द्रुतमार्ग पाँच वर्षभित्र बनाउ – विकास समिति

0 6

काठमाडौँ, वैशाख १६ । व्यवस्थापिका संसद्को विकास समितिले काठमाण्डौ–तराई÷मधेश द्रुतमार्ग पाँच वर्षभित्र बनाउने गरी काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले बुधबार राष्ट्रिय योजना आयोगकी सदस्य डा. सुमित्रा अमात्य र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुन कार्कीलाई बोलाएर उक्त निर्देशन दिएको हो । निर्देशन अनुसार द्रुतमार्ग सो अवधिभित्र सम्पन्न गर्नेगरी तत्काल काम अगाडि बढाउनु पर्नेछ ।

यता द्रुतमार्ग स्वदेशी वा विदेशी लगानीबाट बनाउने भन्ने विषयमा सरकारले निर्णय गर्न ढिलाइ गरिरहेका बेला समितिले भने आफ्नै लगानीबाट बनाउन र आगामी आर्थिक वर्षको बजेटमा नै द्रुतमार्गका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै, अर्थ समितिले पनि यसअघि नै दु्रतमार्ग आफ्नै लगानीमा बनाउन सरकारलाई निर्देशन दिएको थियो । तर द्रुतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माणमा संलग्न भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल् सर्भिस लिमिटेड (आइएल एण्ड एफएस)ले द्रुतमार्ग निर्माणमा चासो देखाएका कारण यसबारेमा सरकारले अझै निर्णय गर्न सकेको छैन ।

समितिले उत्तर र दक्षिणी नाका जोड्ने सडकको निर्माण कार्य प्राथमिकता साथ अगाडि बढाउन तथा तराईका जिल्ला सदरमुकाम जोड्ने सडकको स्तरोन्नति गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा सदस्य डा. अमात्यले स्रोतको अभावका कारण नभइ इच्छाशक्ति र समन्वयको अभावका कारण पूर्वाधारको विकास सुस्त भएको बताउनुभयो ।