असफल हुँदैछ बुढीगण्डकी, देवकोटाका कारण आयोजना समस्यामा

June 24 2016 01:35

काठमाडौं,असार १० । सरकारले प्राथमिकतामा राखेको बुढीगण्डकी जलविद्युत् आयोजना त्यसका अध्यक्ष लक्ष्मी देवकोटाका कारण नराम्ररी समस्यामा फसेको छ । देवकोटाका कारण बुढीगण्डकी जलविद्युत् आयोजनाको करिब तीन करोड बजेट फ्रिज हुने अवस्थामा पुगेको छ । देवकोटा जसरी भएपनि आयोजनालाई असफल बनाउने योजनामा लागेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ – आयोजनालाई असफल बनाउने र डा बाबुराम भट्टराईको योजना सफल बनाउने ध्याउन्नमा उनी लागेको बताइन्छ । देवकोटा पछिल्लो समय उपप्रधानमनत्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीको निर्देशन समेत अस्वीकार गर्दै आएका छन् ।

मन्त्री रायमाझीले पटक पटक राजीनामा दिन आग्रह गरेपनि अटेर गरेर बसेका छन् । उनकै कारण आयोजना समस्यामा परेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । देवकोटा मात्रै होइन आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेत समेत आयोजना बन्न नदिने पक्षमा रहेका छन् ।

प्राप्त भएको बजेट समेत फ्रिज गराउने र आयोजनालाई असफल बनाउने धन्दामा देवकोटा, बस्नेत मात्रै होइन अन्य केही व्यक्ति समेत लागेका छन् । पछिल्लो समय आफूलाई नयाँ शक्तिको नेता बताउँदै आएका छन् ।
आयोजनालाई कसरी अगाडि बढाउने भन्दा पनि बिगार्ने नै बढ्ता देखिएका छन् । आयोजना असफल हुँदा देवकोटा र बस्नेतलाई फाइदा होला तर मुलुकलाई भने घाटा हुने छ । एक हजार २०० सय मेगावाट क्षमताको सो आयोजनाको सबै तयारी पूरा भएको छ । मुआब्जा वितरणको प्रक्रिया सुरु भएको छ ।

यस पटक नै परियोजना प्रभावितलाई मुआब्जा वितरण गर्ने तयारी गरिएको भएपनि देवकोटाकै कारण असफल भएको आयोजना प्रभावित क्षेत्रका नागरिकले बताएका छन् । उनीहरुका अनुसार गोर्खालीको नाममा देवकोटाले नराम्ररी ठगेका छन् ।

गोरखालीको नाममा गोरखाली जनतालाई काखमा राखेर छुरी रेट्ने काम देवकोटाले गरेको भन्दै आलोचना भएको छ । आयोजनालाई जुनसकै हालतमा अगाडि बढाउनुपर्नेमा प्राप्त भएको बजेट समेत फ्रिज गराउनेहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्नुपर्ने आवाज उठेको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top