जहाँ अस्पतालमा छोरी बचाइदिएपछि नर्सले गाली पाउँछन्…

0 10

renuka-रेणुका खड्का, नर्स

aअस्पतालमा रहेको आफन्त निको भएपछि उसका घरिपरिवारले कस्तो प्रतिक्रिया देलान् ? धेरैलाई लाग्न सक्छ हरेकले हामी (डाक्टर र नर्स)लाई धन्यवाद दिन्छन् ।

तर, सधैं बिरामी बचाइदिएको दिएको धन्यवाद कहाँ पाइने रहेछ र ? भर्खरै लेबर रुम (बच्चा जन्माउने कोठा)बाट निस्केकी मेरी साथी (नर्स)को अनुभव सुन्ने हो भने जसको मन पनि कुँडिन सक्छ ।

घटना केही दिनअघिको हो । एउटा ‘बेबी गर्ल’ (छोरी बच्चा) जन्मियो । असामान्य अवस्थामा जन्मिएको बच्चालाई बचाउन धेरै मेहनत गर्नुप¥यो । बच्चा जोगाउन सकेको खुशी लिएर आफन्तलाई  बच्चा दिइयो । बच्चाकी हजुरआमा त नातिनी बचाइदिएकोमा उल्टै रिसाइन् । उनले हामी(नर्स)लाई किन बच्चा जोगाइस् भनेर गाली गरिन्, ‘इस्को लेजाकर क्या करूङ्गी मे,इस्को तो तुही रख ।’ छोरीका रुपमा जन्मिएकी सन्तान बचाइदिएकोमा उनले चित्त दुखाएकी थिइन् । छोरा भएको भए उनले त्यसलाई बोकेर नाँच्दै जाने थिइन् सायद ।

उनले जति गर्दा पनि बच्चा लिन नमानेपछी बच्चालाई पछि कुनै संस्थाले जिम्मामा लियो । यता प्रसव पीडा खेपेकी आमालाई पनि छोरी जन्माएको भन्दै उक्त परिवार बेडमै छाडेर गायव भए । मेरी सहकर्मीको यो अनुभवले मेरो मन अमिलो भयो । साँच्चै हाम्रै समाजको कस्तो कहाली लाग्दो यथार्थ यो ?

हाम्रो धर्म बिरामीको ज्यान जोगाउनु हो । अस्पतालभित्र पुगेपछि हरेक व्यक्ति हाम्रा लागि बिरामी हो । के धनी, के गरिब ? के पुरुष के महिला ? के छोरा, के छोरी ? हामीले समान ठानेर सेवा दिन्छौं । तर, कहिलेकाहिँ यहीँ ठाउँमा पनि बिभेद देख्नुपर्छ । त्यसपछि मन दुख्छ, साह्रै ।

पुरुषवादी सोचको एउटा अंश हो यो । अस्पतालमा यो विभेद दिनदिनै देखिन्छ । बच्चाको वार्डदेखि लिएर एनआईसियूसम्म छोरीको उपचार भइरहेको छ भने अभिभावक सक्दो चाँडो डिस्चार्ज लिन चाहन्छन् । सक्दो कम खर्च गर्न चाहन्छन् । कतिपयले त बिचमै छोरीको उपचार रोक्न खोज्छन् । छोरीको उपचार भइरहेको छ भने अनेकन बहाना बनाउँछन् । तर, त्यही वार्डमा देखिन्छ, छोराको चिन्ता । छोरो सामान्य बिरामी भएपनि १० पल्ट सोधेर हैरान पार्छन् । सक्दो उपचार अवधि लम्ब्याउन चाहन्छन् तर राम्ररी ठिक नभइ घर लैजान्नन्  । ठिक भइसक्यो भनेर हामीले नै घर लैजान कर गर्नुपर्छ अभिभावकलाई  ।  छोराको उपचारमा लगाइने यो तन, मन र धन छोरीका लागि भने कहीँ कतै देखिदैन  ।
अस्पतालमा हामीले दोहोर्याएर सुन्नुपर्ने केही वाक्यांश छन् । छोरी जन्मिई । भेट्न आउनेहरु भन्छन्, ‘ए छोरी पो ? ठिकै छ । अचेल छोरीले पनि राम्रै गर्छन् ।’ सुरुमै ‘गल्ती गरेको’ जस्तो भाव प्रकट गरेपछि अन्त्यमा सान्त्वना दिनुको के अर्थ छ र ?
छोरा जन्मियो । आफन्तहरु भन्छन् ‘लौ बधाइ छ  । छोराका बाबु भएकोमा  ।’ छोरी जन्मिनुको अपजस आमा लिन्छन्, छोरा जन्मिनुको जस भने बुवाहरु लिन्छन् । गजब छ, हाम्रो समाजको मनोबिज्ञान ।
एनआईसियूमा हाम्रो राउन्ड परिरहेका बेला बच्चा वार्डकी प्रोफेसर डा रूपा सिंह राजभण्डारी म्यामले भनेको एउटा शब्दले मन निकै अमिलो बनायो । एउटा फिमेल नियोनेटलको उपचारका लागि उसका अभिभावकले त्यति चासो नदेखाएको उल्लेख गर्दै भन्नुभयो, ‘चाहिने औषधि किन्न भन्दा पनि आलटाल गर्छन् । बिकज् फिमेल चाइल्ड । दे आर नट ट्रिटिङ्ग वेल ।’ बच्चा छोरी भएकाले अभिभावकहरूले उपचारमा ध्यान दिइरहेका थिएनन् र बच्चाको अवस्था समेत बिग्रदै गएको थियो । आखिरमा त्यो बच्चाको के दोष थियो र ? के छोरी हुनु उसको दोष हो ? नत्र किन उपचारमा कन्जुस्याइँ ?
यता प्रिग्नेन्सीमा पेट भित्रको बच्चा छोरा हो की छोरी भनेर युएसजी गर्छन् । छोरी हो भन्ने थाहा भयो भने त कतिले भ्रुण हत्या गर्छन् । अझ कतिपयलाई त यती सम्म पुत्र मोह हुन्छ कि जबसम्म छोरा हँुदैन तबसम्म बच्चा जन्माउँछन् । भगवानलाई समेत छोराको जन्म होस भनी पुकार गर्छन् । छठीमाईसँग प्रार्थना गर्छन् छोराको लागि । तर, किन छोरी बरदान होइन, ज्यानसम्म माग्दैनन् ? कारण विविध होलान् । तर, अस्पतालमै यो विभेद देख्दा मन थाम्न सकिने रहेछ । भन्न मन लाग्ने रहेछ, ‘के छोरी मान्छे होइनन्, के छोरी भएर जन्मिनु अभिसाप हो ? र, छोरी सन्तान होइनन् ?’
(स्टाफ नर्स खड्का विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत छिन् ।)