आन्दोलनरत मोर्चालाई प्रधानमन्त्रीको पत्र, के छ पत्रमा ? (पत्र सहित)

0 4

काठमाडौं,जेठ ११ । प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत मधेसी मोर्चालाई वार्तामा आउन आह्वान गर्दै सोमबार पत्राचार गरेका छन् । समस्या समाधानमा विगतका संवाद सकारात्मक रहेको स्मरण गराउँदै ओलीले वार्ताका लागि पत्राचार गरेका हुन् । स्रोतका अनुसार वार्ताका लागि लिखित आग्रह गर्नुपर्ने मधेसी मोर्चाका शीर्ष नेताहरूको आग्रहपछि प्रधानमन्त्री ओलीले यसअघि वार्ताका लागि पत्राचार गरेका थिए । तर, विगतका वार्ताका सहमति अझै पूरा नभएको भन्दै थप स्पष्ट पार्न मोर्चाले आग्रह गरेपछि प्रधानमन्त्री ओलीले विगतका वार्ता सकारात्मक रहेको भन्दै दोस्रोपटक पत्राचार गरेको स्रोतको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले समाचार लेखेका छन् ।

पत्रमा भनिएको छ– शंका नगर्नुस्
प्रधानमन्त्री ओलीले मधेसी मोर्चालाई पठाएको पत्रमा ६ बुँदा छन् । पत्रमा तराई आन्दोलनमा भएका ज्यादतीबारे छानबिनपछि उचित कारबाही हुनसक्ने भन्दै शंका नगर्न भनिएको छ । ‘हामी सबै जीवनको महत्वपूर्ण अबधि मानवअधिकार र लोकतन्त्रका लागि यातना र सास्ती झेलेर आएका आन्दोलनका सहयात्री नै हौं,’ पत्रमा भनिएको छ, ‘आधा शताव्दी भन्दा लामो समय यही उद्देश्यका लागि विताएको तपाईंहरुकै एकजना साथी प्रधानमन्त्री रहेको सरकारप्रति ज्यादतीको छानबिन हुन्न कि, जनताले न्याय पाउन्नन् कि भन्ने शंका तथ्य र तर्कसंगत हुन्न भन्ने म स्पष्ट पार्दछु ।’

पूर्वसर्त राखेर नअल्झिन आग्रह
प्रदेशको सीमांकनसंग जोडिएका विषयलगायतमा पूर्वसर्त राखेर समस्या बढाउनेतिर नलाग्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । ‘जहाासम्म सीमा सम्बन्धि माग संबोधन गर्न सरकारद्वार गठित समिति र संयोजकबारेको प्रसंग छ, त्यो अलि ज्यादै आग्रहयुक्त भयो,’ ओलीको पत्रमा भनिएको छ, ‘नेपालको संविधान स्वीकार्ने जो कोही नेता वा कार्यकर्ताको लोकतन्त्र, संघीयता र त्यसले दिएको अधिकारप्रतिको निस्ठामा प्रश्न नगर्न म आग्रह गर्दछु । प्रस्तावित समितिको बैठकबाटै यसले गर्ने काम र यसमा रहने सदस्य थपघट गर्न सकिने हुादा विभिन्न पूर्वसर्तमा नअल्झिन म आग्रह गर्दछु ।’

आज त्रिपक्षीय बैठक
वार्तामा बस्न मधेसी मोर्चालाई पत्राचार गरे लगत्तै प्रधानमन्त्री ओलीले मंगलबारका लागि सत्तारुढ दल, प्रमुख प्रतिपक्षी कांग्रेस र मोर्चाको त्रिपक्षीय संयुक्त बैठक बोलाएका छन् । ‘मोर्चाका नेताहरुलाई टेलिफोन र पत्रमार्फत बैठकमा आउन प्रधानमन्त्रीले आह्वान गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने । उनका अनुसार मोर्चाका नेताहरुसागको टेलिफोन सम्बादपछि त्रिपक्षीय बैठकको समय तय भएको हो । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुनेछ ।

तर, उपेन्द्र यादवले भने–बोलाइएकै छैन, जाँदैनौं
मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफूसहित संघीय गठबन्धनका कुनै पनि नेतालाई प्रधानमन्त्रीले टेलिफोन सम्पर्क नगरेको भन्दै वार्तामा सहभागी नहुने बताए । ‘मलाई टेलिफोन नै आएको छैन, कुनै जानकारी नै नभएकाले वार्तामा जाने प्रश्नै आउादैन ।’ उनले भने । संघीय गठबन्धनको नामबाट भइरहेको आन्दोलन जारी रहने पनि उनले बताए ।