भए तराईको मुद्दा अहिले जसरी आइराखेको छ त्यसरी आउदैन थियो भन्ने मलाई लाग्छ । त्यसले देशलाई विखण्डत तिर लान्छ, देशलाई टुक्राटुक्रा बनाउछ र हामी एकआपसमा लडाई गरेर बस्ने अवस्था आउछ । तराईको कुरा मात्रै होइन भोली अरु धेरै कुराहरु पनि आउछन् । हाम्रो राष्ट्रि पहिचान के मा छ भन्ने कुरा यहाँका जनताहरु, बुद्धिजीवि, नेता, दल, संचारक्षेत्रलगायतसँग छलफल, बहस नै भएन । हामीले आफ्नो आफ्नो अधिकारको कुराहरु मात्रै ग¥यौ । संविधान बन्यो तर त्यो अझै पनि सबैलाई स्वीकार्य भएको छैन् । यहाँ कुनै कुरा पनि असम्भव छैन तर हामी नेपालीहरुमा राष्ट्रको बारेमा चिन्ता देखिदैन । देशमा धर्मनिरपेक्षताका कुरा नेता, दलहरुले नबुझिकन ल्याए ।

You might also like More from author