एक व्यक्ति धेरै सहकारीमा आबद्ध हुुन नपाउने

0 3

downloadकाठमाण्डौ । एकै व्यक्तिले धेरैवटा सहकारीमा कारोबार गर्ने विकृति हटाउन सरकारले एक व्यक्तिले एउटा मात्र सहकारीमा मात्र सदस्य बनी कारोबार गर्न पाउने कानुन ल्याउने भएको छ ।

एकै व्यक्तिले धेरैवटा सहकारी संस्थाबाट ऋण लिएर फरार भएका कारण सहकारीमा अपराध बढेको सरकारको निष्कर्ष छ। “एकै व्यक्तिले धेरैवटा सहकारीबाट कारोबार गर्दा अपराध बढेको छ,” सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले भने, “यसलाई नियन्त्रण गर्न प्रस्तावित कानुनको मस्यौदामा एक व्यक्ति एउटामात्र सहकारीको सदस्य बन्न पाउने व्यवस्था गरिएको हो ।” यसअघिको ऐनमा सहकारी संस्थाको सदस्य बन्न कानुनी बन्देज नभएका कारण एकै व्यक्ति धेरैवटा सहकारीको सदस्य बन्दै आएका थिए।

सहरी क्षेत्रहरूमा सहकारीहरू धेरै भएकाले एकै व्यक्तिले धेरैवटा सहकारीमा सदस्य बनेर कारोबार गर्ने गरेका छन् । विशेषतः सहरी क्षेत्रमा व्यापारका लागि ऋण लिन धेरै सहकारीमा सदस्य बन्ने गरेका छन् ।

नयाँ बानेश्वरको एक सहकारीका सञ्चालकका अनुसार, “यो काम नियमविपरीत र जोखिमपूर्ण छ भन्ने थाहा भएर पनि प्रतिस्पर्धात्मक बजारमा टिक्न नियमविपरीत काम गरिरहेको बताए ।” सहकारीमा कर्जा सूचनाको सेवा नहुँदा व्यक्ति कुन–कुन सहकारीमा सदस्य भएको र ऋण लिएको जानकारी पाउन समस्या रहेको छ ।

सहकारी विभागको तथ्यांकअनुसार ३२ हजार सहकारीमा ५१ लाख सर्वसाधारण आबद्ध छन् । तीमध्ये एक तिहाइ सदस्यले एकभन्दा बढी सहकारीमा कारोबार गर्ने गरेको विभागको अनुमान छ ।

सहकारी मन्त्रालयले तयार पारेको नयाँ ऐनको मस्यौदामा  नगरपालिकाका, वडा र गाउँ विकास समितिमा एउटामात्र बचत तथा ऋण सहकारी हुने प्रस्ताव गरेको छ । तर, प्रस्तावित ऐनका प्रावधानप्रति सहकारीका संघहरूले विरोध गरेपछि मस्यौदा मन्त्रिपरिषद्मा अड्किएको छ ।