नेपालको पानीजहाज: गाईको कल्चौँडो, भैंसीको थुन !

May 25 2016 06:03

भनिन्छ, पृथ्वीमा दुई भाग पानी र एक भाग मात्र जमिन छ तर ठ्याक्कै भन्ने हो भने पृथ्वी ७१ प्रतिशत पानी र २९ प्रतिशत जमिनले ढाकिएको छ । सर्वविदितै छ, संसारका दुई सय चानचुन राष्ट्रमध्ये समुद्र नछुने भूपरिवेष्ठित देश दुई दर्जनजति छन् र तीमध्ये नेपाल एक हो । भर्खरै हाम्रा प्रधानमन्त्री खड्गप्रसाद ओलीले पत्यार नलाग्ने उनको सपना सार्वजनिक रूपमा सुनाए, अब मेरो देशले पनि खुला समुद्रमा नेपालको झन्डा फहराउँदै आफ्नै पानीजहाज चलाएर सामान निकासी र पैठारी मात्र होइन, यात्रुहरू ओसारपसार गर्छ ! नयाँ बजेटमा रकम छुट्ट्याएर आवश्यक काम अगाडि बढाउँछु ।

ओलीले यति के बोलेका थिए, उनलाई हास्यका पात्रको रूपमा चित्रित गर्न थालियो । समाचार, लेख, व्यंग्यचित्र, अन्तर्वार्ता, भाषण मात्र होइन, सहरबजार र गाउँका चियापसलमा हसिमजाक उत्पादन हुन थाल्यो । टीभी शृंखलादेखि रेडियोसम्ममा क्यारिकेचर सुरु भए । फेसबुके र ट्विटेहरूले उडाउनुसम्मका भनाइ र तस्बिर तथा कार्टुन—स्केचहरू पोस्ट गरि नै रहेका छन् । बाल्टिन, थाल, कचौरा र डिक्चीमा पानी भरेर कागजका डुंगाहरू चलाएर पनि देखाइँदै छ ।

स्कुल–कलेजमा पढाउने शिक्षक–प्राध्यापकहरूले पनि हावादारी कुराको उदाहरण दिनुपर्‌यो भने ओलीको खुला समुद्रमा जहाज चलाउने योजनालाई चर्चा गर्न थालेका छन् । विपक्षी राजनीतिक दलहरूमात्र होइन, स्वयं ओली अध्यक्ष रहेको एमालेभित्र पनि तीखो व्यंग्य गर्दै तुस पोख्न बाँकी राखिएको छैन । किन सबै ओलीमाथि यसरी खनिइरहेका होलान् ? बीएल पढ्दा अन्तर्राष्ट्रिय समुद्री कानुन पढेको आफैँलाई आश्चर्य लाग्यो किनभने प्रशान्तदेखि आन्ध्र, हिन्द, भूमध्य आदि महासागरमा सबै देशको हक लाग्छ र यसको सदुपयोग हरेक देशले गर्न पाउने अन्तर्राष्ट्रिय समुद्री कानुन नै छ ।

तटीय राष्ट्रहरूसँग जोडिएका निश्चित क्षेत्रबाहेक समुद्रमा कसैको एकलौटी हक छैन, सबै देशको समान हक स्थापित छ । अनि हिन्द महासागरको पनि बंगालको खाडी हुँदै पानीजहाजबाट सामान ल्याई पठाइरहेको नेपाललाई चीनसँग भर्खरै ऐतिहासिक पारवहन सन्धि गरेर नेपाललाई निर्वाध प्रशान्त महासागरसम्म पुर्‌याउन सकेका ओलीले विदेशबाट सामान ल्याउँदा होस् वा नेपालबाट सामान निकासी गर्दा आफ्नै जहाजमा प्रयोग गर्ने योजना बनाउनु न पागलपन हो न त बचकना गतिविधि ! तर नेपालभित्रै यस्तो योजनालाई किन हावादारी सावित गर्न खोजिएको होला ?

