सगरमाथा चढ्न दृष्टिविहीन अमितले त्यागे जागिर

0 9

climbing

नारायण ढुंगाना

चितवन । तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सुरु गरेको विश्वकै सर्वेच्च शिखर सगरमाथा आरोहणको यात्रा धेरैले गरे । ज–जसले यात्रा गरे उनीहरुले आफ्नो जागिरलाई थाँती राखेरै सगरमाथा चढेका छन् ।

एक दृष्टिविहीनले सगरमाथा चढ्न खोज्दा भने भइरहेको जागिर नै गुमाउनुप¥यो । जागिरले अभियानमा केही भरथेग हुन्थ्यो, त्यो पनि टुटेको छ उनको ।

जागिर गुमाएरै भए पनि सगरमाथा आरोहण गर्ने प्रयासमा जुट्ने व्यक्ति हुन् बागलुङ जिल्ला सकुवा गाविस–२ मादीका ३२ वर्षीया दृष्टिविहीन अमित केसी ।

“सगरमाथा चढ्ने प्रस्ताव राखेपछि मलाई शिक्षकको जागिरबाट निकालियो,” कुराकानीमा अमितले भने – मैले जागिर त्यागेँ, सगरमाथा चढ्ने अभियान त्यागिनँ ।”

बागलुङको रामरेखा निमाविमा राहतका सामाजिक शिक्षक थिए अमित । सगरमाथा चढ्ने योजनासहित विद्यालयमा प्रस्तुत भए । उनले प्रस्ताव राखे, “तालिमहरु चल्दा मात्रै अरु शिक्षकको व्यवस्थापन गर्नुपर्ला, अरुबेला पढाउन आइहाल्छु ।” अलि समयपछि विद्यालयबाट श्रीमतीलाई राख्छौँ, आउनुपर्दैन भन्ने खबर आएपछि उनी थप ढुक्क भए ।

“एक्कासि पुरानो मिति बनाएर अवकाश दिएको पत्र आएपछि पो म झसङ्ग भएँ,” अमितले भने – अब मेरो सगरमाथा चढ्ने महाअभियानमा साथ दिने आमनेपाली मात्रै छन् ।” यसरी जागिरबाट निकाल्ने काम तत्कालीन विद्यालयका अध्यक्ष महेन्द्र आचार्य भएको उनले दाबी गरे ।

सगरमाथा चढ्ने अभियान सुरु गरेपछि अस्थायी रुपमा केसी हाल चितवनको छिमेकी जिल्ला नवलपरासीको गैँडाकोट नगरपालिका–५ कालिका चोकमा मामाघरमा बस्दै आएका छन् । अहिले आर्थिक जोहो गर्न उनी जिल्ला जिल्ला दौडिरहेका छन् ।

“ज–जसले सहयोग गर्नुहुन्छ उहाँहरु मेरो अभियानका अभियन्ता बन्नुहुनेछ, हामी पनि केही गर्न सक्छौँ भन्ने देखाउँछु” – अमितले खुलाए ।

जन्मैदेखिका दृष्टिविहीन अमित परिवारका माइलो छोरा हुन् । स्नातकोत्तर गर्दैगर्दा अभियानकै क्रममा पढाइ पनि रोकिएको छ । श्रीमती विद्या केसीसँगै पाँच वर्षका छोरा अभिजित र आठ वर्षकी छोरी अजनवी छिन् । श्रीमतीले कस्मेटिक पसल चलाएर छोराछोरी पढाउँछिन् ।

उनी भने विश्वकै सर्वोच्च शिखर सगरमाथा चढेर नेपाली झन्डा फर्फराउँदै नेपालकै पहिलो दृष्टिविहीन आरोहीको नाम लेखाउन चाहन्छन् । सन् २०१७ अर्थात् आगामी वर्ष उनी सगरमाथा जाने योजनामा अहिले तालिम लिइरहेका छन् ।

अहिले उनी लायन्स क्लब अफ गैँडाकोट मौलाकालिकाको नव सदस्य भएका छन् । मौलाकालिकाले सहयोग जुटाउन उनलाई विभिन्न क्षेत्रमा भेटघाट गराइदिने काम गरिरहेको अध्यक्ष सिआर कँडेलले बताए ।

अमितले २०१५ मा छ हजार १८६ मिटर अग्लो सोलुको आइल्यान्ड पिक र यो साल छ हजार ६५४ मिटर अग्लो सोलुकै मेरा पिकको सफल आरोहण गरिसकेका छन् । यी दुई वटा हिमाल चढेपछि सगरमाथा चढ्न सक्ने पूर्ण हिम्मत पलाएको केसी बताउँछन् । रक क्लाइम्बिङ, मोटिभेसन कक्षा, डोरी चढ्ने कला उनले सिकिसकेका छन् ।

