अनशन बसेका युवाको स्वास्थ्य बिग्रिदै

0 7

काठमाडौँ, वैशाख २१ । रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियानले करिब एक सातादेखि आयोजना गरेको सामूहिक आमरण अनशनमा युवाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको पाइएको छ ।  खुलामञ्चस्थित अनशनस्थलमा गत वैशाख १५ गतेदेखि अनशनमा बसेका १२ जनामध्ये अधिकांशको स्वास्थ्य प्रतिकूल बन्दै गएको छ । तीमध्ये नीरज पुन र भरत लामिछानेको स्वास्थ्य अवस्था बिग्रिएका कारण वीर अस्पतालमा लगेर उपचार भइरहेको छ ।

अनशनमा बस्नेमा अनुषा राई, जिविता आचार्य, लक्ष्मी तामाङ, मञ्जु गौतम, अजित झा, दावा शेर्पा, नीरज पुन, भरत लामिछाने, महेश नेपाल, रियाज पौडेल, ज्ञानदेव विष्ट र चन्द्रबहादुर थापा छन् । थापा यस अभियानका संयोजक एवम् पूर्व सभासद्समेत हुन् ।
अनशनरत युवामध्ये कतिलाई स्वास्थ्यकर्मीको सहयोगमा अनशनस्थलमा स्लाइनसमेत चढाइएको छ । उनीहरुले योग्यता, क्षमता, सीप र दक्षताअनुसारको रोजगारी उपलब्ध गराउनुपर्ने, रोजगार दिन नसके राज्यले शैक्षिक योग्यताका आधारमा ऋण उपलब्ध गराउनुपर्ने आदि माग गरेका छन् ।

विभिन्न क्षेत्रमा अध्ययन गरेका युवा अनशनमा छन् । उनीहरुले सरकारले रोजगार वा स्वरोजगार गराउन नसकेका युवाको हकमा परिचयपत्रसहित बाँच्न सक्ने गरी सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्नुपर्ने, बन्द, हडताल तथा चक्काजाम र तालाबन्दी गर्न नहुने, उद्योगमैत्री र रोजगारमूलक व्यवस्था तत्काल गर्नुपर्ने भनेका छन् ।

त्यसैगरी, राष्ट्रियस्तरका खेलाडी र कलाकारलाई समेत विशेष व्यवस्थाको माग गर्दै अनशनकारीले स्वदेशी उत्पादन वृद्धि गरी त्यस्तो वस्तुको स्वदेशमै प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रलाई समृद्ध बनाउन सरकारले आवश्यक नीति अवलम्बन गर्ने अपेक्षा उनीहरुको रहेको छ ।
यसैक्रममा उनीहरुको मागप्रति ऐक्यबद्धता व्यक्त गर्न समाजका विभिन्न तह तथा क्षेत्रका नागरिकको सहभागितासमेत बढ्दै गएको छ । राजनीतिज्ञ, वकिल, पत्रकार, विद्यार्थी, बेरोजगार युवा तथा विभिन्न उमेर समूहका मानिसको सहभागी भई उक्त मागप्रति सहमति जनाएका छन् ।

अभियन्ता फणिराज लोहनीका अनुसार सरकारले सो विषयलाई अहिलेसम्म पनि गम्भीररुपमा लिएको छैन, सार्थक वार्ता प्रारम्भ गरी यसको समाधान खोज्नुपर्छ ।  मुलुकमा प्रत्येक वर्ष करिब पाँच लाखको हाराहारीमा पढेलेखेका दक्ष जनशक्ति श्रम बजारमा आउने गरेको भए पनि देशमा रोजगारी सिर्जना हुन नसक्दा ठूलो युवा शक्ति विभिन्न मुलुकमा रोजगारीका लागि विदेशिन बाध्य छन् ।

काठमाडौँ स्कूल अफ लका अध्यापक एवम् अधिवक्ता सुनिल खरेलले देशमा बेरोजगारी समस्या जटिल बन्दै गएकाले अहिलेसम्म पचासौँ लाख युवा रोजगारीको खोजीमा विदेश गएको बताए । उनले अनशनकारीको स्वास्थ्य अवस्थामा गम्भीर भई उनीहरुको जीवनसँग खेलबाड नगर्न सम्बन्धित निकायलाई आग्रह गरे ।