राजदूतहरुको सुनुवाइ सुरु गर्ने तयारी

0 5

काठमाडौं ६ । संसदीय सुनुवाइ समितिले सभापतिको चयन लगतै प्रस्तावित न्यायाधीश र राजदूतहरुको सुनुवाइ सुरु गर्ने तयारी गरेको छ ।

व्यवस्थापिका संसदले संसद नियमावली पास गर्दै १५ सदस्यीय समिति बनाएको थियो । उक्त समिति गठन भएको भोलिपल्टै सोमाबार समितिको पहिलो बैठक बसेको छ ।

जेष्ठ सदस्य कुलबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले कार्यविधिबारे प्रस्ताव बनाउन तीन सदस्यीय कार्यदल बनाएको छ ।

प्रमूख दलहरुबीच कांग्रेस सांसद गुरुङलाई नै सभापति बनाउने समझदारी भइसकेको स्रोतको दाबी छ ।

सभापति चयन लगतै प्रस्तावित व्यक्तिहरुको सुनुवाइ सुरु गर्ने समिति सदस्य एवं एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी गराउनु भयो ।

जेष्ठ सदस्यको हैसियतमा उक्त समितिको अध्यक्षता गरेका गुरुङले भने कसकसको सिफारिस आएको सचिवालयले औपचारिक जानकारी गराउन बाँकी रहेको भन्दै समितिमा छलफल गरेर प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश सुशीला कार्कीको सुनुवाइ हुन बाँकी छ । यस्तै सर्वोच्चका ११ न्यायाधीश र २१ देशका राजदूतको पनि सुनुवाइ हुन सकेको छैन ।