लेस्टर सिटीलाई दुई खेल अघि नै प्रिमियर लिगको उपाधि

0 6

_89545219_selbyflag_getty

एजेन्सी,बैशाख २१ । इंग्लिस प्रिमियर लिगको उपाधि लिसेस्टर सिटीले जितेको छ । लिग अन्तर्गत गएराति सम्पन्न खेलमा दोस्रो स्थानमा रहेको टोटनह्याम हट्सपरलाई चेल्सीले २–२ गोलको बराबरीमा रोकेपछि लेष्टरले दुई खेल खेल्न बाँकी छँदै उपाधि जितेको हो। टोटनह्यामको भने ५५ वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जित्ने सम्भावना समाप्त भएको छ ।

गएको सिजन रेलिगेशनबाट मुस्किलले जोगिएको लिसेस्टरले यो सिजन निकै राम्रो प्रदर्शन गर्दै आएको थियो । उपाधि होडमा रहेको टोटनह्यामसहित आर्सनल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड तथा गएको वर्षको विजेता चेल्सीले लिसेस्टरलाई रोक्न सकेनन् । उपाधि दावेदारीमा कायमै रहन टोटनह्यामलाई गएरातिको खेल कुनै पनि हालतमा जित्नैपर्ने थियो।

पहिलो हाफमै ह्यारी केन र सनले एक–एक गोल गरेपछि टोटनह्याम जित नजिक पुगेको थियो । तर दोस्रो हाफमा चेल्सीका ग्यारी केहील र एडिन हाजार्डले एक–एक गोल फर्काउदै खेल बराबरीसम्म ल्याए।
प्रतिस्पर्धात्मक खेलमा यसपछि कुनै टोलीले गोल थप्न नसक्दा टोटनह्यामको उपाधि दौडबाट बहिरियो । लिग जित्नेक्रममा लेष्टरले यो सिजनमा तीन खेलमात्रै हारेको छ।

लिगका दुई खेल बाँकी हुँदा च्याम्पियन बनेको लिसेस्टरको ७७ अंक छ भने दोस्रो स्थानको टोटनह्यामको ७० अंक छ । लिसेस्टरले अब दुवै खेल हार्‍यो र टोटनह्यामले दुवै खेल जित्यो भने पनि लिसेस्टर टोटनह्याम भन्दा एक अंकले अघि नै हुने छ । लिसेस्टरको यो पहिलो प्रिमियर लिग उपाधि हो । लेष्टर सिटीले उपाधि जितेसँगै पुरस्कार रकम र अन्य विभिन्न बोनसहरुमार्फत झण्डै १ सय ५० मिलियन पाउण्ड स्टर्लीङ हात पार्नेछ।