दस कारण

ओलीको धुवाँधार विरोध गरिरहेका आलोचकहरूको दिमागको समाजशास्त्रीय खोजी गर्न समाज÷मानवशास्त्र पढाइ हुने त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर र त्रिचन्द्र क्याम्पस पुगेर प्राध्यपकहरूसँग यही सवाल राखेँ । उनीहरूले भने, यसका दस कारण छन् र त्यसका जरा गहिरोसँग यो भूमिमा गाडिएका छन् ।

नेपाली समाजको स्वभावः नेपाली समाज कृतघ्न, स्वार्थी, ढोंगी, ईष्र्यालु, कपटी छ । यो भीडतन्त्रको पछाडि दौडिरहन्छ । हाम्रो समाजमा आजमात्र होइन, पहिलेदेखि नवीन, सकारात्मक र कल्पनाशील कुराको आलोचना, विरोध र खिसिट्युरी हदैसम्म हुने गथ्र्यो । स्वप्नदर्शी र नवीन कुरा हाम्रो समाजले हतपत स्विकार्दैन ।

अन्धसमर्थन-धुवाँधार विरोधः हाम्रो समाजमा कुनै पनि कुराको कि अन्धसमर्थन कि त त्यसको धुवाँधार विरोध हुन्छ । यहाँका बुद्धिजीवी, पत्रकार, इन्जिनियर, डाक्टर, राजनीतिज्ञ, व्यापारीको साझा प्रवृत्ति नै यही हो । भन्नलाई बुद्धिजीवीहरू वस्तुनिष्ठ, गुण—दोषका आधारमा समर्थन वा विरोध गर्छौं भन्छन्, तर हरेक कि अन्धसमर्थन कि अन्धविरोधमा गएर नारायण हरि बन्छन् ।

रणनीतिक छैनः नेपाली समाज रणनीतिक छैन । यो मूढे, परपीडक, तत्काललाई मात्र हेर्ने र जबर्जस्त छ । आक्रामक छ । नेपालीको बहादुरी जो संसारभर चर्चित छ, त्यो रणनीतिक होइन, आक्रामकको कारणले स्थापित मान्यता हो । नेपाली समाजलाई अगाडि लैजाने र नियन्त्रण गर्ने तत्त्व नै आक्रामकता हो । जंगबहादुरले कोतपर्वमा होस् कि त्यसपछि आक्रामकताले नै आफ्नो वर्चस्व कायम गरे । त्यसैगरी माओवादी जनयुद्धमा पनि प्रचण्डले त्यही आक्रामकतालाई पहिल्याएका मात्र होइनन् कि जनयुद्ध रोक्न पनि उनले त्यसैलाई उपयोग गरे ।

नवीन मान्यता स्थापना हुन समय लाग्छः नेपाली समाज यस्तो परम्परागत र रुढि छ, जो नवीन मान्यता स्विकार्दै स्विकार्दैन । हिजो राणाविरुद्ध आन्दोलन सुरु गर्दा टंकप्रसाद, बीपी, पुष्पलाललाई दुस्साहसी भनियो । राजाको पञ्चायती निरंकुशताविरुद्ध उठ्न सकिँदैन भनियो । माओवादीले गणतन्त्रका त के कुरा, संविधानसभाको माग गर्दासमेत आजका कांग्रेस, एमालेका नेताहरूसम्मले यो हुँदै हुँदैन भन्थे ।

अहिले उनीहरू नै संघीय लोकतान्त्रिक गणतन्त्रका वाहक बनेका छन् । आफ्नो रूपान्तर कसरी भइरहेछ, नेपाली समाजले त्यसको हेक्का कहिल्यै राखेको देखिँदैन । खासमा नेपाली समाजमा नयाँ कुरा स्थापित गराउने पाँच मौलिक चरण छन्, जो विश्वमा कतै पाइँदैन—पहिलो, उडाउने । दोस्रो, खिसीट्युरी र आलोचना गर्ने । तेस्रो, इग्नोर (बेवास्ता) गर्ने । चौथो, काम भएको देखेपछि भने स्विकार्न थाल्ने र, पाँचौँ, त्यसपछि लम्पसार परेर रेस्पेक्ट (सम्मान) गर्न थाल्ने ।
ओलीले विदेशबाट सामान ल्याउँदा होस् वा नेपालबाट सामान निकासी गर्दा आफ्नै जहाजमा प्रयोग गर्ने योजना बनाउनु न पागलपन हो न त बचकना गतिविधि ! तर नेपालभित्रै यस्तो योजनालाई किन हावादारी सावित गर्न खोजिएको होला ?

