डढेलोबाट दुइ महिनामा सात मृग मरे

0 8

Deer

नवलपरासी,वैशाख १६ । नवलपरासीमा फैलिएको भीषण डढेलोले सात मृग र रतुवा मरेका छन् ।
दुई महिनाभित्र वन क्षेत्रमा फैलिएको डढेलोमा परेर मृग र रतुवा मरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

गर्मी याम सुरु भएदेखि करिब ४० हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । जसबाट मसिना कलिला बिरुवा, महत्वपूर्ण जटीबुटी नष्ट भएका छन् ।

कार्यालयका सहायक वन अधिकृत प्रमोद भट्टराईका अनुसार करिब दुई महिनाको अवधिमा वन क्षेत्रमा डढेलो लाग्दा क्षति पुगेको हो ।

विशेष गरी जिल्लाको राममार्ग छेउछाउका वन क्षेत्रमा डढेलो बढी मात्रामा लागेको थियो । बढी मात्रामा राष्ट्रिय वन क्षेत्र र राममार्ग दायाँबायाँ डढेलो लागेको कार्यालयले जनाएको छ ।

नवलपरासीमा एक लाख २२ हजार ३६५ हेक्टर कुल वन क्षेत्र छ । जसमध्ये सामुदायिक वन क्षेत्र २४ हजार १४२ हेक्टर, राष्ट्रिय निकुञ्ज ११ हजार ६०७ हेक्टर र कुलियती वन एक हजार २०० हेक्टर क्षेत्रफल छ ।