मधेसी दलहरूको गठबन्धनभित्रै विवाद

0 8

  Madeshi-Morcha-Meetingकाठमाडौं,बैशाख २५ । आन्दोलन सशक्त बनाउन मधेसी दलहरूले गठन गरेको संघीय गठबन्धनमा विवाद भएको छ। मधेसी मोर्चाको नेतृत्वमा आन्दोलन गर्ने कि संघीय गठबन्धनको नेतृत्वमा भन्नेमा विवाद भएको हो। मधेसी मोर्चालाई छायामा पार्ने गरी मधेसी नेताहरूले संघीय गठबन्धन बनाएका थिए। संघीय समाजवादी फोरम, तमलोपा, फोरम गणतान्त्रिक, सद्भावना पार्टी, सद्भावना नेपाल, तमसपा र राष्ट्रिय मधेस समाजवादी पार्टी मोर्चामा थिए। पछि २० वटा विभिन्न क्षेत्रीय दललाई समेटेर संघीय गठबन्धन बनाइएको थियो।

तर, अहिले आन्दोलनको नेतृत्व कसले गर्ने भन्ने विषयमा उठेको विवाद सतहमै देखिएको छ। संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले गठबन्धनमा विवाद नभएको दाबी गरे। ‘विवाद त्यस्तो केही भएको छैन, बाहिर हल्ला बढी भएको हो,’ श्रेष्ठले भने। चार दलद्वारा बैठक बहिष्कार संघीय गठबन्धनको शुक्रबार बसेको बैठक चार मधेसी दलले बहिष्कार गरेका छन्।

तमलोपा, सद्भावना पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी बैठकमा नगएका हुन्। महाधिवेशनको तयारीमा लागेको भन्दै तमलोपाका नेताहरू बैठकमा सहभागी भएनन्।

तर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, सहअध्यक्ष लक्ष्मणलाल कर्ण र महामन्त्री मनीष सुमन काठमाडौंमै भएर पनि बैठकमा गएनन्। ‘सिंहदरबार घेराउ कार्यक्रमबारे पार्टीभित्र छलफल थियो, त्यसैले गठबन्धनको बैठकमा नगएको हो,’सुमनले भने। २ जेठका लागि गठबन्धनले सिंहदरबार घेराउ कार्यक्रम तय गरेको छ। नयाँ पत्रिका दैनिमा समाचार छ।