अस्वीकार्य संस्कृतिः नेपाली समाजको साह्रै सानो तप्का मात्र मौलिक—नवीन खोजी, अन्वेषण गरिरहेको र त्यसैलाई स्थापित गराउन लागिरहेको हुन्छ । त्यसैको प्रभाव सामाजिक सञ्जाल, आमसञ्चार, स्वनामधन्य बुद्धिजीवी, फेसबुके र ट्वीटेहरूले प्रयोग गरेको पाइन्छ । यिनैले आलोचना र विषयलाई व्यापक पारिरहेका हुन्छन् । कस्तो अचम्म लाग्छ भने जब तपाईंले लेख्ने लेखबाट वास्तविकता थाहा हुन्छ अनि ज्यामितीय रूपमा यही लेखको प्रचार भाइरल बनेर हुन थाल्छ ।

गाईको कल्चौँडो, भैंसीको थुनः नेपाली मनोग्रन्थी गाईको कल्चौँडो र भैंसीको थुन स्वभावको छ । घाँस, पिठो नदिउन्जेल पग्रँदै नपग्रने । दूध लुकाउने र नपग्रिने ग्रन्थिलाई पगार्न पिठो र हरियो घाँसले चमत्कार गराएजस्तै नेपाली मनोग्रन्थि पगार्न पनि टाट्नामा केही हाल्ने चलन राणाकालदेखिकै हो । ईष्र्या, आवेग, कुण्ठा, भय, राग-द्वेष उत्पादन गर्ने नेपाली मनोग्रन्थिले सुरुमा नवीन कार्यक्रमको विरोध अहिले आएर मात्र गरेको होइन, यसका ऐतिहासिक—साँस्कृतिक पाटाहरू छन् ।

यहीँनेर अचम्म लाग्ने अपवाद पनि छ, जसलाई धेरैले अनुभूतसम्म गरेका छैनन् । त्यो के भने नेपाली मनोग्रन्थिले ज्योतिष, महात्मा, धामीझाँक्री र गुभाजुका कुरा दायाँबायाँ नहेरी स्वीकार गर्छ तर लेखक, पत्रकार, कर्मचारी, कार्यकारी, राजनीतिज्ञका मनोग्रन्थिले नवीन कुरालाई भने पहिला अस्वीकार गर्छ ।

माछा देख्दा दुलामा हातः प्रायः नेता, दल, अगुवा वा पार्टीका शीर्षनेतामा राम्रा कुरा र काम गर्ने म मात्र हुँ भन्ने अहम् प्रचुर (खासमा हीन भावना) रहेको हुन्छ । त्यसले गर्दा उनीहरू माछा देख्दा दुलामा हात, सर्प देख्दा दुलाबाहिर हात गर्न लागिरहन्छन् । कांग्रेसका शेरबहादुर, माओवादीका प्रचण्ड, एमालेका झलनाथ—माधव, नयाँ शक्तिका बाबुराम, मधेसीका उपेन्द्र-महन्त ठाकुरहरू अरूले गरेको राम्रो कुरा÷कामको खुलेर स्वागत—प्रशंसा गर्न सक्दैनन् ।

सक्ने भएको भए प्रधानमन्त्री ओलीले खुला समुद्रमा नेपालले जहाज चलाउनुपर्छ भन्दा किन प्रशंसा गर्न नसकेका ? ओली होऊन् वा अरू कसैले राष्ट्रिय झन्डा राखेर स्वाधीन भूपरिवष्ठित नेपालले समुद्रमा जहाज चलाएर आफ्नो सामान आफ्नै जहाजबाट आयात—निर्यात गर्छु भन्दा स्वागत गर्न किन नसकेका ? त्यस्तै बुद्धिजीवीले पनि काल्पनिक स्वप्नद्रष्टा भनेर किन उडाइहाल्नुपरेको होला ?

