नियमावली मस्यौदा समितिको वैठक मात्र चार मिनेट

0 6

par६१ मध्ये १८ सदस्य अनुपस्थित
काठमाण्डौ, वैशाख १६ । व्यवस्थापिका संसद्को नियमावली मस्यौदा समितिको बैठक जम्मा चार मिनेट बसेर टुंगिएको छ ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा मस्यौदा परिमार्जन सम्बन्धमा छलफल र निर्णयको कार्यसूची रहेकामा निर्णयका लागि आवश्यक पर्ने सदस्य उपस्थित नभएपछि बैठक चाँडो टुंगिएको हो । समितिका ६१ सदस्यमध्ये १८ सदस्य मात्र बैठकमा उपस्थित थिए । निर्णयका लागि कम्तिमा ३१ सदस्य उपस्थित हुनुपथ्र्यो ।
कार्यसूची पेश गर्दै समितिका संयोजक राधेश्याम अधिकारीले समिति अन्र्तगतको उपसमितिले तयार पारेको मस्यौदामा ७४ वटा संशोधन परेको जानकारी दिनुभयो । ती मध्ये संसदीय सुनुवाइ विशेष समितिका सदस्यको संख्या, समितिको निर्णय प्रक्रिया लगायतका चार वटा संशोधनमा मात्र सहमति जुटाउन बाँकि रहेको उहाँको भनाइ छ ।
अधिकारीले सुनुवाइ समितिको संख्या र निर्णय प्रक्रियाका विषयमा राजनीतिक दलको नेतृत्व तहमा सहमति जुटाउन तीन दिनको समय माग गर्नुभयो । संसद्को बैठक वैशाख २१ गते बोलाइएकोले त्यो बैठक बस्नु पहिले नै मस्यौदाका बारेमा राजनीतिक तहमा सहमति जुटाइने र सहमति नजुटे मतदानबाट निर्णयमा पुग्ने उहाँले बताउनुभयो । म्याद सकिइएकाले समितिको बैठक वैशाख २० गते अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको छ । संसद्ले नियमावली बनाउनका लागि एक महिनाको समय दिएर समिति गठन गरेको सात महिना पूरा हुन लागेको छ । समितिले नियमावलीको मस्यौदा बनाउन ढिलाइ गर्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरु, निर्वाचन आयोगका प्रमुख आयुक्त तथा राजदूतहरुको नियुक्ति प्रक्रिया रोकिएको छ ।