गर्मीमा मासुजन्य र दुधका उत्पादन परीक्षण नगरी नखान चिकित्सकको चेतावनी

0 8

गौतमबुध्द बज्राचार्य

काठमाण्डौ,वैशाख १६ । के तपाईंले खानका लागि ठिक्क पारेको मासु, दूध तथा अन्डा खान योग्य छ कि छैन, कहिल्यै सोच्नु भएको छ रु यदि छैन भने होस् गर्नुस् त्यस्तो खानेकुराले तपाँई बिरामी पनि हुन सक्नुहुन्छ ।

चिकित्सकका अनुसार बिरामी भएका पशुपन्छीको उपचार गरेर स्वस्थ भएपछि मात्र ती वस्तुको मासु, अन्डा वा दूध खानका लागि प्रयोग गर्नुपर्छ ।

पशु विकास विभाग, केन्द्रीय पशु चिकित्सालयका अनुसार पशु बिरामी भएमा सर्वप्रथम त्यसको उपचार गर्नुपर्छ । उपचार गरेको पशुपन्छीमा प्रयोग भएको औषधिको प्रभाव शरीरमा समाप्त भएको भोलिपल्ट मात्र त्यो वस्तुभाउ काट्नुपर्छ । यो सन्देश हरेक कृषक वा व्यवसायीसम्म
पु¥याउनुपर्छ ।

नेपालमा पशु उत्पादनमा विकास गर्ने तथा सहर तथा गाउँलाई स्वस्थ बनाउने उद्देश्यले विसं १९७० मा स्थापित चिकित्सालयमा घरपालुवा जनावर तथा व्यावसायिक ढङ्गले सञ्चालन गरेका कृषकमा आफ्ना गाईभैँसी, कुकुर आदि बिरामी भएमा उपचार गर्नुपर्छ भन्ने चेतना वृद्धि भएको छ र ती वस्तुभाउको उपचार गर्ने प्रमुख केन्द्रका रुपमा विकास भइरहेको छ ।

चिकित्सालयका वरिष्ठ चिकित्सक डा अवधेश झाले चिकित्सालयमा विशेषगरी जिउँदो गाई, भैँसी, बाख्रा, बङ्गुर, चरा, कुकुर, बिरालो सम्मको उपचार हुने जानकारी दिए । १० रुपैंयाँको टिकट काट्नासाथ पशु तथा चराचुरुङ्गीको उपचार हुने भएकाले यहाँको सेवा कृषकका लागि करिब निःशुल्कजस्तै विभागले सेवा प्रदान गरिरहेको उनको भनाइ थियो ।

सरदर दैनिक ४० देखि ५० वटासम्म बिरामी वस्तुभाउ उपचारका लागि ल्याउने गरिएको र कहिलेकहीँ १०५ सम्म पुग्ने गरेको चिकित्सालयको भनाइ छ । झाले भने–“बिरामी पशुपन्छीलाई दिइने खोप तथा औषधिको असर पशुमा दुईदेखि ३० दिनसम्म हुने गर्दछ । पशुमा औषधिको प्रभाव रहेसम्म उसको मासु, दूध तथा अन्डा प्रयोग गर्नु हुँदैन । औषधिको प्रभाव समाप्त भई वस्तु स्वस्थ भएको वा औषधिको प्रभाव समाप्त भएको भोलिपल्ट मात्र ती पशुपन्छी काटनुपर्छ । चिकित्सकको भाषामा त्यस अवधिलाई ‘विथड्र पिरिएड’ भनिन्छ ।

नेपालमा औषधि दिएको दुई दिनमा नै मासुका लागि काट्ने वा दूध बिक्री गर्ने व्यवसायी पनि बढ्दै गएका छन् । यसले मानिसमा रोग–ब्याधी फैलाउने खतरा हुन्छ ।

सो चिकित्सालयका अनुसार सरकारले अतिसङ्क्रमित कुखुरालाई मात्र बर्डफ्लुका रुपमा मान्यता दिने गरेको छ । न्यून सङ्क्रमित कुखुरालाई बर्डफ्लुका रुपमा लिइँदैन । न्यून सङ्क्रमित कुखुरा पनि पछि गएर अतिसङ्क्रमित हुने खतरा हुन्छ । कुखुराको खोरैपिच्छे न्यून सङ्क्रमित भएको हुन्छ । न्यून सङ्क्रमण नभएको खोर भेट्नै सकिँदैन ।

सरकारले पोल्ट्रीमा काम गर्ने किसानलाई आफ्नो वस्तुभाउको रोग पहिचान राम्रोसँग गरिदिने, बिरामी पशुलाई औषधिको प्रयोग भइसकेको पशुको मासु, दुध, अन्डा यति दिनसम्म नखानु र अरूलाई पनि नखुवाउनु भनेर स्पष्ट जानकारी दिएमा स्वस्थ मासु, माछा, अन्डाको उत्पादन भई कृषि पेसा विस्तार हुने उनको तर्क छ ।

कृषि प्रधान मुलुक नेपालमा गाउँघरमा कृषि तथा पशुपालन मुख्य पेसा भए पनि राजधानी काठमाडौँसहित मुख्यमुख्य सहरमा व्यावसायिक पशुपालन गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको तथा तराईका कृषकमा वस्तुभाउ बिरामी भएपछि उपचार गर्नुपर्छ भन्ने जनधारणा बलियो हुँदै गएको डा झाले जानकारी दिए ।

उनले घरपालुवा कुकुरलाई मात्र रोग नलागोस् भनेर ती कुकुरलाई कोरोना नामक औषधि, मानिस र ती कुकुर दुवैलाई रोग नलागोस् भनेर डीएचपीपीटीआई नामक औषधि दिइने गरिएको बताए ।
गाई भैँसी तथा बाख्रा र कुखुरालाई एन्टिबायोटिक औषधि दिने गरिएको उनको भनाइ थियो । कृषक पशुको उपचार गर्न आउने मानिसको सङ्ख्या बढ्दै गएको तथा चिकित्सालय तथा विभागलाई समय सुहाउँदो विकास एवम् विस्तार गर्नका लागि सरकारले विभाग बसेको पुरानो भवनलाई भत्काई नयाँ भवन निर्माण गर्ने तथा विस्तार गर्ने योजना अगाडि बढिसकेको उहाँले बताउनुभयो ।