“अहिले म नितान्त आर्थिक सङ्कलनकै अभियानमा छु,” केसीले भने – यो चारवर्षे अभियानभर करिब एक लाख डरल ९करिब नेपाली एक करोड० लाग्ने रहेछ । खर्च जुटाउने प्रयासमा छु ।”

सामान्य मान्छेभन्दा अन्तर्राष्ट्रियस्तरको पथप्रदर्शक लानुपर्ने, सहयोगी हुनुपर्ने जस्ता कारणले उनको आरोहण यात्रा खर्चिलो बन्न पुगेको हो । तीन वर्षदेखि सुरु भएको उनको अभियानमा अहिलेसम्म करिब ११ लाख खर्च भइसकेको छ ।

यसरी अभियान चलाइरहँदा उनलाई घरपरिवारको खासै सहयोग छैन । “जान सक्दैन, यो गर्ने काम नै होइन भनेर घरमा भन्छन्, मैले हिम्मत गरिसकेँ अब रोकिँदैन” – केसीले भने । “आमा त मरिन्छ भन्नुहुन्छ”, केसी भन्छन् – “घटना त दैलोमा ठोक्किएरै पनि हुन्छ नि ।”

अहिलेसम्म बागलुङ उवासङ्घ, पर्वतका विद्यालयहरु, गैँडाकोटको बाल विकास उच्च मावि, गैँडाकोट मौलाकालिका लायन्सलगायत स्थानबाट सहयोग भइरहेको उनले बताए ।

बालविकास उच्च माविका प्राचार्य दीपक राउत विभिन्न क्षेत्रबाट आर्थिक सहयोग गर्न आह्वान गरेर करिब चार लाख सहयोग गरिसकेको बताउछन् । दृष्टिविहीनले गर्न सक्छन् भन्ने सन्देश जाने भएकाले सहयोग गर्न मन लागेको उनले बताए । केसीका ठूलो बुबा नरेन्द्र खड्काले एक लाख सहयोग गरेको उनी सम्झन्छन् ।

“सबै कुरा सम्भव छ भन्ने ठानेर अहिले यो हिम्मत गरेको हूँ,” केसीले सगरमाथा यात्राबारे भने, “राष्ट्रिय पहिचान पनि अर्को उद्देश्य हो । प्लिज हेल्प मी १० डलर । ”

कसरी आयो सगरमाथा चढ्ने सोच

विश्वकै पहिलो सगरमाथा आरोहण गर्ने दृष्टिविहीन हुन् अमेरिकाको सामान्य परिवारका व्यक्ति एरिक । अमेरिकाकै एकजना क्लेफ भन्ने मान्छेले नेपाल आएर म सगरमाथा चढ्ने दृष्टिविहीन युवकको देशको मान्छे हुँ भनेर उनका साथी खेमराज शर्मालाई भनेछन् ।

कुराकानीमा दृष्टिविहीनले पनि गर्न सक्ने कुरा भएपछि खेमराजले अमितलाई यो कुरा सुनाए । त्यसपछि अमितलाई सगरमाथा चढेर पहिलो नेपालीको पहिचान दिने धोको पलायो ।

“अनि मैले अभियान थालेँ,” केसीले भने । ठाउँठाउँमा वचन नसहेका होइनन् । उनी यस्ता वचनलाई झिनामसिना ठान्छन् ।

उनको अनुभवमा पछिल्लो समयमा दृष्टिविहीनलाई हेर्ने कोण परिवर्तन भएको छ । राज्यले पनि सम्बोधन गर्न खोजेको छ । तर पर्याप्त आर्थिक, सामाजिक, राजनीतिक र अग्राधिकार राज्यले दिन नसकेको उनी बताउँछन् । कल्याणकारी अवधारणा नभएकाले समस्या आएको उनको बुझाइ छ । नेपालमा पनि वीरेन्द्रराज पोखरेल, खेमराज शर्माजस्ता व्यक्ति कोहीभन्दा कम छैनन् ।

“धेरै दृष्टिविहीन दृश्य देख्नेभन्दा कम छैनन्, उनीहरुलाई अवसर नै छैन,” केसीको भनाइ छ । फ्रान्सका लुइस ब्रेलले विश्वमै पहिलो ब्रेललिपि बनाए । “नेपालमा जङ्गबहादुर बोगटीले २०२१ मा ब्रेललिपि भित्र्याए, उनी पनि दृष्टिविहीन नै थिए,” उनले भने – “सबै कुरा सम्भव छ ।”

लायन्स क्लब इन्टरनेसनल ३२५ बी २ नेपालका डिष्ट्रिक गभर्नर डिके ढुङ्गानाले उनको अभियानका लागि आफूहरुले पनि सहयोग गर्ने सोच बनाएको बताए ।