एक लाख मतदाताको हस्ताक्षरबिना दल दर्ता गर्न पाइन्न ः प्रमुख दलका सांसद्

0 4

काठमाण्डौ, वैशाख १६ । प्रमुख दलका सांसद्हरुले एक लाख मतदाताको हस्ताक्षरबिना दल दर्ता गर्न नपाउने व्यवस्था गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
पाँच सय जना मतदाताको हस्ताक्षर भए पुग्ने प्रस्तावित व्यवस्थाले लोकतन्त्र नै सङ्कटमा पर्ने भन्दै उनीहरुले यस्तो सुझाव दिएका हुन् । राजनीतिक दल सम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथिको छलफलका क्रममा व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिमा आवद्ध प्रमुख दलका सांसद्ले दल दर्ताको प्रावधानमा कडाइ गर्ने व्यवस्था गर्न यस्तो सुझाव दिएका हुन् ।

आयोगले बुधबार आफ्नै कार्यालयमा गरेको छलफलमा सहभागी सांसद्ले पाँच सय मतदाताको हस्ताक्षरका आधारमा दल दर्ता हुने प्रावधान राखे त्यसले भागबण्डाको प्रवृत्ति बढ्ने र निर्णय प्रक्रिया अवरुद्ध भइ विकास निर्माणको कामै ठप्प हुने बताए ।

नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले धेरै दल अस्तित्वमा रहँदा राजनीतिक, प्रशासनिक र विकाससँग सम्बन्धित विषयमा निर्णय गर्न अप्ठेरो हुने बताउदै एक लाख मतदाताको हस्ताक्षर विना दल दर्ता नगर्ने र निर्वाचनमा भाग नलिने दलको खारेज गर्ने कानूनी व्यवस्था गरिनुपर्ने माग गरे ।

अहिले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न १० हजार नागरिकको हस्ताक्षरसहितको निवेदन दिनुपर्ने व्यवस्था छ । निर्वाचन आयोगले यही कानूनी व्यवस्थालाई आधार मानेर संविधानसभाको निर्वाचन गराएको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले १० हजारको हस्ताक्षर जाँच गर्न सम्भव नहुने भएकाले आयोगले दल दर्ताका लागि पाँच सय मतदाताको हस्ताक्षर भए पुग्ने व्यवस्था गर्न लागेको बताउनुभयो । उहाँले आयोगले संविधानसभाका दुवै निर्वाचनमा दलहरुले बुझाएको हस्ताक्षरको जाँच नगरेको रहस्य समेत खोल्नुभयो ।

छलफलमा नेकपा एमालेका सांसद् युवराज ज्ञवालीले राजनीतिक दलको पदाधिकारी तहमा महिला, दलित, मुस्लिमलगायतका समूदायको समानुपातिक र समावेशी प्रतिनिधित्व गराउनुपर्ने प्रस्तावित व्यवस्था अव्यवहारिक भएको बताउनुभयो । उहाँले आयोगले प्रस्ताव गरे अनुसार कानून बने अन्तरविरोध र गुटबन्दी बढी दलहरु संकटमा पर्ने बताउनुभयो ।

सो छलफलमा आयोगले प्रत्यक्ष निर्वाचनमा कुल सदर मतको १ दशमलव ५ प्रतिशत भन्दा बढी मत ल्याउने दलले मात्र राज्यबाट निर्वाचन खर्च पाउने गरी विधेयकको मस्यौदा तयार पारेको जानकारी गराएको थियो ।