तारे होटलमा बसेर होमेस्टेको खर्च

0 29

homestay-660x330 

काठमाडौं,जेठ २१ । प्राय: चहलपहल देखिने पर्यटन मन्त्रालय बिहीबार साढे १ बजे नै सुनसान भयो । पर्यटनमन्त्रीदेखि सचिव, सहसचिव र उपसचिवका कार्यकक्षमध्ये कतिपयका ढोकामा ताला थियो भने केहीमा चुकुल मात्र लागेको थियो । कतिपय कोठाका ढोका खुलै भए पनि कार्यकक्षमा कर्मचारी थिएनन् । केही अधिकृत र तल्लो तहका कर्मचारी भने कार्यालयमा थिए । करिब सवा दुई बजे प्राविधिकतर्फका एक उपसचिव र एक शाखा अधिकृत मन्त्रालयको गेटमा भेटिए । भेटिनासाथ उनीहरूमध्ये एकले ठट्यौली पारामा भने, ‘मन्त्रालयमा कोही छैन भन्ठान्नुभएको होला, अड्डा सम्हाल्न हामी बसेका छौँ ।’ उनीहरू खाजा खाएर फर्किएका थिए । पर्यटन मन्त्रालय र सार्क सचिवालयको संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने सार्कस्तरीय ग्रामीण पर्यटन कार्यशालामा भाग लिन उच्चपदस्थ कर्मचारी ललितपुरको गोदावरीस्थित एक तारे होटेलतिर लागेपछि मन्त्रालय रित्तिएको हो । मन्त्रालयका मात्र होइन, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत निकायका उच्चपदस्थ अधिकारीसमेत आवासीय कार्यशालाका लागि गोदावरी पुगेका छन् ।

को–को सहभागी छन् सेमिनारमा

सार्क मुलुकबाट दुई–दुईजना प्रतिनिधि सहभागी आवासीय सेमिनारमा धेरै प्रतिनिधि पर्यटन मन्त्रालय र मातहत निकायका छन् । मन्त्रालयसहित पर्यटन विभाग, पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी सेमिनारमा सहभागी छन् । यसबाहेक होटेल संघ नेपाल (हान), ट्ेरकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), होस्मेट एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज्लगायत पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि सहभागी छन् ।

छलफल त गरियो, तर देखाउने केही छैन : भीम केसी, अध्यक्ष होमस्टे एसोसिएसन

नेपाली ग्रामीण पर्यटन प्रवद्र्धनका हिसाबले यसप्रकारका कार्यक्रम आयोजना हुनु सकारात्मक पक्ष हो । तर, यो कार्यक्रम स्तरीय होटेलमा भन्दा ग्रामीण भेगमै गर्दा बढी प्रभावकारी हुन्थ्यो । हामीले संघको तर्फबाट उपत्यकाबाहिरकै होमस्टेमा कार्यशाला आयोजना गर्न माग गरेका थियौँ । यसबाट विदेशी पाहुनालाई नेपालमा ग्रामीण पर्यटनको अभ्यास प्रत्यक्ष देखाउन सकिन्थ्यो । त्यसो त हुन सकेन नै, कार्यशालामा नेपालका उत्कृष्ट होमस्टेका प्रतिनिधिको सहभागिता पनि कम रह्यो । यसले कार्यक्रम केही खल्लो बनाएको छ ।

होमस्टेमा गर्ने कार्यक्रम होटेलमा सारियो
मन्त्रालय स्रोतका अनुसार ग्रामीण पर्यटनसँग सम्बन्धित भएकाले कार्यक्रम उपत्यकाबाहिरका होमस्टेमा गर्ने तयारी थियो । त्यसका लागि दुई सदस्यीय समिति बनाएर अध्ययन थालिएको थियो । समितिले लमजुङको घलेगाउँ, नवलपरासीको अमलटारी र बर्दियाको डल्ला होमस्टेमध्ये एक स्थानमा कार्यशाला गर्न उपयुक्त हुने प्रतिवेदन बुझाएको थियो । पछि मन्त्रालयले वर्षालाई कारण बनाएर तारे होटेलमा कार्यशाला गर्ने निर्णय गरेको हो ।

दुईदिने कार्यक्रम, ३७ लाख बजेट

सरकारी कर्मचारीसहितका पाहुनाका लागि बिहीबार होटेलमै बास बस्ने व्यवस्था मिलाइएको छ । शुक्रबार मात्र नगरकोटस्थित बास्तोला होमस्टे भ्रमण गराउने कार्यक्रम तय गरिएको छ । मन्त्रालय स्रोतका अनुसार कार्याशालाका लागि करिब ३७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । त्यसमध्ये पर्यटन मन्त्रालयले १० लाख रुपैयाँ व्यहोर्नेछ । बाँकी बजेट भने सार्क सचिवालयको हो । आजको नयाँ पत्रिका दैनिकमा अच्युत पुरीले समाचार लेख्नु भएको छ ।