मिल्न खोजिएका हात फेरी रोकिए

0 9

modi-kp oli

काठमाडौं,जेठ १ । पोखरामा सार्क मन्त्रिपरिषद् बैठक भएका वेला भारतका विदेशमन्त्री सुष्मा स्वराजले ४ चैतमा प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री कमल थापासँग वार्ता गरिन्। त्यसयता नेपाल र भारत सरकारबीच राजनीतिक तहमा संवाद ठप्प छ। प्रधानमन्त्री ओलीको राजकीय भ्रमण (७–१२ फागुन) बाट पनि नेपाल र भारतबीच उच्च नेतृत्व तहमा समझदारी कायम हुन सकेन।

पोखराको साइडलाइन वार्ता केवल भेटवार्ताको निरन्तरता मात्रै थियो। पछिल्लोपटक सरकार परिवर्तनको एमाओवादी–कांग्रेस कसरत सफल नभए पनि यस घटनाले भारतप्रति प्रधानमन्त्री ओली रुष्ट छन्।

यो घटनाको प्रतिक्रियास्वरूप सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको २७ वैशाखदेखि २ जेठसम्मको भारत भ्रमणको कार्यक्रम रद्द गरेको थियो। सरकार फाल्न सक्रिय रहेको आरोपसहित दिल्लीस्थित राजदूत दीपकुमार उपाध्यायलाई पदमुक्त गरेर फिर्ता बोलाएपछि नेपाल–भारत सम्बन्ध झनै चिसिएको छ। यो घटनामा भारतको औपचारिक प्रतिक्रिया आएको छैन।

भारतको रक्षा अध्ययन एवं विश्लेषण संस्थानमा रहेर नेपाल–भारत सम्बन्ध हेरिरहेका डा. निहार नायकले नयाँ पत्रिकासँग भने, ‘मैले बुझेसम्म हमेसा नेपालका बारेमा सोचिरहने फुर्सद भारतको नेतृत्वलाई छैन।’

भारतले चाहेको सम्बन्धको चार मोडालिटीभारतले सम्बन्ध विस्तारका लागि नेपालसाग चार मोडल प्रस्तुत गरेको छ। जसमा, भारत–पाकिस्तान सम्बन्धको मोडल, भारत–भुटान सम्बन्धको मोडल, सम्बन्ध पनि नतोड्ने, कुरा पनि नगर्ने (संवादहीनताको मोडल) र भारतको सबै कुरा मानिदिने गरी असल सम्बन्ध स्थापित गर्ने मोडल छन्।

तर, ओली पाँचौँ मोडलको पक्षमाप्रधानमन्त्री केपी ओली भारतले चाहेको चारमध्ये कुनै पनि मोडालिटी स्वीकार गर्ने पक्षमा छैनन्। स्रोतका अनुसार ओलीको पाँचौँ मोडल यस्तो छ, ‘राजनीतिक मामिला (मधेस)मा भारतको पूर्ण अहस्तक्षेप र बाँकी विषयमा सम्मानजनक साझेदारी।’ भारतले राजकीय भ्रमणमा बोलाएर संयुक्त वक्तव्य जारी गर्न नमानेपछि रुष्ट ओलीले पाँचौँ मोडल रोजेका हुन्।

भारतको सामना गरेर जानुपर्ने पक्षमा ओली रहेको उनीनिकट स्रोत बताउँछ। ‘मधेस समस्या आफ्नै तरिकाले सम्बोधन गर्न ओली चाहन्छन्। तर जलस्रोत, व्यापार, पारवहनलगायतका विषयमा सम्झौता गर्न उनी तयार छन्,’ स्रोत भन्छ, ‘ओलीको फिफ्थ च्वाइसलाई भारतले कुनै हालतमा समर्थन गर्दैन।

भारतले सुरक्षा चासो जोडेर नेपाली राजनीतिमाथि प्रभाव जमाउन चाहन्छ। उनी यसलाई मञ्जुर गर्न तयार छैनन्। बरु, भारत कुन तहसम्म जान्छ, सामना गरेर जाउँ भन्नेमा उनी छन्।’ आजको नयाँ पत्रिकामा पर्शुराम काफ्लेले खबर लेखेका छन्।