पुरानो कार्यकक्ष अशुभ भनेपछि वास्तु मिलाउन देउवाको कार्यकक्ष परिवर्तन

0 2

 Sher

काठमाडौं,बैशाख २१ । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालयमा नयाँ कार्यकक्ष बनाउन लगाएका छन् । वास्तुशास्त्रीले पुरानो कार्यकक्ष अशुभ भनेपछि उनले तीनवटा कोठा भत्काएर वास्तुशास्त्र अनुसार नयाँ बनाउन लगाएका हुन् ।

देउवाले १३औँ महाधिवेशनबाट निर्वाचित भएपछि सभापतिको कार्यकक्ष छोडेर आफैँ बस्ने कोठा रोजेका थिए । तर, वास्तुशास्त्रीले अशुभ भनेपछि यसअघिका महामन्त्री प्रकाशमान सिंहको, नयाँ कोषाध्यक्ष सीतादेवी यादव र मुख्य सचिव ऋषिकेश तिवारीको कार्यकक्ष फोडेर देउवाको व्यवस्थित र भव्य कार्यकक्ष बनाउन लागिएको हो ।

कार्यकक्ष निर्माणको काम धमाधम चलिरहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।चारतले भवनको पहिलो तलाको अगाडितिर देउवाको पहिलेको कार्यकक्ष थियो । देउवाले निर्वाचित भएको आठौं दिन ३ चैतमा सभापतिको प्रमाणपत्र बुझ्दै पुरानै कोठालाई कार्यकक्ष बनाएर पदभार ग्रहण गरेका थिए ।

तर, भोलिपल्टै वास्तुविद् डा. माधवमंगल जोशीलाई बोलाएर कार्यकक्ष हेर्न लगाइएको थियो । उनले वास्तु नमिलेको भन्दै ठाउँ सार्न सुझाव दिएका थिए ।

वास्तु अनुसार भवनको पछाडितर्फको यसअघिका महामन्त्री प्रकाशामानसिंहले प्रयोग गर्न उपयुक्त हुने सुझाव जोशीले दिएपछि तीनवटा कोठा फोडेर सभापतिको कार्यकक्ष बनाउन थालिएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । ‘वास्तुशास्त्र अनुसार पूर्व मुख गरेर बस्नुपर्ने भयो । वास्तुविद्ले कार्यालयका सबै कोठाका कुनाकुनामा के छ भनेर हेर्नुभयो ।

दोस्रो तलाको हल छेउ र प्रकाशमान दाइ बसेको कोठामात्र सभापतिका लागि सबैभन्दा उपयुक्त देखियो,’ केसीले भने, ‘त्यसैले तीन कोठा फोडेर सभापतिका लागि व्यवस्थित कार्यकक्ष बनाउन थालेका हौं । डेकोरेशनको काम भइरहेको छ । अब १० दिनमा काम सकिन्छ ।’
अहिले दैनिक करिब दर्जन कामदारले कार्यकक्षको पार्टेसन, वाइरिङ, प्लम्बिङसहितका काम गरिरहेका छन् ।

अब अबको १० दिनमा डेकोरेसनको सबै काम सकाउने तयारी छ । १० लाख खर्चमा कार्यकक्ष बनाउन लागिएको केसीले जानकारी दिए । यसअघिको कार्यकक्षमामा कार्पेट, कुर्सी, सोफा, टेबुल, पर्दा नयाँ राख्दा डेढ लाख खर्च भएको थियो ।

कोषाध्यक्षको कोठा सर्‍यो
वास्तु अनुसार सभापतिको कार्यकक्ष बनाउन कोषाध्यक्ष सीतादेवी यादवले प्रयोग गर्ने कोठा फोडिएको छ । उनको कार्यकक्ष अब दुई तलामाथि सरेको छ । संगठन विभाग प्रमुखले प्रयोग गर्दै आएको कोठालाई कोषाध्यक्षको कार्यकक्ष बनाइएको केन्द्रीय कार्यालयले जनाएको छ ।

उपसभापतिको कार्यकक्ष पनि बनाइँदै
सभापति देउवाले केही सदस्य मनोनित गरे पनि उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केही सदस्य मनोनयन गर्न बाँकी छ । केन्द्रीय कार्यालयले मनोनित भएर आउने उपसभापतिका लागि पनि पहिलो तलामा एट्याच वाथरुमसहितको कार्यकक्ष बनाउन थालेको छ । कांग्रेस केन्द्रीय कार्यालयको चार तले भवनमा ४२ कोठा छन् ।

यस्तो बन्दै छ देउवाको नयाँ कार्यकक्ष
तीन कोठाको इटाको पर्खाल फोरेर आल्मुनियमले पार्टेशन गरेर तीन कोठे कार्यकक्ष बनाइँदैछ । १० जना अट्ने गरी स्वकीय सचिव बस्ने पहिलो कोठा बन्ने छ । स्वकीय सचिवपछि दोस्रोमा भेटघाट कक्ष रहनेछ । दोस्रो कक्षमा पनि १० जना अट्ने गरी सोफा राखिनेछ । त्यसपछिको कोठा देउवाको मुख्य कार्यकक्ष रहने छ, जहाँ देउवाको कुर्सी पूर्वाभिमुख हुनेछ । कार्यकक्षमा २० देखि २५ जना अटाउने गरी डेकोरेशन भइरहेको छ । मुख्य कार्यकक्षमा देउवा प्रवेशका लागि भने छुट्टै ढोका बनाइदैछ । देउवाको कार्यकक्षभित्रै एट्याच बाथरुम हुनेछ ।
देउवाको कार्यकक्षमा सोफा पनि वास्तुशास्त्र अनुसार मिलाएर राखिने भएका छन् । कार्यकक्षमा पुस्तक राख्ने र्‍याक, नेताहरुका तस्बीरहरु पनि हुनेछन् । तीनवटै कोठा एसियुक्त हुने केन्द्रीय कार्यालयले जनाएको छ ।

१० लाख खर्च बेहोर्दै अर्याल र श्रेष्ठ
सभापति शेरबहादुर देउवाको कार्यकक्ष बनाउने खर्च पार्टीले होइन, सांसद र पार्टीको अर्थ समितिका सदस्यले बेहोर्ने भएका छन् । ‘सभापतिको कार्यकक्ष निर्माण गर्न लाग्ने करिब १० लाख रुपैयाँ खर्च विनास्वार्थ खुमाप्रसाद अर्याल र सांसद उमेश श्रेष्ठले बेहोर्दै हुनुहुन्छ’ कांग्रेस कार्यालय सचिव केसीले भने, ‘अहिले भइरहेको कामको व्यवस्थापन पनि श्रेष्ठले गरिरहनुभएको छ ।’ पार्टेसन, प्लम्बिङ, एसी जडान, इन्टेरियर लगायतका सबै कामका लागि कामदारको व्यस्थापन पनि श्रेष्ठले नै गरेका छन् । श्रेष्ठ निजी शैक्षिक संस्थाका लगानीकर्ता हुन् ।

You might also like More from author