माओवादी केन्द्रको उदयले सत्ताको खेल पनि प्रभावित

0 7

काठमाडौं,जेठ ११ । माओवादी वैचारिक धारका पार्टीहरु एकीकृत भएर नेकपा माओवादी केन्द्र निर्माण भएपछि नेपालको समग्र राजनीति प्रभावित भएको छ । शान्ति प्रक्रियासँगै संविधानसभामा जनयुद्धको अवतरण भएपछि दलीय राजनीतिमा माओवादीले जुन हस्तक्षेपकारी र नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो, अब त्यस्तै गर्ने संकेत मिलेको छ । कमजोर बनेको माओवादी वैचारिक धारका पार्टीहरु सशक्त रुपमा एकीकृत रुपमा उदाएपछि राज्य सञ्चालनदेखि गाउँगाउँको राजनीतिक गतिविधि प्रभावित हुन थालेको छ । मुलुकको राजनीति क्रमशः दुई दलीय बन्दै गइरहेको बेला माओवादी केन्द्रको उदय भएको छ ।

आजको समयबद्व साप्ताहिकमा खबर छ– माओवादी केन्द्रको उदयसँगै राष्ट्रिय राजनीतिमा फेरि पनि कांग्रेस एमाले एक ठाउँमा आउने सम्भावना बढेको जानकारहरुले बताउन थालेका छन् । वर्तमान सत्ता गठवन्धनको नेतृत्व गरिरहेको एमालेले केही समयपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व बुझाउने भनिएको थियो । अब एमालेले सजिलै माओवादी केन्द्रलाई सरकारको नेतृत्व नबुझाउने लक्षण देखिएको छ । एमालेका नेताहरु भन्न थालेका छन्– प्रचण्डलाई सरकारको नेतृत्व दिने कुनै सहमति भएको छैन । उता, कांग्रेसका नेताहरु पनि एमाओवादीभन्दा एमालेसँगै मिल्न लालायित हुन थालेको बुझिन्छ । माओवादी केन्द्र जुर्मुराएर सशक्त रुपमा उठेपछिको पहिलो असर नै सत्ताको खेलमा परेको छ ।

संसदीय गणितमा माओवादी तेस्रो पार्टी मात्र हो तर एकीकरणसँगै माओवादी केन्द्र बनेपछि यो राजनीतिक रुपमा पहिलो शक्ति बनेको छ । यो शक्तिलाई सरकारको नेतृत्व बुझाउन बाध्यकारी अवस्थामा कांग्रेस एमाले पुग्ने र सोही अनुरुपको जनदवाब सिर्जना हुने अपेक्षा गरिएको छ । तर, कांग्रेस एमाले यसका लागि सजिलै तयार हुने लक्षण छैन । जसरी जनयुद्ध गरिरहेको एमाओवादीलाई ०६३ सालमा अन्तरिम संविधान बने लगत्तै व्यवस्थापिका संसदमा कांग्रेस, एमाले हैसियत दिन बाध्य भएका थिए, त्यसैगरी एकीकरणसँगै सरकारको नेतृत्व दिन बाध्य हुने पनि बताइदैंछ ।

माओवादी केन्द्र गठनसँगै मुलुकका विकृति विसंगतिमा यसले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने अवस्था देखिएको छ । मुलुकमा व्याप्त कालाबजारी र तस्करी उपर केन्द्रले तत्कालैबाट हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने र यसका लागि विगतको वाईसीएलजस्तै संरचना निर्माण गनुपर्ने सुझाव जनस्तरबाट आएको छ । त्यसैगरी भ्रष्टाचार र महंगी नियन्त्रण गर्न माओवादीले पहल लिने भएको छ । सरकारको नेतृत्व गर्ने अनुकूल अवस्था सिर्जना नभएमा पनि जनजीविका र राष्ट्रियताको पक्षमा माओवादी केन्द्रले दह्रो अडान लिने भएको छ । केन्द्रले यस्तो गर्ने संकेत मिलेपछि राष्ट्रिय राजनीतिलाई कब्जामा लिन खोज्ने भूमिगत तत्व, व्यापारी, कमिसनखोर तथा माफियाहरुमा हडकम्प मच्चिएको छ । उनीहरुले माओवादी केन्द्रलाई कमजोर बनाउन कांग्रेस एमालेलाई एक ठाउँमा ल्याउने प्रयास थालिसकेको बुझिन्छ ।

अहिले राष्ट्रिय राजनीतिको सबैभन्दा कमजोर पक्ष विदेश मामिला भएको छ । छिमेकीसँगको सम्बन्धमा माओवादी केन्द्र निकै स्पष्ट देखिएको छ । उसले समदूरी र समानताको आधारमा छिमेकीसहित विश्व सम्बन्धलाई अगाडि बढाउने भएको छ । यसबाट कतिपय विश्व शक्तिहरु आत्तिएका छन् । उनीहरु आत्तिनुको मूल कारण भने माओवाद वैचारिक धारलाई अब माओवादी केन्द्रले अगाडि बढाउँछ भन्ने नै हो । माओवादको सिर्जनात्मक प्रयोग गरेर संसदवादी पार्टीहरुलाई तह लगाउन सकिन्छ र उनीहरुलाई आफ्नो एजेण्डामा ल्याउन सकिन्छ भन्ने नेपालमा प्रमाणित भइसकेको छ ।

केन्द्र निर्माणसँगै यसको सकारात्मक असर मधेसी र आदिवासी समुदायमा देखिन थालेको छ । विभिन्न वर्ग र समुदायलाई अधिकारप्रति जागरुक गराउने र सचेत बनाउने काम माओवादी आन्दोलनले नै गरेको थियो । माओवादी पार्टीहरु छिन्नभिन्न भएसँगै जातीय धारका पार्टीहरु अगाडि आएका थिए । केन्द्र गठनपछि आदिवासी, जनजाति, मधेसी, थारु, दलित लगायतका समुदाय तथा विपन्न वर्गमा आशा जागेको छ । अब उग्रवादी जातीय धारहरु कमजोर हुने र वर्गको मुद्धा उठाउने माओवादी केन्द्र बलियो हुँदै जाने स्वतः सिद्ध छ । माओवादी धार कमजोर भएपछि त्यो रिक्ततामा तराईमा अराजक अवस्था उत्पन्न भएको थियो भने विदेशी चलखेल पनि बढेको थियो । अब त्यो अवस्था रहन नसक्ने दावी माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रमा सुरुमा नसमेटिएका मातृका यादव नेतृत्वको पार्टी पनि अब समाहित भइसकेको छ । केन्द्रले आउँदो असारको पहिलो सातामा एकताको सन्देश दिन तथा जनतामा आशा जगाउन काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । केन्द्रका एक नेताले भने– असारको पहिलो साताबाट नेपाली राजनीतिको स्वरुप फेरिने छ, अहिले हामी एकीकृत मात्र भएका छौं, हामी कसरी राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्छा भन्ने त्यसपछि देखिनेछ ।