युवाका कुरा बूढाले भनेः बाल, युवा, महिला, ज्येष्ठ नागरिकले आआफ्नो उमेर समूहको प्रतिनिधित्व गर्ने गर्छन् । त्यस्तै विचार, योजना, कार्यक्रम र सपना पनि उमेर समूहले निर्धारण गर्नुपर्ने हो कि ? भनौँ न, रवीन्द्र अधिकारीले समृद्ध नेपाल भन्ने पुस्तक लेखे । त्यसैगरी घनश्याम, योगेश, विष्णु रिमाल, विप्लव, चन्द्र भण्डारी, वर्षामान, रेखा शर्मा, गगन थापा, गुरु घिमिरे अथवा पशुपति क्याम्पस चाबहिलका पूर्व स्ववियु सभापति सन्तोष पाण्डे जस्ता जाज्वल्य युवाले रेलमार्ग, ट्राम वा मेट्रो, जल÷हावाबाट विद्युत् उत्पादन, पेट्रोल-ग्यासका खानी खोतल्ने, समुद्रमा नेपाली झन्डावाल जहाज चलाउने कुरा उठाएको भए यसको प्रभाव अर्कै पर्ने थियो । तर यी कुरा युवाको सपना भए पनि देखे चैँ ६५ वर्षीय केपी ओलीले । के त्यसैले यसको विरोध भएको हो ? खै यी युवाले हाम्रो सपना भन्दियौ भनेर किन सम्मान नगरेका ?

कलेजो नभएको कर्मचारीतन्त्र: हाम्रो देशको ब्युरोक्रेसी कति अल्छी, बेकम्मा, नालायक र नकारात्मक छ कि जति आलोचना गरे पनि पुग्दैन । कर्मचारीसँग असीमित कार्यकारी अधिकार छ, २० वर्ष काम गरेपछि बाँकी ६० वर्षसम्म गरिब जनताले तिरेको तिरो मासेर पेन्सन दिने कानुनै छ, तर यी कर्मचारीलाई अझै पुगेको छैन र अन्ठाउन्नबर्से जागिरलाई साठीबर्से बनाउन कन्दनी कसेर लागेका छन् । राजनीतिज्ञलाई असफल, भ्रष्ट र बेकम्मा बनाउन उद्यत् छन् ।

भूकम्पपीडितलाई वर्ष नाघिसक्दा पनि राहत वितरण नगरेर नवीन कार्यक्रम सफल हुन नदिन उद्यत् छन् । यिनले समृद्ध मुलुक बन्न देलान् भन्ने कल्पना कसरी गर्नु खै ?

प्रभावकारी तर कमजोर नागरिक समाजः भनाइ नै छ, नागरिक समाज प्रभावकारी हुन्छ, तर शक्तिशाली हुँदैन । नागरिक समाज स्वतः प्रतिपक्ष हो । नागरिक समाज सधैँ जनतालाई दैनन्दिनीय रूपमा प्रभाव पारिरहेका कुरामा केन्द्रित हुन्छ । तर कस्तो आँधो हुनेरहेछ भने जुन पार्टीले आपूर्ति मन्त्रालय कब्जामा ओगट्दै कालोबजारी, तस्कर, माफियासँग मिलेर कमाउ गरिरहेको हुन्छ, त्यसलाई ताकेर होइन, सरकारले यो गर्‌यो त्यो गर्‌यो भनेर विषयलाई सामान्यीकरण बनाउँदै भुत्ते बनाइरहन्छ । संसदीय शासनमा बहुमत प्राप्त नभई प्रधानमन्त्री बन्न सम्भव छैन ।

त्यसैले प्रधानमन्त्री सर्वेसर्वा हुन्छ भनिन्छ । प्रधानमन्त्रीकै मन्त्रिपरिषद् हो पनि तर नेपालमा संसदीय सरकार बनाउन भ्यागुताको धार्नी पुर्‌याउने अनेक सम्झौता गरिरहेको अस्थिर सरकारका ठाउँमा न नागरिक समाज सशक्त बन्न सकेको छ न त सरकार नै प्रभावकारी !समाधान के त ?

