नेपाल छिमेकी मुलुकहरूको सुरक्षा संवेदनशीलताप्रति सचेत र गम्भीर – उपराष्ट्रपति पुन

विश्वका विभिन्न क्षेत्रलाई रेल, समुद्र र जमिनका माध्यमबाट आपसमा जोडेर आर्थिक तथा सामाजिक प्रगति हासिल गर्ने

0 9

उपराष्ट्रपतिद्वारा ‘वान रोड वान बेल्ट’ अवधारणा समर्थन

चिनियाँ उपप्रधानमन्त्री वाङ युनान प्रान्तको राजधानी कुन्मिङमा उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गर्दै।
उपराष्ट्रपति पुन चौथो चीन दक्षिणएसिया प्रदर्शनीमा भाग लिन कुन्मिङ पुगेका हुन्। सिन्ह्वा/ रासस
काठमाडौं: चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ नेतृत्वले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको पूर्ण समर्थन रहेको प्रतिबद्धता जनाएका छन्।
दक्षिणी चिनियाँ प्रान्त कुन्मिङमा आइतबार सुरु भएको साताव्यापी चौथो ‘चाइना-साउथ एसिया एक्स्पो’ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले २४ औं चीन-कुन्मिङ आयात निर्यात व्यापार मेला’ को उद्घाटन समारोहमा भने, ‘चिनियाँ राष्ट्रपतिले परिकल्पना गर्नुभएको वान बेल्ट वान रोड अभियानलाई पूर्ण सहयोग गर्ने नेपालको प्रतिबद्धता छ।
अबको दिनमा प्राचीन रेशम मार्ग आधुनिक स्वरूपमा पुनर्जीवित भएर पारस्परिक हितका अवसर वृद्धि भई नेपाल र चीनमात्र होइन, समस्त क्षेत्रीय विकासमा योगदान पुग्ने अपेक्षा गरेका छौं।’ सन् २०१३ मा चिनियाँ राष्ट्रपतिले अघि सारेको ‘वान रोड वान बेल्ट’ अवधारणामा सहभागी हुन नेपालले दुई वर्षअघि चीनसँग औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ।
एसिया, युरोप, अफ्रिकालगायत विश्वका विभिन्न क्षेत्रलाई रेल, समुद्र र जमिनका माध्यमबाट आपसमा जोडेर आर्थिक तथा सामाजिक प्रगति हासिल गर्ने उक्त अवधारणाको मुख्य उद्देश्य छ। प्रधानमन्त्री केपी ओलीको हालै सम्पन्न चीन भ्रमणमा समेत नेपाल र चीनले उक्त अवधारणाअन्तर्गत रही पूर्वाधार विकास तथा विकास योजना कार्यान्वयनमा सहकार्य गर्ने सहमति जनाएका थिए।
उपराष्ट्रपति पुनले सोही अवधारणाको समर्थन गरेका हुन्। नेपाल चीनको अग्रसरतामा स्थापति एसियाली पूर्वाधार लगानी बैंकको संस्थापक सदस्य तथा सांघाई कोअपरेसन अर्गानाइजेसनमा ‘डायलग पाटर्नर’ का रूपमा प्रवेश गरेको बताउँदै पुनले नेपाल छिमेकी मुलुकहरूको सुरक्षा संवेदनशीलताप्रति सचेत र गम्भीर रहेको बताए। ‘चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको नेपाल सरकारले आफ्नो मुलुक छिमेकी मुलुकविरुद्ध गतिविधि गर्न कसैलाई छूट दिन सक्दैन’, उनले भने।
नेपाल र चीनबीचका सम्बन्ध अद्वितीय र बहुआयामिक रहेको बताउँदै उनले दुई देशबीचको सम्बन्ध नङ र मासुको जस्तै बन्दैछ भन्दा फरक नपर्ने बताए। ‘यो सम्बन्धलाई नेपाल अझै उचाइमा पुर्याउन चाहन्छ। मलाई विश्वास छ, चीन पनि त्यही चाहन्छ’, उनले भने।
गणतन्त्र प्राप्तिपछिको नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहालबाट सुरु औपचारिक चीन भ्रमण र सम्बन्ध विस्तारका क्रममा भएका समझदारी विकास हुँदै हाम्रा प्रधानमन्त्री केपी ओलीले केही महिनाअघि गरेको चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गरेको उनले बताए।
‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा दुई देशबीच भएका सम्झौता कार्यान्वयनको चरणमा नेपाल छ’, उनले भने। नेपालबाट राष्ट्रप्रमुख र सरकारप्रमुखको चीन भ्रमण भइरहे पनि चीनबाट राष्ट्र प्रमुखको भ्रमण नभएको धेरै वर्ष भइसकेकाले नेपाली जनता चीनबाट राष्ट्रप्रमुखको छिट्टै नेपाल भ्रमण हुनेमा विश्वस्त रहेको र चिनियाँ राष्ट्रप्रमुखलाई स्वागतका लागि आतुर रहेको उनले बताएका थिए।
चौथो कुन्मिङ एक्स्पो तथा चौबीसौं आयात निर्यात वस्तु व्यापार मेलाले चीन, समग्र एसिया क्षेत्रको साझा चुनौती र अवसरलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने प्रयास गरेको उनले बताए। ‘आजको युगमा कुनै पनि मुलुकले आफ्नो एक्लो प्रयासबाट मात्रै समृद्धिको लक्ष्य प्राप्त गर्न सक्दैन।
नेपाल आफ्नो समृद्धि, छिमेकी मुलुकहरूको समृद्धि र समग्र एसिया क्षेत्रकै समृद्धिका लागि यस क्षेत्रका सबै मित्र राष्ट्रसँग सहकार्य चाहन्छ। एसियाको उन्नति र समृद्धिका लागि पूर्वाधार र ऊर्जा विकासमा यस क्षेत्रका देशहरूबीच बहुपक्षीय सहकार्यको प्रचुर सम्भावना छ’, उनले भने।
कुन्मिङमै आयोजित ‘चीन-दक्षिण एसिया बिजनेस फोरम’ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले भने, ‘नेपालका प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्दा दुई देशबीच भएका ऐतिहासिक पारवहन सम्झौता द्विपक्षीय विकास मात्रै होइन, द्विपक्षीय सम्बन्धमा समेत ठूलो फड्को हो।
नेपाल अहिले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सम्झौताहरूको कार्यान्वयनको चरणमा छ।’ उपराष्ट्रपति पुनले चिनियाँ उपप्रधानमन्त्री वाङ याङसँग आइतबारै भेटवार्ता गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। भेटमा वाङले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिए।