सेनाले माग्यो आठ अर्ब

0 10

काठमाण्डौ,वैशाख १८ । नेपाली सेनाले विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तीन हेलिकप्टर र एउटा हवाइजहाज खरिद्कालागि सरकारसँग थप ८ अर्ब ५६ करोड रुपैयाँ बजेट माग गरेको छ ।
सेनाले ५० देखि ७० सीट क्षमताको हवाइजहाज, उद्धारका लागि २ वटा हेलिकप्टर र अति विशिष्ट व्यक्तिहरुको उडानका लागि एउटा हेलिकप्टर खरिद्का लागि भन्दै सरकारसँग थप ८ अर्ब ५६ करोड रुपैयाँ माग गरेको हो ।

तीन वर्षभित्र एउटा हेलिकप्टर र एउटा हवाइजहाज खरिद् गर्ने सेनाको योजना छ । सेनाले आफूसँग भएका पुराना तथा लिलामीको प्रक्रियामा रहेका हवाइ साधनहरुको बदलामा तीन वर्षभित्र एउटा हवाइजहाज र तीन वटा हेलिकप्टर खरिद् गर्न थप ८ अर्ब ५६ करोड रुपैयाँ चाहिने बताएको हो । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपाली सेनाका उपरथी प्रभुराम शर्माले सरकारले नयाँ हवाइसाधन खरिद्का लागि पहिलो चरणमा ३ अर्ब रुपैयाँ दिएकामा २ अर्ब ४३ करोड रुपैयाँका साधन खरिद् प्रक्रिया अगाडि बढाउनका लागि रक्षा मन्त्रालयसँग स्वीकृति माग गरिएको बताए ।

नेपाली सेनाले चालु आर्थिक वर्ष ५६ करोड रुपैयाँ बराबरका हतियार समेत खरिद् गर्ने भएको छ । उपरथी शर्माले हतियार खरिद्का लागि रक्षा मन्त्रालयसँग स्वीकृति लिने काम भइरहेको बताए । राज्य व्यवस्था समितिले नेपाली सेनालाई विपद् व्यवस्थापनका लागि क्षमता बढाउन बजेटको अभाव हुन नदिने सरकारलाई निर्देशन दिएको छ ।