आमाको मुख हेर्ने दिन

0 11

काठमाडौं २४ । नेपालमा हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको रूपमा परिचित छ। उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छेअनुसारका थरीका मिठाइ तथम फलपलुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्।

आमा जीवित हुनेहरूले आमालाई मीठा(मीठा परिकार बनाएर ख्वाउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन्। आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ चन्दागीरी न.पा ५ मा थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन्।

कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन्। मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ।

उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ। मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो।