बदलिँदै आन्दोलन,काठमाडौंमै केन्द्रित गर्ने कि जिल्लामा फर्काउने भन्नेमा बहस

0 9

13173918_1212670945423163_8178730277204980864_nकठमाडौं,जेठ ५ । सिंहदरबार पस्ने नाकामा दुई दिन धर्ना दिएको संघीय गठबन्धन मंगलबार बालुवाटार पुग्यो । प्रधानमन्त्री निवास घेर्न गएका प्रदर्शनकारीमा अधिकांश मधेसी महिला थिए । गठबन्धनमा आबद्ध मधेसवादी दलले आन्दोलनमा सहभागी हुन उनीहरूलाई काठमाडौं ल्याएका हुन् । छिटफुट तनाव र झडपबाहेक बालुवाटार धर्ना शान्तिपूर्ण रूपमा सकिएको थियो । गठबन्धनले बुधबार दिउँसो १ बजे शान्तिबाटिकामा सभा गर्ने निर्णय गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

सभालाई गठबन्धनमा आबद्ध २९ जातीय क्षेत्रीय दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । गठबन्धनले बुधबार बिहान बैठक गरी आन्दोलनका बाँकी कार्यक्रम सार्वजनिक गर्ने नेताहरूले जानकारी दिए । आन्दोलन काठमाडौंमै केन्दि्रत गर्ने कि जिल्लामा फर्काउने भन्नेमा गठबन्धनभित्र बहस भइरहेको छ ।

माघ ४ गतेयता ठूला तीन दल र आन्दोलनकारीबीच कुनै वार्ता भएको छैन । त्यसैबीच आन्दोलनकारीका तर्फबाट मधेसी मोर्चाका शीर्ष नेताले फागुन २८ गते प्रधानमन्त्री ओलीलाई भेटेर माग सम्बोधन गर्न एक महिने अल्टिमेटम दिएका थिए । त्यसअघि आन्दोलनकारी मधेसी मोर्चाको माग सम्बोधन गर्न माघ ९ गते संविधानको पहिलो संशोधन भएको थियो ।

फागुन ६ गते मन्त्रिपरिषद्ले थापाकै नेतृत्वमा ११ सदस्यीय सीमांकन पुनरावलोकन तथा परिमार्जनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्र घोषणा गरेको थियो । तर त्यसमा थापाबाहेक अरू सदस्य छानिएनन् । तर हालसम्म त्यसले कुनै काम अघि बढाएको छैन ।