विभिन्न क्याम्पसहरूमा व्यवस्थापन र सार्वजनिक नीति पढाइरहेका अश्विन पुडासैनीले भने, अचम्म लाग्ने सपना र नयाँ–नयाँ योजनाको विरोध भयो भनेर समृद्ध नेपाल बनाउने अभियान छोड्नु हुँदैन । यसको लागि सातवटा उपाय अवलम्बन गर्नुपर्छ:

१. यही साता सरकारले बजेट ल्याउँदैछ । अब नयाँ सपनाका कुरा गरेर मात्र पुग्दैन, प्रधानमन्त्रीले यसको लागि पर्याप्त बजेटको व्यवस्था पनि गर्न सक्नुपर्छ । बजेट छुट्ट्याएर नयाँ काम समयसीमा तोकेर गरियो भने ती यथार्थमा परिणत हुनेछन् ।

२. विषयविद् र प्राविधिक, वित्तीय विश्लेषक, पानीजहाज चलाउने एजेन्सी, वाणिज्यशास्त्रीसमेतको पहिचान र आवश्यक टोली बनाएर एकमहिने समयसीमा तोकेर लागत, प्रविधि, जनशक्ति, बजार, उत्पादन, प्रभाव, लाभ, क्षमता र कभरेज विवरणसहितको अवधारणापत्र बनाएपछि मात्र बल्ल सपनाहरू विश्वसनीय हुन्छन् ।

३. पानीजहाज दर्ता ऐन, २०२७ र त्यसमा राख्ने झन्डासम्बन्धी ऐन विगतको सरकारले खारेज गर्‌यो, तर अब नेपालले महासागरमा जहाज चलाउने हो भने सम्बन्धित मन्त्रालयको समन्वयमा कानुन मन्त्रालयले विधेयक मस्यौदा गरी चालू संसद्बाट पारित गर्नुपर्छ ।

४. नयाँ काम गर्न नयाँ संरचना आवश्यक पर्छ । व्यावसायिक दक्षता भएको निश्चित समयसीमाभित्र नतिजा दिनसक्ने कामकाजी, पेसेवर प्रमुख कार्यकारी राखेर प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा पीएमओबाटै काम गर्ने गरी परियोजना अगाडि बढाउनुपर्छ ।

५. सरकार, निजी क्षेत्र, सर्वसाधारण र एनआरएनसहितको ‘मेरो पानीजहाज, नेपाल’ कम्पनी खडा गरेर अविलम्ब सेयर लागि आह्वान गर्दै सबै हिस्सेदार हुने कम्पनीको कानुनी, प्रशासनिक र प्राविधिक कार्यहरू सरकारले अगाडि बढाउनुपर्छ ।

६. नयाँ स्वप्नद्रष्टा प्रधानमन्त्री ओलीले नयाँ पुस्ताको प्रतिनिधि पात्र युवा सांसदहरूलाई आफ्ना स्वप्निल योजनाहरू, त्यसका उपादेयता र प्रभाव बताउँदै बेलैमा यो नयाँ पुस्ताकै लागि हो र आफू त निमित्त पात्र मात्र हुँ भन्न सक्नुपर्छ । तपाईंहरूकै कार्यक्रम र योजना हो, तपार्इंहरूले नै नेतृत्व गर्ने हो भनेर औपचारिक-अनौपचारिक छलफल, बहस गर्दै काम अगाडि बढाउनुपर्छ ।

७. मुलुकमा जति पनि परियोजना सञ्चालन गरिन्छन्, ती पारदर्शी, आर्थिक अनुशासन, भ्रष्टाचारमुक्त र जनताको दैनन्दिनसँग प्रत्यक्ष जोडिने भएकाले त्यसमा कठोर आर्थिक अनुशासन र शान्तिसुरक्षा अनिवार्य हुन्छ । यसमा जनता संवेदनशील र भावुक हुने भएकाले चनाखो बनेर हेरिरहेका हुन्छन् । त्यसैले शान्तिसुरक्षा र सुशासनविना फड्को मार्न सकिँदैन ।

साभार: अन्नपूर्ण पोष्ट डटकमवाट

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top